BIZMANDU
www.bizmandu.com

विराटनगरमा अपाङ्गता भएकालाई स्वरोजगार बनाउने अभियान, कात्तिक १८ मा रोजगार मेला हुँदै

२०७९ असोज ६

विराटनगरमा अपाङ्गता भएकालाई स्वरोजगार बनाउने अभियान, कात्तिक १८ मा रोजगार मेला हुँदै
विराटनगरमा अपाङ्गता भएकालाई स्वरोजगार बनाउने अभियान, कात्तिक १८ मा रोजगार मेला हुँदै

विराटनगर। अपाङ्गता भएका व्यक्तिलाई रोजगार र स्वरोजगार बनाउने उद्देश्यले विराटनगरमा दुई दिने रोजगार मेलाको आयोजना गरिने भएको छ ।

Tata
GBIME
Nepal Life

नेपाल उद्योगवाणिज्य महासंघ प्रदेश १ सहित ४ संस्थाको संयुक्त आयोजनामा आगामी कात्तिक १८ र १९ गते अपाङ्गता भएका व्यक्तिहरूका लागि रोजगार मेला–२०२२ को आयोजना हुन लागेको हो ।

मेलाका अन्य आयोजकमा महासङका साथ द लेप्रोसी मिसन नेपाल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र करुणा फाउन्डेसन छन्। 

मेलाको जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा महासंघका प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले महासंघ प्रदेश १ ले यसअघि अन्य संस्थासितको सहकार्य र समन्वयमा अपाङ्गता भएका ७५ जनालाई रोजगारी दिइसकेको जानकारी दिए। उपाध्यक्ष राउतले महासंघ प्रदेश १ कै कार्यक्रमअन्तर्गत यसअघि अपाङ्गता भएका १२५ जना स्वरोजगार भइसकेको बताए। 

उनले मेलामा रोजगारदाताको बढीभन्दा बढी सहभागिता गराउन प्रयास र संयोजन भइरहेको स्पष्ट पारे । यसका लागि १ सय रोजगारदातासित परामर्श भइसकेको छ। मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा ७ सयभन्दा बढी  रोजगारदाता भएको तथ्यांक छ।

नेपालको कानुनी व्यवस्थाअनुसार २५ जनाभन्दा बढीलाई रोजगार दिने व्यक्तिले २५ मा १ जना अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिनुपर्ने हुन्छ। तर यो कानुनी प्रावधानलाई अधिकांश रोजगारदाताले कार्यान्वयनमा ल्याएका छैनन्।

मेलाको नारा ‘रोजगारीमा अपाङ्गता भएका व्यक्ति नछुटौं, राष्ट्रनिर्माणमा सबै जुटौं' रहेको छ।  

द लेप्रोसी मिसनका विपिन दासले मेलामा अपाङ्गता भएका प्रदेश १ का ८ जिल्लाका ३ सय जनाको बायो डाटा प्राप्त भएको उल्लेख गरे । दासले बायोडाटा प्राप्त हुने सबैको उपस्थितिका लागि आयोजकले पहल गरिरहेको बताए। 

बायोडाटा दिने अपाङ्गमा मोरङ, सुनसरी, झापा, धनकुटा, सङ्खुवासभा, भोजपुर र इलाम जिल्लाका छन्। उनीहरू निरक्षरदेखि स्नातकोत्तर सम्म पढेका छन्।

मेलामा ८ जिल्लाबाहेकह तेह्रथुम, सोलुखुम्बु र काठमाडौँका अपाङ्गता भएका व्यक्तिले पनि बायोडाटा पठाएका छन् र उनीहरूलाई पनि सहभागी बनाउने प्रयास भइरहेको छ।

दासका अनुसार मेलामा छानिएका अपाङ्गले टिचिङ, म्यानुफ्याक्चरिङ, हस्पिटालिटी, गार्मेन्ट, हेल्थ, बैंकर, डेभलपमेन्ट पार्टनर र घरेलु तथा साना उद्योगका क्षेत्रमा काम पाउने छन्। 

रोजगारीका लागि छानिएका अपाङ्गता भएका व्यक्तिलाई आवश्यक काउन्सिलिङ र क्षमता अभिवृद्धि गराएर मात्र काममा पठाइनेछ।