BIZMANDU
www.bizmandu.com

मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन सहकार्य गर्ने

२०८२ असार २१

मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन सहकार्य गर्ने
मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन सहकार्य गर्ने

विराटनगर। मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच विद्यार्थीलाई व्यावहारिक ज्ञान, प्रत्यक्ष अनुभव तथा अनुसन्धानमा सहयोग पुर्‍याउने विषयमा समझदारी भएको छ।

Tata
GBIME

समझदारी पत्रमा संघका अध्यक्ष अनुपम राठी र विश्वविद्यालयका प्रा. डा. केदारप्रसाद रिजालले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार विद्यार्थीलाई उनीहरूको शैक्षिक सशक्तीकरणका लागि इन्टर्नसिप, अनुभवजन्य शिक्षा, औद्योगिक भ्रमण, संरक्षकता तथा मार्गदर्शन जस्ता व्यावहारिक स्रोतहरू उपलब्ध गराइने छ।

यी सबै सेवा मोरङ उद्योग वाणिज्य संघको पहुँचमा रहेका निजी क्षेत्रका उद्योग-व्यावसायिक संस्थामार्फत गरिनेछ। यसले नेपालमा सिपमा आधारित रोजगारी तथा ‘प्लेसमेन्ट’ का लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्‍याउने दुवै पक्षले विश्वास व्यक्त गरेका छन्।

समझदारीअनुसार संघको संस्थागत उद्देश्य पूरा गर्न विश्वविद्यालयले विषयगत विद्यार्थी वा स्रोत व्यक्तिहरू प्रदान गर्ने संघले जनाएको छ। यसले अनुसन्धान, छलफल, अन्तर्क्रिया तथा प्रतिवेदन तयारी जस्ता कामहरूमा सहयोग पुर्‍याउने जनाइएको छ।

यसैगरी, औद्योगिक, आर्थिक, वातावरणीय नीति, आपूर्ति शृंखलाको सुधारमा पनि टेवा पुर्‍याउने विश्वास दुई संस्थाको लिएका छन्।

संघका अध्यक्ष राठीले सिकाइ अनुभवमा वृद्धिको अवसर, सिप विकास, रोजगारीको सम्भाव्यता, अनुसन्धान, संवाद, सञ्जाल निर्माण तथा उद्योगसम्बन्धी समस्या पहिचान गरी तिनको समाधान गर्न आपसी सहयोगमा पहल गर्ने समझदारी पनि भएको जानकारी दिए।

यसैगरी, दुई पक्षबीच उपलब्ध वा बाह्य स्रोतबाट संकलन गरिएका संकाय सदस्य, विशेषज्ञ वा सम्बन्धित क्षेत्रका विज्ञहरूको अनुभव आदानप्रदान गर्न जनशक्ति उपलब्ध गराइने समझदारी पनि भएको छ। यसले विविध विषयहरूमा देखिएका समस्या समाधान तथा सुधार प्रक्रियामा सहयोग पुर्‍याउने जनाइएको छ।

उपलब्ध संकाय सदस्य, विशेषज्ञ तथा विज्ञहरूले सामाजिक, शैक्षिक, औद्योगिक, वैज्ञानिक तथा अन्य सान्दर्भिक विषयमा अनुसन्धान तथा ‘केस स्टडी’ गर्ने छन्। तथ्यमा आधारित निष्कर्ष संकलन, मस्यौदा तयार गर्ने र मोरङ उद्योग व्यापार संघ तथा त्रिविमा प्रकाशित गर्ने छन्।

यसैगरी, त्रिविले उद्योग, व्यापार, बजार र वातावरणसँग सम्बन्धित समस्याहरूको अनुसन्धान, अध्ययन, पहिचान र प्रसारण गर्न विषयमा आधारित विद्यार्थी र स्रोत व्यक्ति उपलब्ध गराउने छ।

उक्त कार्यक्रममा संघका महासचिव सञ्जयकुमार श्रेष्ठ तथा कार्यसमिति सदस्यद्वय डा. वन्दना जैन र गोपाल अग्रवालसहित त्रिवि व्यवस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसेको उपस्थिति थियो।