BIZMANDU
www.bizmandu.com

नेपाली क्लोदिङ ब्राण्डः आयातितका माझमा ठाउँ बनाउँदै, सजिलो कहाँ छ विदेशी उत्पादनलाई टक्कर दिन

२०७९ असोज ६

काठमाडौं। दसैंका किनमेलमा तपाइँ नेपाली लुगा किन्न कत्तिको चासो राख्नुहुन्छ ? विदेशी फेसन सामाग्रीको भीडमा बजारमा नेपाली प्रोडक्टले पनि आफ्नो स्थान सुरक्षित गरिरहेका छन्। केही नेपाली प्रोडक्टको गुणस्तर र व्यापार विदेशी ब्रान्डलाई टक्कर दिन सक्ने हुँदैछ। 

Tata
GBIME
Nepal Life

उपत्यकामा लत्ताकपडा किनमेल गर्न अधिकांशको रोजाइमा पर्छ न्युरोड र असन। त्यसपछि मल र डिपार्टमेन्ट स्टोरहरू। दसैंमा विशेषगरी चिनियाँ तयारी पोशाक तथा जुत्ता/चप्पल पाइने स्टोरहरू सर्वसाधारणहरूको सपिङ गन्तव्य बन्दै गएको धेरै भएको छ। चिनियाँ प्रोडक्टले छपक्कै छोपेको फेसन बजारलाई चुनौती दिँदै केही वर्षयता नेपाली क्लोदिङ ब्राण्डहरू आएका छन्।

ती हुन् सोनाम, फाइब्रो, ब्रोकेड, टिज आर्मोर, मोड २३ लगायत। यी नेपाली क्लोदिङ ब्राण्डहरूले बजारमा आफ्नै पहिचान बनाएका छन्। यी ब्राण्डहरूका आ-आफ्नै ग्राहक वर्ग छ। बजारमा चिनियाँ प्रोडक्टलाई चुनौती दिएका छन्। विदेशी नाम चलेका ब्रान्डका लुगा खोज्ने ग्राहकलाई उनीहरुको रोजाइमा पर्ने डिजाइन र गुणस्तर दिन नेपाली ब्रान्ड प्रतिष्पर्धी भएर बजारमा आएका छन्।

फेसन बजारका जानकार युवा पुस्ताको रोजाइमा पर्दै गएका नेपाली क्लोदिङ ब्रान्डको व्यापार सपिङ मल र आउटलेटका तुलनामा अनलाइन सपिङबाट राम्रै चलेको छ। यी ब्रान्डहरुले दसैंका लागि छुट घोषणा गरेर पनि ग्राहक आकर्षित गरिरहेका छन्।

विस्तारै बजारले नेपाली क्लोदिङ ब्रान्ड रुचाउन थाले पनि चिनियाँ उत्पादनलाई कमजोर ठान्न नहुने तर्क यी ब्राण्डहरूका संचालक बताउँछन्। त्यसैले पनि दसैंको व्यापारको महत्त्व बुझेका नेपाली क्लोदिङ ब्राण्डहरूले ग्राहकलाई आकर्षित गर्न विभिन्न अफरहरू ल्याएका छन्। साथै धेरै ब्राण्डहरूले दसैंका लागि नयाँ कलेक्सन पनि सार्वजनिक गरेका छन्। 

दसैं लक्षित गर्दै स्मार्ट-क्याजुवल वेयरमा काम गर्दै आएको नेपाली ब्राण्ड फाइब्रोले तीन वर्षदेखि नै दसैं उत्सव भनेर मनाउँदै आएको छ। यसपटक पनि फाइब्रोले बजारमा आफ्नो उपस्थिति बलियो बनाउन दसैं उत्सव कार्यक्रमलाई निरन्तरता दिएको सञ्चालक सुरजराज पाण्डे बताउँछन्।  

करिब १५ दिन चल्ने उत्सवमा फाइब्रोले पोहोरको दसैंमा आठ लाख रुपैयाँ आम्दानी गरेको थियो। यस वर्ष पनि सुरजले पोहोरको जति नै व्यापार हुने अपेक्षा गरेका छन्। यसपटक भने दसैं उत्सव रिभ्याम्प नेपालको चौथो फेस्टिभ संस्करणको दिनबाट सुरु गरेर हप्ता दिन मात्र सञ्चालन हुने उनी बताउँछन्। ‘उत्सवमा नयाँ प्रोडक्टहरू लन्च गर्नेदेखि स्टक क्लियरेन्स सेलमा ४० प्रतिशतसम्मको छुट व्यवस्था गरिएको छ,’ उनले भने। 

दसैं उत्सवले व्यापारमा सघाउने उनी बताउँछन्। ‘दसैंका लागि हामीले चार वटा जति ज्याकेटको नयाँ डिजाइनहरू रिभ्याम्प नेपालको चौथो फेस्टिभ संस्करणमार्फत लन्च गर्दै छौं। दसैंका लागि माग राम्रै आइरहेको छ,’ उनले भने, ‘सप्लाइमा समस्या आउने गर्थ्यो पहिलादेखि नै। हामी अहिले सप्लाई चेन व्यवस्थापन, फ्याक्ट्री अपरेसनको कामहरू, प्रोडक्ट डिजाइन गर्नमा व्यस्त छौं।’

