BIZMANDU
www.bizmandu.com

अर्को वर्ष नेपालको आर्थिक वृद्धि अझ खस्कने एडिबीको प्रक्षेपण, ४.७ प्रतिशतमा मात्र सीमित रहने

२०७९ असोज ५

काठमाडौं। एसियाली विकास बैंक (एडीबी)ले सन् २०२३ मा नेपालको अर्थतन्त्र सन् २०२२ को तुलनामा अझ खस्किने प्रक्षेपण  गरेको छ।  एडिबीले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो।

Tata
GBIME
Nepal Life

एडीबीले सार्वजनिक गरेको 'एसियन डेभलपमेन्ट आउटलुक २०२२' मा नेपालको आर्थिक वृद्धि सन् २०२२ को तुलनामा सन् २०२३ मा अझ घट्ने प्रक्षेपण गरेको हो।  

एडीबीले सन् २०२२ मा नेपालको अर्थतन्त्रमा ५.८ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको थियो ।  

सार्वजनिक प्रतिवदेनमा सन् २०२४ मा नेपालको वैदेशिक मुद्राको संचितीमा अझ गिरावट आउने र मुद्रास्फितीमा थप दबाब पर्ने समेत जनाइएको छ।

सरकारले आयात नियन्त्रणका लागि अपनाउने आवश्यक औजारहरुका कारण अर्थतन्त्रको वृद्धि खुम्चिने जोखिम बढ्ने देखिएको प्रतिवदेनमा उल्लेख छ। आयात नियन्त्रणसँगै आन्तरिक उत्पादन र उपभोगसमेत घट्ने जोखिमहरु इंगित गर्दै एडिबीले यस्ता गतिविधिले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिलाई नकारात्मक प्रभाव पार्ने बताएको छ।

प्रतिवेदनले  कडा मौद्रिक नीतिका कारण नेपालको कुल ग्राहस्थ उत्पादन प्रभावित हुने भन्दै निर्यातमा जोड दिनुपर्ने उल्लेख गरेको छ।

प्रतिवेदन सार्वजनिक गर्दै नेपालका लागि एडिबीका कन्ट्री डाइरेक्टर आनो कुस्वाले भने –'कोभिड १९ महामारीपछिको लकडाउन, डेंगु ज्वरोको प्रकोप लगायतले नेपालको स्वास्थ्य प्रणालीलाई कमजोर बनाइदिएको छ भने विभिन्न प्राकृतिक प्रकोपहरुबाट समेत जोखिम ब्योहोर्नुपरिरहेको छ। यसैगरी भूराजनीतिक अवस्थाले पनि नेपालको आर्थिक वृद्धिलाई कमजोर बनाउनेछ।'

प्रतिवेदनमा मनसुन राम्रै भएकाले नेपालको कृषि क्षेत्रको वृद्धि हुने संभावना देखिएपनि रसायनिक मल अभावले धानको उत्पादनलाई प्रभावित तुल्याउने उल्लेख छ।

प्रतिवदेनले सेवा क्षेत्रमा पनि गिरावट आउने बताएको छ। कर्जा नियन्त्रण तथा ब्याजदरमा भएको उच्च वृद्धिले रियल स्टेट, थोक तथा खुद्रा ब्यापार गतिविधिमा पनि सुस्तता देखिने उल्लेख छ।

आगामी निर्वाचनले भने संघ तथा प्रदेश स्तरमा चुनावी खर्चलाई बढावा दिने हुँदा त्यसले जीडीपीको वृद्धिमा सहयोग पुग्ने उल्लेख छ।

प्रतिवदेनमा मुद्रास्फिती सन् २०२३ मा थोरै घट्ने बताइएको छ। सन् २०२२ मा ६.३ प्रतिशत रहेकोमा सन् २०२३ मा थोरै घट्ने प्रक्षेपण गरिएको हो।