BIZMANDU
www.bizmandu.com

३ हजारभन्दा धेरै व्यवसायी जोडिएको ‘घर बनाउ डट कम’, घर बनाउन सबै सामान जुटाइदिने

२०७९ भदौ २९

काठमाडौँ। सूचना प्रविधिमा स्नाकोत्तर हेमन्तकुमार जोशी र एमबिए गरेका साथी सञ्जीव बाडे सन् २००८ देखि सूचना प्रविधिसम्बन्धी आफ्नो कम्पनी टुलिप्समा व्यस्त थिए। टुलिप्स टेक्नोलोजीबाट उनीहरु इ-एटेन्डेन्स जस्ता मानव संसाधन व्यवस्थापन तथा इ-टेण्डर लगायतका प्रविधिमा आधारित काम अघि बढाउँदै थिए।

Tata
GBIME
Nepal Life

यस अतिरिक्त पनि उनीहरू आफ्नो कम्पनीबाट सूचनाप्रविधि सम्बन्धी विभिन्न आउटसोर्सिङ गर्दै आएका थिए। हेमन्त भन्छन्, ‘हामीलाई प्रविधिको प्रयोगले समाजमा केही राम्रो प्रभाव पर्ने खालको कामहरू गर्नु थियो। त्यसैमा हामी ब्रेनस्ट्रोमिङ गरिरहन्थ्यौं।’

यही बीच सन् २०१५ मा नेपालमा महाभूकम्प गयो। धनजनको ठूलो क्षति भयो। भूकम्पपछि घर निर्माणको काम यत्रतत्र भइरहेको थियो। घरजग्गा किनबेचमा पनि कमिसन तथा ब्रोकर प्रवृत्ति निकै हावी भइरहेको थियो।

हेमन्त भन्छन्, ‘कतिले त ब्रोकरको कुरामा आएर धेरै लगानी पनि डुबाए। यसै समस्यालाई समाधान गर्न हामीले घरजग्गा डट कम बजार ल्यायौं।’

यो अनलाइन प्लाटफर्मले घरजग्गा किनबेच गर्ने दुवै पक्षबीच एउटा पुलको काम गर्छ। सन् २०१६ मा सुरु भएको यस प्लाटफर्म दिन प्रतिदिन लोकप्रिय हुँदै गयो।

यो क्षेत्रमा काम गर्दै जाँदा घर निर्माण सम्बन्धी नयाँ प्रोडक्टहरू के के हुन सक्छ भनेर उनीहरू सोच्न थाले। संयोगवश, त्यतिबेला नै युएस एडको प्रोजेक्टले निर्माण सामग्रीको सप्लाई चेन समाधान गर्ने प्रोडक्टलाई फण्डिङ गर्न खोजिरहेको हेमन्तले थाहा पाए।

यो सँगै ‘घर बनाउ डटकम’को अवधारणाको श्री गणेश भयो। ‘घर बनाउ डटकम’ ठूलोदेखि साना घर बनाउन चाहिने निर्माण सामग्रीदेखि सम्पूर्ण सेवाहरू पाइने प्लाटफर्म हो।

यो एउटा यस्तो प्लाटफर्म हो जहाँ खरिदकर्ता र बिक्रेताहरूले निर्माण सामग्री तथा सेवाको लागि एक अर्कासँग सीधा कुराकानी तथा सम्झौता गर्न सक्छन्। यसबाट सेवाग्राहीहरूले घरको नक्सा बनाउनदेखि घर निर्माण तथा घरको इन्टेरियर डिजाइनिङसम्मको किफायती दाममा गुणस्तरीय सेवाहरू पाउन सक्छन्।

जतिबेलामा भूकम्प गयो, त्यतिबेला निर्माण सामग्रीहरूको मूल्यमा निकै उतारचढाव भइरहेको थियो। सरकार लगायत कुनै पनि निकायले यो कुरा नियन्त्रण गरेका थिएनन्।

