BIZMANDU
www.bizmandu.com

प्रतिबन्धका बीच दसैंको मुखमा साढे ३ अर्बभन्दा बढीको स्मार्टफोन भित्रियो, गत वर्षभन्दा २ अर्ब कम

२०७९ असोज ९

प्रतिबन्धका बीच दसैंको मुखमा साढे ३ अर्बभन्दा बढीको स्मार्टफोन भित्रियो, गत वर्षभन्दा २ अर्ब कम
प्रतिबन्धका बीच दसैंको मुखमा साढे ३ अर्बभन्दा बढीको स्मार्टफोन भित्रियो, गत वर्षभन्दा २ अर्ब कम


काठमाडौं। ३ सय अमेरिकी डलर माथिका फोनमा लगाएपछि दसैंको मुखमा ३ अर्ब ६० करोडको स्मार्टफोन भित्रिएको छ। भन्सार विभागको तथ्यांकअनुसार भदौमा ३ अर्ब ६० करोड रुपैयाँबराबरको २ लाख ६२ हजार ७३६ थान स्मार्टफोन भित्रिएको छ।

Tata
GBIME

जसबाट सरकारले ६७ करोड ३१ लाख रुपैयाँभन्दा बढी भन्सार संकलन गरेको छ। अघिल्लो वर्षको भदौको तुलनामा यो वर्षको भदौमा झण्डै दुई अर्ब कम मोबाइल भित्रिएको छ। २०७८ को भदौमा ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको ८ लाख ३१ हजार २४७ थान फोन भित्रिएको थियो।

जसबाट त्यतिबेला सरकारले ८७ करोड ५१ लाख रुपैयाँ भन्सार संकलन गरेको थियो। २०७७ भदौमा ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको ५ लाख २४ हजार ८७९ थान फोन आयात भएको थियो। सरकारले त्यसबाट ५८ करोड १९ लाख रुपैयाँ भन्सार संकलन गरेको थियो। कोरोना महामारीका कारण यो वर्ष मोबाइल आयातमा ठूलो धक्का पुगेको थियो। 

यस्तै, अघिल्लो महिना साउनको तुलनामा भदौमा ८६ हजार ४८७ थान स्मार्टफोन बढी भित्रिएको छ। साउनको भन्दा भदौमा १ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। साउनमा दुई अर्ब ५७ करोड रुपैयाँबराबरको १ लाख ७६ हजार २४९ थान मात्रै स्मार्टफोन आयात भएको थियो। 

सरकारले असोज २८ गतेसम्म ३ सय अमेरिकी डलरभन्दा बढीको फोन आयातमा प्रतिबन्ध लम्ब्याएको छ। 

दसैंतिहार लगायतका चाड नजिकिएसँगै बजारमा स्मार्टफोनको माग अत्यधिक हुने गर्छ। तर, आयात प्रतिबन्धका कारण मिड रेन्जदेखि प्रिमियम स्मार्टफोन वैध रुपमा नेपाल भित्रिन सकेका छैनन्। बजारमा अहिले भेटिने ३ सय डलर माथिका अधिकांश स्मार्टफोन अवैध माध्यमबाट भित्रिरहेको देखिन्छ।  

मोबाइल आयातकर्ताहरुले सरकारले ३०० डलरमाथिका स्मार्टफोन प्रतिबन्ध लगाउनु निकै गलत भएको प्रतिक्रिया दिँदै सरकारी निर्णयले व्यवसायीसँगै सरकारमाथि ठूलो असर पारिरहेको बताउँदै आएका छन्।

एकातर्फ अवैध आयातबाट भित्रिएका फोन बजारमा छ्यापछ्याप्ती पाइरहेको तर, वैध माध्यमबाट सरकारलाई राजस्व बुझाएर व्यापार गरिरहेका व्यवसायीमाथि निर्मम प्रहार गर्नेगरी सरकारले प्रतिबन्ध लादेको आरोप उनीहरुको छ। नेपाली बजारमा चीन र भारतबाट सबैभन्दा धेरै स्मार्टफोन भित्रिने गर्छ।