BIZMANDU
www.bizmandu.com

लाभा मोबाइल बेच्ने अम्बे समूहको कम्पनीले गर्‍यो १.३३ अर्बको व्यापार, ५४% आम्दानी फिचर फोनबाट

२०७९ असोज ३


काठमाडौं। लाभा फोनको आधिकारिक वितरक अम्बे मोबाइल्स प्रालीले सन् २०२१/२२ मा १ अर्ब ३३ करोड ८० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ। 

Tata
GBIME
Nepal Life

अम्बे समूहको लगानी रहेको यस कम्पनीले पाँच वर्षको अवधिमा १ अर्बदेखि १ अर्ब ३५ करोड रुपैयाँ हाराहारीमा वार्षिक कारोबार गर्दै आएको छ। २०२० मा भने कोरोना महामारीका कारण कम्पनीको व्यापारमा धक्का पुगेको थियो।

२०२१ मा लाभा सबैभन्दा बढी आयात हुने फोनको तेस्रो नम्बरमा छ। कुल आयात हुने फोनमा लाभाको हिस्सा १२ प्रतिशत रहेको इक्रा नेपालको रेटिङ विवरणमा उल्लेख छ।      

कम्पनीले २०२१ मा १ अर्ब ६ करोड ८० लाख रुपैयाँ, २०२० मा ७३ करोड २० लाख रुपैयाँ कारोबार गरेको थियो। २०१९ मा कम्पनीले १ अर्ब ५ करोड ८० लाख रुपैयाँ र २०१८ मा १ अर्ब ८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो। 

इन्टरनेटको सहज पहुँचका साथै फोरजी स्मार्टफोन सुलभ बन्दा कम्पनीको व्यापारमा भने चुनौती थपिँदै गएको विश्लेषण गरिएको छ। टुजी प्रविधिको फिचर फोनबाट सबैभन्दा धेरै आम्दानी गर्ने अम्बे मोबाइल्स पछिल्लो समय प्रयोगकर्ताहरु फोरजी स्मार्टफोनमा सिफ्ट हुँदा चुनौती थपिएको रेटिङ विवरणमा उल्लेख छ।      

२०२२ मा कम्पनीले फिचर फोन बिक्रीबाट कुल बिक्रीको ५४ प्रतिशत आर्जन गरेको छ। २०१८ पछि सरकारले मोबाइल आयातकर्तालाई भ्याट फिर्ताको प्रावधान हटाएसँगै कम्पनीको सञ्चालन मुनाफा घट्दै गएको देखिन्छ। 

कम्पनीले देशभर ४७ रिटेल स्टोर र सर्भिस सेन्टरबाट सेवा दिइरहेको छ। कम्पनीको शतप्रतिशत स्वामित्व अम्बे ग्रुपका अध्यक्ष शोभाकर न्यौपानेसँग छ। 

कम्पनीले ५७ करोड रुपैयाँ अल्पकालीन बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पुन:पुष्टि गराएको छ। जसका लागि इक्रा नेपालले एनपी ए फोर प्लस रेटिङ पुन:पुष्टि गरेको छ।