BIZMANDU
www.bizmandu.com

सेबोन-नेप्से द्वन्द्व: बुक बिल्डिङ अलपत्र, आरोप प्रत्यारोप गरेर उम्किने प्रयास

२०७९ असोज ६

सेबोन-नेप्से द्वन्द्व: बुक बिल्डिङ अलपत्र, आरोप प्रत्यारोप गरेर उम्किने प्रयास
सेबोन-नेप्से द्वन्द्व: बुक बिल्डिङ अलपत्र, आरोप प्रत्यारोप गरेर उम्किने प्रयास

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालकै लागि नौलो प्रयोग 'बुक बिल्डिङ' लाई अलपत्र पार्ने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई देखाएर 'पानीमाथिको ओभानो' हुँदै बोर्डले बुक बिल्डिङ अलपत्र पारेको हो।

Tata
GBIME
Nepal Life

नियामक सेबोन र फ्रन्टलाइन रेगुलेटर नेप्सेले नयाँ नेतृत्व पाएपछि बहुप्रतिक्षित बुक बिल्डिङको संशयलाई अन्त्य गरेर प्रक्रिया अघि बढाउने बताएका थिए। तर अहिले उनीहरु बीच सम्बन्ध बिग्रिएपछि दुवैले प्राथमिकतामा राखेको बुक बिल्डिङ अलपत्र परेको स्रोतको दाबी छ।    

यो विधिबाट आइपीओ जारी गर्न सर्वोत्तम र रिलायन्स स्पिनिङ मिल्सले आधार मूल्य तय गरेर बोर्ड समक्ष निष्कासन निवेदन दिइसकेका हुन्। तर करिब दुई महिना बितिसक्दा पनि कम्पनीले बोर्डको स्वीकृति दिएको छैन। बोर्ड र नेप्से बीचको आपसी द्वन्दले गर्दा बुक बिल्डिङको काम अघि बढ्न नसकेको स्रोत बताउँछ।

खासमा बोर्ड अध्यक्ष रमेशकुमार हमाल र नेप्से सीइओ कृष्णबहादुर कार्कीको सम्बन्ध अहिले चिसिएको छ। त्यसैले नेप्सेले पठाएका प्रस्ताव बोर्डमा अलपत्र पर्न थालेको छ।

यो पनि पढ्नुस्: बुक बिल्डिङ मुद्दा औपचारिकताका लागि मात्र उठाउँदै बोर्ड अध्यक्ष: फेरि भने- सिस्टम बनाउँछौं

‘यस्तो ढिलासुस्तीले बजार विस्तारलाई नै रोक्छ। नेतृत्वको सम्बन्धले बजारलाई बाधा पार्नुहुँदैन,' एक लगानीकर्ताले भने।

बोर्डले बुक बिल्डिङलाई पारदर्शी बनाउन अन्तर्राष्ट्रिय स्तरमा प्रयोग भइरहेको 'अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम' ल्याउन नेप्सेलाई निर्देशन दिएको थियो। तर सिस्टम निर्माणमा नेप्सेको कुनै तदारुकता नपाइएको गुनासो बोर्डको छ।

यो पनि पढ्नुस्: बुक बिल्डिङबाट सेयर निकाल्न केन्द्रिय निक्षेप प्रणाली आवश्यक, चाहिएला फेरि अर्को सीडीएससी?

'नेप्सेलाई सिस्टम ल्याउन बारम्बार बोर्डले आग्रह गरिरहेको छ। यसको अभावमा म्यानुअल्ली नै अक्सन गर्न पनि सकिन्छ,' बोर्डका एक कर्मचारीले भने, 'तर अहिलेको नेप्सेको तौरतरिका ज्यादै सुस्त छ।' 

यो पनि पढ्नुस्: स्क्रिप सीमित हुँदा बजार 'ओभर हिटेड' हुन सक्छ, सन्तुलित बनाउन 'बुक बिल्डिङ', वैद्यको विचार

उनका अनुसार नेप्सेले जिम्मेवारी पुरा गर्न नसक्ने देखिएपछि सिस्टमका लागि बोर्डले मर्चेन्ट बैंकहरुसँग कुरा अघि बढाएको छ। मर्चेन्ट बैंकहरुले यो सिस्टम ल्याए नेप्से शुल्कसहित प्रणाली चलाउनु पर्छ। 

तर नेप्सेका अधिकारी बोर्डले चुनावअघि स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सलाई नतिजामा पुर्‍याउन बुक बिल्डिङ अलपत्र पारेको आरोप लगाउँछन्। ‘बोर्डले सम्पूर्ण स्रोत खिचेर नेप्सेलाई आरोप मात्रै लगाउने काम गरेको छ। हाल उसको मेजर एजेन्डा नै स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स हो,’ नेप्सेका ती अधिकारीले भने, ‘यसैले बुक बिल्डिङलाई साइड लगाइएको छ।’   

नेप्सेले बुक बिल्डिङका लागि सम्पूर्ण तयारी पुरा गरिसकेको हो। अक्सन सिस्टम पनि खरिद हुने तयारीमा छ। सरकारी स्वामित्वको संस्थालाई खरिद प्रक्रिया लामो हुने भएकाले तत्कालका लागि म्यानुअल्ली नै बोलकबोल गराउने योजना थियो। तर बोर्डले यो सबै जान्दा-जान्दै पनि आफ्नो कमजोरी लुकाउन नेप्सेलाई आरोप लगाएर उम्किने प्रयास गरिएको ती अधिकारीको आरोप छ।

सिस्टमको अभावलाई कारण देखाएर पहिला एक पल्ट पनि बुक बिल्डिङ रोकिएको थियो। बोर्डले पुन: त्यही कारण देखाउनु भनेको बुक बिल्डिङलाई रोक्ने खोजेको स्पष्ट हुने उनी बताउँछन्।