BIZMANDU
www.bizmandu.com

बरुण इन्भेष्टमेन्टले १५ लाख कित्ता आइपीओ ल्याउँदै, ६४ मेगावाटका तीन जलविद्युतमा लगानी

२०७९ असोज ७

काठमाडौं। एसजी ग्रुपको मुख्य लगानी रहेको बरुण इन्भेष्टमेन्ट लिमिटेडले १५ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको छ। हाल कम्पनीले जलविद्युत क्षेत्रमा मुख्य लगानी केन्द्रित गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीको प्रमुख लगानीमा बझाङ स्थित कलंगा हाईड्रो, सानिगाड हाईड्रो र बुङगल हाईड्रो गरी मुख्य जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छन्। कम्पनीका अध्यक्ष शिवप्रसाद घिमिरे आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँछन्।

'सबै समयानुकुल भए कलंगा र सानीगाड हाईड्रोले तिहार अघि बत्ति बाल्नेछ,' अध्यक्ष घिमिरेले बिजमाण्डूसँग भने, 'तीन महिनापछि बुङगललाई पनि नतिजामा पुर्‍याउने योजना छ।'

आयोजनाहरुको कुल जडित क्षमता साढे ६४ मेगावाट हुने कम्पनीले जनाएको छ। जसमध्ये कलंगा हाईड्रोको क्षमता १५.३३ मेगावाट, सानिगाड हाईड्रोको ३८.४७ मेगावाट र बुङगल हाईड्रोको १०.७० मेगावाट हो।

निर्माण सम्पन्न भइसक्दा आयोजनाहरुको प्रति मेगावाट लागत औसत २०/२२ करोड रुपैयाँ हुने अध्यक्ष घिमिरेको प्रक्षेपण छ। उनका अनुसार बरुणले आयोजनाहरुको कुल लागतमा १६ देखि १७ प्रतिशतसम्मको प्रतिबद्धता जनाएको हो।  

कम्पनीले अन्य विभिन्न जलविद्युत आयोजना प्रवर्द्धन गर्ने तयारीमा पनि छ। बरुणले गुराँस हाईड्रो प्रा.लि (४१.०६ मेगावाट) मा पनि लगानी प्रतिबद्धता जनाएको हो। कम्पनीले सो आयोजनामा कुल लागतको १० प्रतिशत प्रतिबद्धता दिएको घिमिरे बताउँछन्। यस्तै, संखुवा खोलामा पनि हाईड्रोमा लगानी गर्ने योजनामा छ।

'जलविद्युतको व्यवसायिक सम्भावनालाई एक्सप्लोर गर्दैछौ। मुलुकको व्यापार घाटा कम गर्न केहि योगदान हाम्रो पनि होस् भन्नेछ,' अध्यक्ष घिमिरेले भने, ' नविन रोजगारी सृजना गर्न पनि कोसिसरत छौं।'  

बरुणको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ।संस्थापकको ७७ प्रतिशत सेयर रहेकोमा कम्पनीका १७ जना संस्थापक सेयरधनीहरुबाट ४० करोड बराबरको सेयरपुँजी चुक्ता भैसकेको छ। 

कम्पनीको योजनामा सर्वसाधरणलाई पनि संलग्न गरी लाभान्वित बनाउने कम्पनीको योजना छ। यसका लागि कम्पनीले आइपीओ जारी गर्न लागेको जनाएको छ। कम्पनीले आइपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ।