BIZMANDU
www.bizmandu.com

सुदूरपश्चिम प्रदेशमा ट्राफिक कारबाहीबाट १० महिनामा ४ करोड राजस्व संकलन

२०८१ जेठ ५

सुदूरपश्चिम प्रदेशमा ट्राफिक कारबाहीबाट १० महिनामा ४ करोड राजस्व संकलन
सुदूरपश्चिम प्रदेशमा ट्राफिक कारबाहीबाट १० महिनामा ४ करोड राजस्व संकलन

अत्तरिया। सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा ४ करोड १६ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

Tata
GBIME
Nepal Life

ट्राफिक प्रहरीले चालु आवको साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो।

सो अवधिमा प्रदेशभरी ट्राफिक नियम उल्लङ्घन गर्ने ६२ हजार ९ सय ३१ जना सवारी चालकलाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले जानकारी दिए।

त्यस्तै, सो अवधिमा भएका २ सय ६० वटा सवारी दुर्घटनाबाट १ सय १५ पुरुष, २० महिला र १० बालबालिका गरी १ सय ४५ जनाको मृत्यु भएको तथा ४ सय ५५ जना घाइते भएको उनले जानकारी दिए।

उनका अनुसार सो अवधिमा १ सय ७५ मोटरसाइकल, ४४ जिप/कार, ३२ ट्रयाक्टर, १८ बस, १८ साइकल, रिक्सा, १६ टेम्पो, १४ ट्रक/ट्याङ्कर, ७ टिपर, ७ माइक्रो, ३ वटा डोजर र ४ अन्य गरी ३ सय ३८ वटा सवारी दुर्घटनामा परेका थिए।

गत आव २०७९/८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने १ लाख १२ हजार ६ सय ५५ सवारीसाधन कारबाहीमा परेको र सो कारबाहीबाट ६ करोड ४३ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। सोही वर्ष २ सय ५५ सवारी दुर्घटनाबाट १ सय ७७ जनाको मृत्यु, १ सय ९७ जना गम्भीर घाइते र २ सय ७६ जना सामान्य घाइते भएको निमित्त कार्यालय प्रमुख उप्रेतीले जानकारी दिए।

चालकसँग एक मिनेट, यात्रुसँग दुई मिनेटलगायतका जनचेतनामूलक कार्यक्रम गर्दै आए पनि सवारी दुर्घटना नघटेको उनको भनाइ छ।

उनले भने, ‘ठूला सार्वजनिक सवारी दुर्घटनामा त कमी आएको छ। ज्यान गुमाउनेको सङ्ख्या पनि घट्दै गएको छ। साना तथा व्यक्तिगत सवारी दुर्घटना बढेका छन्।’ रासस