हेमन्त सम्झन्छन्, ‘सिमेन्टकै कुरा गर्दा पनि बोराको पाँच सयमा पनि पाइन्थ्यो भने त्यसैलाई एक हजार भन्ने पनि थिए। जसले जतिमा बेच्न सक्यो त्यतिमा नै खरिद बिक्री भइरहेको थियो। अस्तव्यस्त नै थियो।’

कुनै पनि वस्तु वा सेवाको एउटा निश्चित मूल्य हुनुपर्छ। निर्माण सामग्रीको लागत र ढुवानी लागतलाई ध्यानमा एउटा न्युनतम मर्जिनमा बेच्दा किन्ने र बेच्ने दुवै पक्षलाई नै धेरै सहज हुन्छ भन्ने विचारका साथ ‘घर बनाउ डटकम’ अघि बढेको हेमन्त बताउँछन्।

यो सेवा वेबसाइट तथा एन्ड्रोइड तथा आईओएस दुवैमा मोबाइल एपमा पनि उपलब्ध छ। अहिलेको अवस्थामा घरपरिवारका सबै सदस्यहरू आ-आफ्नो काम, व्यवसाय तथा पढाइमा व्यस्त हुने गर्छन्। अझ कतिपयले त विदेशमा बसेर यता नेपालमा घर बनाउन चाहिरहेका हुन्छन्।

घर बनाउन थाल्दा करिब एक वर्षको समय नै लगानी गर्नुपर्ने हुन्छ। तर हाम्रो दैनिक जीवनको व्यस्तताले हामीलाई त्यति समय लगानी गर्ने छुट दिदैन।

हेमन्त बुझाउँछन्, ‘अब त्यो व्यवस्था मिलाउने घर बनाउ डटकम आएको छ। अब हामीले हामी जहाँ बस्छौं, त्यहीँबाट नै निमार्ण सामग्रीहरू घर बनाउ डट कमबाट अर्डर तथा तुलना गर्न सक्छौं। त्यस्तै आफ्नो नजिकका बजार तथा सप्लायरहरूबारे थाहा पाउन पनि सक्छौं।’

घर बनाउ डट कमको अवधारणामा काम गरेर यसलाई पूर्णत: लन्च गर्न लगभग दुई वर्षको समय लागको उनीहरू बताउँछन्। निर्माण सामाग्रीका सप्लायरहरूकहाँ गएर उनीहरूबाट तथ्यांक संकलन गर्नेदेखि उनीहरूलाई घर बनाउ डट कमको बारेमा बुझाउन नै समय लागेको उनीहरूको अनुभव छ।

करिब चारसय सप्लायरहरू आबद्ध गरेर एक वर्ष अघि सुरु भएको थियो, घर बनाउ डट कम। हाल यसमा तीन हजारभन्दा बढी निर्माण सामग्री व्यवसायीहरू जोडिएका छन्, जसका १० हजारभन्दा धेरै किसिमका सामाग्रीहरू वेबसाइटमा सूचीकृत भएका छन्।

घर बनाउ डट कमले निर्माण सामाग्री सप्लायरहरू तथा सेवा प्रदान गर्नेहरूलाई सब्स्क्रिब्सन मोडल, कमिसन मोडलमा र विज्ञापनको माध्यमबाट आफूसँग जोडेर राखेको छ। हेमन्तका अनुसार सब्स्क्रिब्सन मोडल अन्तर्गत सप्लायरहरूले बर्सेनि सब्स्क्रिब्सन प्याकेज नवीकरण गर्नुपर्ने हुन्छ। प्याकेजको मूल्य १० हजारदेखि सुरु भएर एक लाखसम्मको छ।

