BIZMANDU
www.bizmandu.com

वीरगंज हुँदै भटमासको तेल आयातनिर्यात वृद्धि, साढे ५२ अर्बको भित्रिदा निर्यात ५५ अर्बको

२०८२ असार २१

वीरगंज हुँदै भटमासको तेल आयातनिर्यात वृद्धि, साढे ५२ अर्बको भित्रिदा निर्यात ५५ अर्बको
वीरगंज हुँदै भटमासको तेल आयातनिर्यात वृद्धि, साढे ५२ अर्बको भित्रिदा निर्यात ५५ अर्बको

वीरगंज (पर्सा)। वीरगंज भन्सार नाका भएर भटमासको तेल आयातनिर्यात अस्वाभाविक रुपमा उच्च भएको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्षको ११ महिनामा भटमासको कच्चा तेल रु ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ भने ५५ अर्ब तीन करोड रुपैयाँको निर्यात भएको छ।

Tata
GBIME

भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा भटमासको कच्चा तेलको आयात ६१३.४१ प्रतिशत अर्थात् रु ४५ अर्ब २१ करोड बढीले आयात भएको छ। जबकी गत आवको ११ महिनामा भने रु ७ अर्ब ३७ करोड मूल्यको मात्रै आयात भएको थियो।

वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा यो नाका हुँदै भटमासको प्रशोधित तेल धेरै निर्यात भएको जानकारी दिए। ‘भटमासको कच्चा तेल ल्याएर उद्योगहरुले प्रशोधन गरी विदेशी मुलुकमा निर्यात गरेको देखिन्छ।’

वीरगंज नाका हुँदै चालु आवको ११ महिनामा भटमास तेल प्रशोधित निर्यात भने रु ५५ अर्ब ३ करोड मूल्य पर्ने २५ करोड ८८ लाख १४ हजार ७३२ लिटर भएको छ। जबकी गत आवको सोही अवधिमा भने रु आठ करोड ८३ लाख मूल्य पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात भएको थियो।

चालु आवको ११ महिनामा यो नाका हुँदै रु ९ अर्ब ७५ करोड मूल्य पर्ने सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ। गत आवको सोही समयमा भने रु ८ अर्ब चार करोड मूल्यको आयात भएको थियो।

चालु आवको ११ महिनामा रु ८ अर्ब ४० करोड मूल्य पर्ने ३ करोड ८८ लाख ९५ हजार ३३९ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ। गत आवको ११ महिनाको अवधिमा रु ९ करोड ९४ लाख मूल्य पर्ने ५ लाख २७ हजार २९१ लिटर निर्यात भएको थियो। रासस