BIZMANDU
www.bizmandu.com

सत्तारुढ जसपा फुट्यो, ७ सांसद राईको पक्षमा, दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

२०८१ बैशाख २३

सत्तारुढ जसपा फुट्यो, ७ सांसद राईको पक्षमा, दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन
सत्तारुढ जसपा फुट्यो, ७ सांसद राईको पक्षमा, दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं। सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल (जसपा) फुटेको छ। पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा ७ सांसदले नयाँ दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन्।

Tata
GBIME
Nepal Life

सांसद सुशीला श्रेष्ठले निर्वाचन आयोगमा नयाँ पार्टीको नाम जसपा नै राख्नेगरी निवेदन दिएको जानकारी दिइन्। जसपासँग १२ सांसद रहेकामा निवेदनमा ७ सांसदको नाम छ।

पार्टीका तर्फबाट सरकारमा सहभागी नवलकिशोर साह सुडी समेत पार्टी विभाजनको पक्षमा उभिएका छन्। उनी हाल वनमन्त्री छन्।

यस्तै नयाँ दल नर्ताका लागि दिइएको निवेदनमा राई र सुडीका अलावा सांसदहरु वीरेन्द्र महतो, प्रदीप यादव, सुशीला श्रेष्ठ, हसिना खातुन र रञ्जु झाको नाम छ।

उनीहरुले अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन्। अध्यक्ष यादव आफैं सरकारमा सहभागी भएपछि असन्तुष्टि चुलिएको हो। जसपाका तर्फबाट यसअघि राई र महतो मन्त्री रहेकामा सत्ता समीकरण फेरिएपछि उनीहरुलाई फिर्ता बोलाएर यादव आफैं मन्त्री बनेका थिए।

‘हामीले पार्टीको नाम जसपा राख्ने गरी निवेदन दिएका छौं। निवेदनमा ७ सांसदको नाम छ,’ सांसद श्रेष्ठले भनिन्। उनी राईकी पत्नी हुन्।

नयाँ पार्टीमा राईलाई अध्यक्ष प्रस्ताव गरिएको छ।