BIZMANDU
www.bizmandu.com

हुवासिन सिमेन्टले कोइलाको विकल्पमा दाउरा प्रयोग गर्दै, सुरु गर्‍यो परीक्षण, सहजै पाइएला दाउरा ?

२०७९ असोज ६

हुवासिन सिमेन्टले कोइलाको विकल्पमा दाउरा प्रयोग गर्दै, सुरु गर्‍यो परीक्षण, सहजै पाइएला दाउरा ?
हुवासिन सिमेन्टले कोइलाको विकल्पमा दाउरा प्रयोग गर्दै, सुरु गर्‍यो परीक्षण, सहजै पाइएला दाउरा ?

काठमाडौं। धादिङमा रहेको चिनियाँ संयुक्त लगानीको हुवासिन सिमेन्टले कोइलाको साटो दाउरा प्रयोग गर्ने भएको छ। विदेशबाट आयात गर्नुपर्ने कोइलाको विकल्पमा स्वदेशी दाउराकै प्रयोग गरेर उद्योग सञ्चालनको तयारी गरेको हो। 

Tata
GBIME
Nepal Life

उद्योगका एक कर्मचारीले भने-‘हुवासिन सिमेन्टको अन्य विदेशी प्लान्टहरुमा दाउराबाट कोइला बनाइ प्रयोग गर्ने गरिएको छ। नेपालमा पनि यस्तै प्रविधि प्रयोगका लागि उद्योगले तयारी सुरु गरेको छ।’

नेपालमा धेरै वनजंगल भएका कारण दाउराको प्रयोग सफल हुने उद्योगको विश्वास छ। दाउराका लागि जस्तोसुकै काठ प्रयोग गर्न सकिने भएकाले विदेशबाट आयातित कोइला भन्दा दाउरा सस्तो पर्ने उद्योगको अनुमान छ। दाउरा प्रयोग बारे उद्योगले अहिले परीक्षण गरिरहेको छ। यसका लागि थोरै दाउरा संकलन गरेर परीक्षण सुरु गरिएको छ। केही वर्ष अघि नेपालका अधिकांश इँटाभट्टामा दाउरानै प्रयोग हुन्थ्यो। तर दाउरामा कडाइ गरेपछि अधिकांश इँटा उद्योगले अहिले आयातित कोइला नै प्रयोग गर्छन्।

अहिले तेस्रो मुलुकबाट कोइला ल्याएर सिमेन्ट उत्पादन भइरहेको छ। तेस्रो मुलुकबाट कोइला आयात भइरहेको छ। भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष मात्रै ३७ अर्ब ३६ करोड बराबरको आयात भएको छ। नेपालकै दाउरा प्रयोग गरेर कोइला उत्पादन भएमा आयात प्रतिस्थापनमा सहयोग पुग्नेछ।

वन कानुन बाधक बन्ने डर

दाउरा प्रयोग गर्न भने नेपालको वन सम्बन्धि कानुन असहज हुने अनुमान गरिएको छ। वन कानुन कडा रहेकाले वनबाट दाउरा संकलन गर्न कठिन छ। 

 ‘नेपालमा काम गर्न निकै असहज छ,' ती व्यवस्थापकले भने, 'सरकारले सहज बनाए मुलुकभित्र खेर गइरहेको दाउरा प्रयोग गर्न सकिन्छ। यसले विदेशी मुद्रा समेत बचत हुन्छ।’

उनका अनुसार अहिलेनै वनमा ढलापढा काठ कुहिएर गइरहेको छ। 'वनमा काठ कुहिएर खेर गइरहेको छ। तर अर्बौ रुपैयाँको फर्निचर र काठ आयात भइरहेको छ,' ती व्यवस्थापकले भने, 'त्यही भएर हामी धेरै आशावादी भने छैनौं।'

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले कोइलाको विकल्पमा दाउरा प्रयोग गर्न सकिने बताए। 'सिमेन्ट उद्योगमा कोइला विस्थापन गरेर दाउरा प्रयोग गर्न सकिन्छ। तर सिमेन्ट उद्योगलाई चाहिने परिमाणको दाउरा पाउने सम्भावना कम छ,' उनले बिजमाण्डूसँग भने, 'त्यसमा पनि वन कानुन धेरै कडा छ। सहज रुपमा दाउरा पाउने सम्भावना कम छ।'

उनका अनुसार धेरै झन्झटमा फस्नुपर्ने भएकाले विदेशबाट आयात भएको कोइला प्रयोग गरिएको हो। 'अहिले नै उद्योग चलाउन सयौं झन्झट ब्योहोर्नुपर्छ। त्यसमा फेरि दाउरातिर लागेर किन टाउको दुखाउनु ?,' थापाले भने, 'सरकारी निकायले विदेशी सञ्चिति जोगाउन सोच्ने हो भने स्वदेशी काठ प्रयोग गरेर उद्योग चलाउन सकिन्छ।'