रिभ्याम्प नेपाल कार्यक्रमका आयोजक पनि रहेका सुरज बजारमा चिनियाँ उत्पादन लैजाने ग्राहकको ठूलो संख्यालाई आकर्षित गर्न पनि रिभ्याम्प नेपालले मद्दत गर्नेमा विश्वस्त छन्।

त्यस्तै  नेपालको ट्रेन्डी कपडा ब्रान्डको रुपमा स्थापित मोड-२३ का सहसञ्चालक राजिव शाही भन्छन्, ‘हाम्रो व्यवसायमा दसैंको महत्त्वलाई नकार्न सकिदैन। मोड २३ ले दसैंलाई लक्षित गर्दै सेल लगाउँछ। प्राय: हामीले वर्षको दुई पटक मात्र सेल लगाउँछौँ। एक पटक दसैंलाई लक्षित गर्दै र अर्को हाम्रो वार्षिक उत्सवमा हुन्छ।’

मोड २३ ले दसैंमा पप्प-अप स्टलहरू ठाउँ-ठाउँमा राख्दै आएको छ। यस अन्तर्गत दसैं लक्षित गर्दै धेरै माग भएको कुनै एउटा ठाउँमा गएर सीमित समयका लागि स्टल राख्ने गरेको राजिव बताउँछन्। उनका अनुसार  मोड २३ ले यस प्रकारका स्टलहरूमा अफरहरू दिएर, डिस्प्ले, ट्रायलहरू प्रदान गरेर ग्राहक अन्तर्क्रियाहरू बढाउने गरेको छ।

यस बाहेक फेस्टिभल छुट भनेर १५ प्रतिशतसम्म छुटको व्यवस्था छ। साथै स्टलमा नै आएर खरिद गर्दा ५ प्रतिशत थप छुटको व्यवस्था रहेको उनी बताउँछन्। ‘पोहोर हामीले पोखरा र बौद्धमा पप्पअप स्टलहरू राखेका थियौं। व्यापार र माग देखेर नै पोखरा र बौद्धमा आउटलेट पनि खोल्यौं,’ उनले भने, ‘यो वर्ष इटहरीमा असोज १० गतेदेखि पाँच दिनको लागि पप-अप स्टल राख्दै छौं। पोहोर दसैंमा हामीले एउटा स्टलबाट लगभग नौ लाखको व्यापार गरेका थियौं। यसपालि ६ गुणाले व्यापारमा बढाउने लक्ष्य छ।‘

फाइब्रोले जस्तै  मोड २३ ले  पनि दसैंको व्यापारलाई मनन गर्दै १० गतेबाट नयाँ कलेक्सन लन्च गर्दै गरेको उनी बताउँछन्। यस अन्तर्गत २० भन्दा बढी प्रोडक्टहरू रहेको उनले बताए। ‘गुणस्तरीय प्रोडक्ट छुटसहित पाउँदा धेरैलाई तानिरहेको हुन्छ। अनलाइनमा हामीले २४ घण्टाभित्र डेलिभरी गर्छौं। सेम डे डेलिभरीको व्यवस्था पनि छ। यसरी नै हामीले ग्राहकहरूलाई  मोड २३ तिर तानिरहेका छौं,’ उनले भने। 

दसैंलाई लक्षित गर्दै विशेषगरी रेशमको कपडाहरू बनाउँदै आएको ट्वींकल्सले आफनो अधिकांश प्रोडक्टहरूमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ। 

ट्वींकल्स सञ्चालक जया राजभण्डारी भन्छिन्, ‘सेल अफर प्राय: सबै नै प्रोडक्टहरूमा नै छ। दसैंको बेला उपभोक्ताहरूको माग बढ्दै छ। त्यसैले हामीले हाम्रो रेगुलर रेशमको प्रोडक्टसहित ढाकाका मल्टीपर्पज पाउचहरू, ह्यान्डमेड नेकलेसहरू, सिल्क लाउन्जवेयर र लुगाहरूको नयाँ डिजाइन लगायतका नयाँ उत्पादनहरु पनि ल्याएका छौं।’ 

अर्को चर्चित नेपाली क्लोदिङ ब्राण्ड सोनाम गियर्सले पनि दसैंका लागि स्प्रिङ समर सेलअन्तर्गत आफ्ना उत्पादनमा १५ देखि ७० प्रतिशत सम्मको छुटको व्यवस्था गरेको छ। साथै नयाँ विन्टर कलेक्सन पनि लन्च गरेको छ। 

२०१७ मा सुरु भएको लेडिज वेयर ब्राण्ड टिइज आर्मोरमा पनि आफ्ना सबै वस्तुहरू १५ प्रतिशतसम्मको छुट र ७५ प्रतिशतसम्मको सेलको व्यवस्था छ। यस सेलमा १०० भन्दा बढी स्टाइलका प्रोडक्टहरू राखिएका छन्।