BIZMANDU
www.bizmandu.com

सरकार निजी क्षेत्रमैत्री रहेको व्यवहारिक रुपमा सन्देश दिएका छौंः अर्थमन्त्री पुन

२०८१ बैशाख २३

सरकार निजी क्षेत्रमैत्री रहेको व्यवहारिक रुपमा सन्देश दिएका छौंः अर्थमन्त्री पुन
सरकार निजी क्षेत्रमैत्री रहेको व्यवहारिक रुपमा सन्देश दिएका छौंः अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले सरकार निजी क्षेत्रमैत्री रहेको व्यवहारिक रुपमा पुष्टि भइसकेको बताएका छन्।

Tata
GBIME
Nepal Life

राजश्व परामर्श समिति र निजी क्षेत्रका छाता संगठनहरुबीच आगामी बजेटबारे मन्त्रालयमा भएको अन्तरक्रियामा मन्त्री पुनले पछिल्लो समय सरकारले निजी क्षेत्रमैत्री वातावरण निर्माण गरेको बताए।

लगानी अनुकूल वातावरण निर्माणका लागि अध्यादेशमार्फत विभिन्न ८ वटा कानुनमा गरिएको सुधार तथा लगानी सम्मेलनमा निजी क्षेत्रको सक्रिय सहभागिताले सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको उनको भनाइ थियो।

मन्त्री पुनले अर्थतन्त्रमा विद्यमान शिथिलता अन्त्य गर्न राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रले राज्यसँग हातेमालो गरेर अघि बढ्ने वातावरण निर्माण गर्नेमा उद्योगी व्यवसायीलाई आश्वस्त पारे।

‘लगानी सम्मेलनमा उद्घाटनदेखि छलफलका सबै बन्द सेसन र समापनसम्म निजी क्षेत्रलाई प्रस्तुत गरेका छौं। स्वदेशी र विदेशी लगानीकर्तालाई लक्षित गरेर ८ वटा कानुनमा भएको संशोधनले सकारात्मक वातावरण बनेको छ’, उनले भने, ‘मुखले भनेर होइन दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौं।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बारम्बार आगामी बजेटमा सरकार आफैंले र निजी क्षेत्रसँगको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राख्न आफूलाई दिशानिर्देश गरिरहेको जानकारी मन्त्री पुनले दिए।

करका दर हेरफेर गर्दा कसैलाई पोस्ने र कसैलाई निरुत्साहित नगरिने प्रतिबद्धता जनाएको उनले स्मरण गरे। अर्थतन्त्रमा राम्रो योगदान गरिरहेको, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने तथा देशलाई अगाडि बढाउने नीतिमा परिवर्तन नगरिने प्रतिबद्धता जनाए।

फरक प्रसंगमा मन्त्री पुनले लगानी सम्मेलन भव्य रूपले सम्पन्न भएको उल्लेख गरे। लगानी सम्मेलनमा सरकार र प्रतिपक्षी दलका नेताबाट लगानी मैत्री वातावरणबारे व्यक्त समान धारणाले आर्थिक नीतिमा सिंगो देश एकै ठाउँ रहेको सन्देश गएको उल्लेख गरे।

‘प्रधानमन्त्री, मन्त्री र सत्तापक्षका नेताहरूले सकारात्मक कुरा गर्नु त छँदैछ। तर, प्रमुख प्रतिपक्षका नेता र विज्ञहरूले पनि एकै स्वरले देशमा लगानी आवश्यक छ। लगानी मैत्री वातावरण आवश्यक छ। सबै मिलेर वातावरण बनाउँछौं। यसमा सत्तापक्ष र प्रतिपक्षबीच नीतिगत मतभिन्नता छैन भन्ने अन्तर्राष्ट्रिय लगानीकर्ता र देशभित्रको लगानीकर्तालाई पनि संयुक्त रूपले अपिल गर्‍यौं। यो हाम्रो पुँजी हो र यसले सबै राजनीतिक दलहरू आर्थिक नीतिमा एकै ठाउँमा छौं भन्ने देखियो’, उनले भने।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालसहित राष्ट्रिय उद्योग व्यापार संघ, नेपाल उद्योग व्यापार महासंघका पदाधिकारी र प्रतिनिधि सहभागी थिए।