प्याकेजमा वेबसाइट तथा एपमा प्रोडक्ट तथा सामानहरू कहाँ लिस्ट हुनेदेखि फोटोग्राफीको शुल्क सबै समावेश हुने उनीहरू बताउँछन्। अहिलेसम्म ‘घर बनाउ डटकम’को आम्दानीको मुख्य स्रोत भनेको कमिसन मोडेल नै रहेको हेमन्त खुलाउँछन्।

करिब १ करोडको लगानी तथा १० जना टिमको मेहनत भएको यस प्लाटफर्मले यस वर्ष एक करोडमा २० प्रतिशत हासिल गरिसकेको छ। यस प्लाटफर्मबाट निर्माण सामग्री मगाउँदा तथा घर निर्माण सम्बन्धी चाहिने अरु सेवाहरू उपभोग गर्दा करिब २५ प्रतिशत किफायती पर्ने हेमन्तको दाबी छ।

यस प्लाटफर्मले तीन हजारभन्दा बढी सप्लायरहरूलाई एक साथ ल्याएको छ। जसका कारण सेवाग्राहीहरूलाई धेरैबाट छानेर भाउ तुलना गरेर आफू अनुकूल सामग्रीहरू खरिद गर्ने छुट मिल्छ।

हेमन्त भन्छन्, ‘गतवर्ष एकजना सेवाग्राही हामीसँग सम्पर्कमा आउनुभएको थियो। उहाँ काठमाडौंको पहाडी भेगतिर घर बनाउँदै हुनुहुन्थ्यो र उहाँले प्रति बोरा सिमेन्ट ९३० रुपैयाँमा खरिद गरिरहनु भएको रहेछ। हाम्रो वेबसाइटको बारेमा थाहा पाएर हेर्दा उहाँले त्यही सिमेन्ट ७४० रुपैयाँमै नै पाउनु भयो।’

त्यो लगत्तै ति व्यक्तिले कम्पनीमा सम्पर्क गरेछन्। उनले वेबसाइटमा राखेको मूल्य सही हो होइन भनेर प्रश्न पनि सोधेछन्। उत्तर पाएपछि छक्क पर्दै उनले थप २० रुपैयाँ ढुवानी खर्च तिरेर ७४० रुपैयाँमा नै सिमेन्ट खरिद गरेछन्। घरको निर्माण सम्पन्न भइसकेपछि बचत भएको पैसाले एउटा पूरै कोठाको फर्निसिङ गर्न पुगेको भन्दै उनले पछि हेमन्तसँग खुशी पनि साटेछन्।

कुनै पनि सप्लायरहरूलाई यस प्लाटफर्ममा आबद्ध गराउनु अघि घर बनाउले गुणस्तर परीक्षण गरेपछि मात्र सम्झौता गर्ने हेमन्त बताउँछन्। ‘सप्लायरले उल्लेख गरेकै गुणस्तरको सामानहरू सेवाग्राहीहरूले कतिपय अवस्थामा नपाउँदा हामीले सामान सबै फिर्ता गरेर अर्को सप्लायरबाट सामान पुर्‍याएको उदाहरण पनि छ। त्यसैले हामीले गुणस्तरलाई कायम राख्नका लागि बढी मेहनत गरिरहेका छौं,’ उनले भने।

कुनै किसिमको मार्केटिङ नगरेर घर बनाउ डट कमले रिफरलबाट नै धेरै सेवाग्राहीहरू कमाइरहेको छ। हाल काठमाडौं उपत्यकामा सीमित भएको यस प्लाटफर्मलाई देशभरमा फैलाउने लक्ष्य राखेका छन् हेमन्तले।

उनी भन्छन् ‘यसका लागि हामीले काम थालिसकेका छौं। दूरदराजसम्म सेवाग्राही र सेवा प्रदायकहरूलाई जोड्ने निरन्तर प्रयासमा छौं। यस बाहेक हामी टिमलाई नै विस्तार गर्ने क्रममा छौं। यो प्लाटफर्मबाट हामी केही सामाजिक प्रभाव पनि पार्न चाहन्छौं।’