BIZMANDU
www.bizmandu.com

संकटमा सत्ताः जसपाको विभाजन र माधव नेपालको असन्तुष्टिले प्रचण्ड नेतृत्वको सरकारलाई अप्ठेरो

२०८१ बैशाख २३

संकटमा सत्ताः जसपाको विभाजन र माधव नेपालको असन्तुष्टिले प्रचण्ड नेतृत्वको सरकारलाई अप्ठेरो
संकटमा सत्ताः जसपाको विभाजन र माधव नेपालको असन्तुष्टिले प्रचण्ड नेतृत्वको सरकारलाई अप्ठेरो

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको प्रक्रियामा गएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकार अप्ठेरोमा परेको छ। 

Tata
GBIME
Nepal Life

जसपा नेता अशोक राईले सात सांसदसहित निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्। दल विभाजनको मुखैमा पुग्दा पार्टी अध्यक्ष उपेन्द्र यादव भने विदेशमा छन्। 

प्रतिनिधि सभामा १२ सांसद रहेको जसपामा विभाजनको पक्षमा ७ जना उभिएका छन्। हस्ताक्षर गर्नेमा अशोक राई, प्रदीप यादव, सुशीला श्रेष्ठ, वीरेन्द्र महतो, नवलकिशोर शाह, रञ्जु ठाकुर र हसिना खान छन्।

यस प्रकरणपछि प्रधानमन्त्री प्रचण्ड अप्ठेरोमा परे पनि अल्पमतमै भने परिसकेका छैनन्। गत फागुन ३० गते प्रतिनिधि सभामा लिएको विश्वासको मतमा २६८ जना मध्ये प्रचण्डले १५७ जनाको मत पाएका थिए। उनको विपक्षमा ११० जना थिए। २७५ जनाको प्रतिनिधि सभामा बहुमतका लागि १३८ जना आवश्यक पर्छ। जसपाका सात जना सांसदले पार्टी विभाजन गरेपछि अहिलेकै उनीसँग अझै १५० जना सांसद छन्। तर प्रचण्डका लागि यो प्रकरण नमिठो झड्का हो किनकि मन्त्री नै पार्टी विभाजनका लागि अगाडि बढेका छन्।

बहालवाला वन तथा वातावरण मन्त्री नवलकिशोर साहले पनि विभाजनमा हस्ताक्षर गरेका छन्।

जसपाको विभाजनलाई नेकपा (एकीकृत समाजवादी) ले पनि प्रचण्ड सरकार ढल्न सक्ने रुपमा बुझेको छ। एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले नयाँ समीकरण बन्न सक्ने बताए।

‘हामी त यो गठबन्धनबाट आजित छौं। निकै मन दुखाएर मात्रै बसिरहेको हो,’ उनले भने।

एमालेका अध्यक्ष केपी ओलीले सुदूरपश्चिममा एकीकृत समाजवादीका मुख्यमन्त्रीलाई गरिरहेको असहयोग र पार्टी अध्यक्ष माधव नेपालप्रति व्यक्त गरेको अभिव्यक्तिलाई एकीकृत समाजवादीले समीकरणबाट आफ्नो पार्टी बाहिरिने बिषय बन्ने उनले बताए

बहुमत सांसद आफूसँग भए पनि जसपा विभाजनपछि प्रचण्डले विश्वासको मत भने लिनुपर्ने हुन्छ। संविधानको धारा १००(२)को व्यवस्था अनुसार सत्तारुढ दल विभाजित हुँदा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। गठबन्धन अदलबदलका कारण प्रचण्डले यसअघि नै तीन पटक विश्वासको मत लिइसकेका छन्। 

जसपाको विभाजन र नेकपा(एकीकृत समामजवादी)ले गठबन्धनप्रति जनाइरहेको असन्तुष्टिले पनि प्रचण्ड नेतृत्वको सरकार अप्ठेरोमा परेको छ। जसपाकै विभाजनका कारण अल्पमतमा प्रचण्ड नपरे पनि १० सांसद भएको एकीकृत समााजवादीले समर्थनन फिर्ता लिएको अवस्थामा प्रचण्ड निकै अप्ठेरो अवस्थामा पर्ने छन्। किनभने उनीसँग जम्मा १४० सांसद मात्रै रहन्छन्। जुन सरकार टिकाइरहनका लागि निकै जोखिमपूर्ण संख्या हो। 

एमाले र नेकपा (माओवादी केन्द्र) नेतृत्वमा नयाँ गठबन्धन बनेपछि नेपाली कांग्रेसले लगातार समीकरण विभाजनका लागि कसरत गरिरहेको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गरेर पनि सत्ता गठबन्धनलाई कांग्रेसले अप्ठेरोमा पारेको थियो। फागुन २१ गते समीकरणमा आएको परिवर्तनलाई कांग्रेसले राजनीतिक धोकाका रुपमा बुझेको थियो।

मधेशवादी दलहरुलाई नजिकबाट नियालीरहेका एक राजनीतिक विश्लेषकले प्रचण्ड सरकारालाई ढाल्नकै लागि जसपामा विभाजन भएको बताए। नयाँ समीकरण बन्ने देखिएपछि अशोक राई विभाजनको निर्णयमा पुगेको बताए।

‘अशोक राईलाई लगातार उपेन्द्र यादवले कर्नरिङ गरिरहेका थिए। यसमा प्रदीप यादवको कि रोल छ। बिभाजनका लागि बहुमत पुग्ने भएपछि राई निर्णयमा पुगेको देखिन्छ,’ उनले भने।

सत्ता गठबन्धन लगातार संकटमा परिरहेको छ भन्ने जसपाको विभाजन अघि नै पनि देखिएको थियो। किनभने नयाँ समीकरण बने यता प्रदेशमा बनेका नयाँ सरकार पनि सत्ता गठबन्धनभित्रको किचलोमा परेका छन्।

एमालेले सुदूरपश्चिममा एकीकृत समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका दीर्घ सोडारीलाई विश्वासको मत नदिने अडान लिएर नेपालमाथि दबाब बढाएको छ। गठबन्धनमा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच तिक्तताले पनि गठबन्धनलाई फुटको डिलमा पुर्‍यााएको छ। किनभने माधव नेपाल आफैंले पछिल्लो समय आफू प्रधानमन्त्री हुनसक्ने विषयलाई चर्चामा ल्याएका छन्।