BIZMANDU
www.bizmandu.com

राजस्व कटौतीको निर्णयपछि खाने तेल लिटरमै २० रुपैयाँ सस्तियो, कच्चा तेलको मूल्य घट्दा थप दबाबमा


राजस्व कटौतीको निर्णयपछि खाने तेल लिटरमै २० रुपैयाँ सस्तियो, कच्चा तेलको मूल्य घट्दा थप दबाबमा
राजस्व कटौतीको निर्णयपछि खाने तेल लिटरमै २० रुपैयाँ सस्तियो, कच्चा तेलको मूल्य घट्दा थप दबाबमा

Tata
GBIME
Nepal Life

विराटनगर। चाडबाडका मुखमा खाने तेलको मूल्य सस्तिएको छ। अन्तर्राष्ट्रिय मूल्यका कारण साउनको दोस्रो हप्तादेखि नै खाने तेलको मूल्य सस्तो भइरहेको थियो।

यसैबीच गत भदौ २१ मा सरकारले कच्चा तेलको आयात शुल्कमा भारी कटौती गरेपछि प्रशोधित प्रति लिटर २० रुपैयाँले अझ सस्तो भएको हो। 
सरकारले कच्चा तेलको आयातमा लाग्ने भन्सार महसुल १ प्रतिशत कायम गर्ने निर्णय गरेको थियो। केएल दुगड ग्रुपका प्रवन्ध निर्देशक कुमुद दुगडले राजस्व घटेपछि उपभोक्तालाई लिटरमा १५ रुपैयाँ भन्दा बढी मूल्य घटेको बताए।

'राज्यले गरेको निर्णयले उपभोक्तालाई लिटरमै १५ रुपैयाँ भन्दा बढी सस्तिएको छ। यो वाहेक अन्तर्राष्ट्रिय बजारमा पनि कच्चा पदार्थको मूल्य घटिरहेको छ,' उनले बिजमाण्डूसँग भने।

उनका अनुसार सरकारले कर घटाएपछि भारतबाट अवैध रुपमा तेल आउने क्रम रोकिएको छ। 'सरकारको निर्णयले अवैध रुपमा भारतबाट तेल आउने क्रम रोकिएको छ,' दुगडले भने, 'यसले राज्यलाई समेत फाइदानै भएको छ।' यो समूहले धारा ब्राण्डमा सनफ्लावर, तोरी र सनफ्लो सनफ्लावर तेल उत्पादन गर्दै आएको छ।

यसअघि यसको महसुल १० प्रतिशत थियो। मोरङ व्यापार संघका कार्यकारी सदस्य एवम् पशुपति खाद्यतेल उद्योगका सञ्चालक अमित शारडाका अनुसार कच्चा पदार्थको मूल्यवृद्धिका कारण सबैभन्दा महँगो खाने तेल गत असार महिनामा थियो।

त्यस वेला सूर्यमुखीको तेलको फ्याक्ट्री मूल्य प्रति लिटर ३३० रुपैयाँ पुगेको थियो। त्यस्तै असारमा सोयाबिन तेलको फ्याक्ट्री मूल्य लिटरको ३०० र पामतेलको फ्याक्ट्री मूल्य लिटरको २२५ रुपैयाँ पुगेको थियो। अहिलेको सूर्यमुखीको फ्याक्ट्री मूल्य २५०, सोया तेलको २२० र पाम तेलको १८० रहेको शारडाले बताए।

सरकारले कच्चा तेलमा महसुल घटाउनुभन्दा पहिले सूर्यमुखीको तेलको फ्याक्ट्री मूल्य २७०, सोया तेलको २४० र पाम तेलको २०० रुपैयाँ थियो।
असार महिनामा सूर्यमुखीको कच्चा तेलको मूल्य टनको २२ सय डलर पुगेको थियो। अहिले १ हजार ३५० डलर भएको छ। सूर्यमुखीको कच्चा तेल रसिया र युक्रेनबाट आयात गरिन्छ।

त्यस्तै असार महिनामा सोयाबिनको कच्चा तेलको मूल्य टनको २ हजार डलर थियो। अहिले १ हजार २७० डलर छ। यो तेल अर्जेन्टिना र ब्राजिलबाट आयात गरिन्छ। इन्डोनेसिया र मलेसियाबाट आयात गरिने कच्चा पाम तेलको मूल्य असार महिनामा टनको १ हजार ७ सय डलर थियो। अहिले ९७० डलर भएको छ।

उद्योग संगठन मोरङका कोषाध्यक्ष एवम् क्वालिटी आयलका सञ्चालक विपिन काबराले रुस–युक्रेन युद्धका वेला युक्रेनबाट सूर्यमुखी तेल निर्यात हुन नसकेको बताए।उनले युक्रेनबाट भदौ लागेपछि मात्र सूर्यमुखीको तेल सहज भएको उल्लेख गरे। युक्रेनबाट सूर्यमुखी तेल बाहिरिन नसक्ता विश्वभरि यसको मूल्यवृद्धि भएको थियो। नेपालका उद्योगले पुरानो मौज्दात सूर्यमुखीबाट बढी काम चलाएका थिए। त्यस वेला केही उद्योगले ब्राजिल र मलेसियाबाट सूर्यमुखीको कच्चा तेल ल्याएका थिए।

काबराले अहिले युक्रेनबाट बेलारुस हुँदै कच्चा सूर्यमुखीको तेलको निर्यात खुलेको र यसले मूल्य घटाउन सहयोग पुर्‍याएको चर्चा गरे। तोरीको तेल पनि असारका तुलनामा प्रति लिटर ३० र भदौ २१ यता १० रुपैयाँले सस्तो भएको छ। अन्तर्राष्ट्रिय बजारमा तोरीको मूल्यमा खासै ह्रास नआए पनि नेपालमा राजस्व संरचना घटेकाले तोरीको तेल हलुका सस्तिएको हो।

सरकारले भदौ २१ गते उद्योगले आयात गर्ने तोरीको भन्सार महसुललाई ५ बाट १ प्रतिशत बनाएको थियो। चन्द्रशिव आयल मिलका सञ्चालक नरेश राठीले उनको उद्योगको ‘घैला’ छाप तेलको फ्याक्ट्री मूल्य अहिले लिटरको २९५ देखि ३०० रुपैयाँ भएको जानकारी दिए। यसको एमआरपी ३४० रुपैयाँ तोकिएको छ।

नेपालका तोरीतेल उद्योगले तोरीको आयात युक्रेन, अस्ट्रेलिया र भारतको राजस्थानबाट गर्दै आएका छन्। उद्योगी नरेशका अनुसार गत असारमा युक्रेनमा तोरीको मूल्य टनको ८२५ डलर पुगेको थियो। अहिले ७८० भएको छ। त्यस्तै अस्ट्रेलियामा असारमा तोरीको मूल्य टनको ८६० डलर पुगेकोमा अहिले ८२० भएको छ।

राजस्थानको तोरीको मूल्यमा भने हल्का मात्र ह्रास आएको छ। राजस्थानी तोरीको मूल्य असारमा किलोको भारु ७० थियो । अहिले भारु ६५ भएको छ। अन्तर्राष्ट्रिय बजारमा तोरी दानाको मूल्य सबैभन्दा बढी गत वैशाखमा भएको थियो। त्यस वेला युक्रेनको तोरीको मूल्य टनको १ हजार डलर, अस्ट्रेलियाको १ हजार ५० डलर र राजस्थानी तोरी प्रति किलो भारु ७५ सम्म पुगेको थियो।