काठमाडौं। बोता उपत्यकामा ममका पारखीहरू बीच निकै लोकप्रिय नाम हो। बोता किफायती दरमा मिठो र सफा मम पस्कने अग्रणी रेस्टुरेन्टका रुपमा परिचित छ। तर पनि केही समय यता बोताको ब्यापार निरन्तर ओरालो लागिरहेछ। सन् २०१६ मा स्थापना भएको बोतामा ग्राहकहरूको फुटफल पनि लगातार घट्ने क्रममा नै छ।
तीन वर्ष अघिसम्म २० ठाउँमा विस्तार भएको बोता हाल ६ वटा आउलेटमा सीमित भएको छ। चेन रेस्टुरेन्ट बिजनेसमा तरंग ल्याएको बोता हाल सुस्ताएको देखिन्छ। बोता मात्रै नभई यो सूचीमा चिकेन स्टेसन, बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन, केकेएफसीलगायतका अनेकन चेन रेस्टुरेन्टहरू पर्छन्।
यो सँगै केही वर्षअघि आएको चेन रेस्टुरेन्ट खोल्ने लहरको पछाडि लगेर आक्रामक रुपमा आफ्नो आउटलेटहरू विस्तार गर्दै अघि बढेका चेन रेस्टुरेन्ट व्यवसायहरू अहिले सेलाएको झैं देखिन्छ।
गुणस्तरमा स्थिर नभएका कारण धेरै नेपाली चेन रेस्टुरेन्टहरूको आउटलेट धमाघाम बन्द हुँदै छन्। केकेएफसीको ४० प्रतिशतले ग्राहकहरूको फुटफल घटेको छ। ९२ ठाउँमा पुगेको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनको पनि आउटलेटहरू ओरालो लाग्ने क्रममा नै छ।
यी रेस्टुरेन्टहरूको कतिपय आउटलेटमा ग्राहकहरू निकै पातलिएका छन् भने खाना तथा सर्भिसको गुणस्तरमा गुनासोहरूको थुप्रो लागेको देखिन्छ। रेस्टुरेन्ट एण्ड बार एशोसिएसनको (रेबान) अध्यक्षमा अरनिको राजभण्डारीका अनुसार यसो हुनुको मुख्य कारण गुणस्तरमा स्थिरता नहुनु हो।
उनी भन्छन्, ‘कुनै पनि रेस्टुरेन्ट चेन व्यवसायमा जानु अघि त्यस रेस्टुरेन्ट एउटा ब्राण्ड बनिसकेको हुन्छ। त्यसको नाम ग्राहकहरूले स्वीकार गरिसकेको हुन्छ। त्यसलाई फेरि त्यही गुणस्तर तथा स्वाद आफ्नो व्यवस्थापनमा मात्रै नभएर अरूको व्यवस्थापनमा पनि दिन सक्नुपर्छ।’
मान्छेहरूको बद्लिदो जीवनशैलीसँगै फेरिँदै गएको काम गर्ने समय र शैलीले गर्दा घर बाहिर खानु रहर र बाध्यता दुबै हो। अहिले रेस्टुरेन्ट जानका लागि विशेष अवसर कुर्नै पर्दैन। आवश्यकताका कारण पनि दैनिक रेष्टुरेन्ट धाउनेको संख्या बढ्दै गएको छ। यस्तो अवस्थामा कुन रेष्टुरेन्टको स्वाद र सत्कार कस्तो छ भनेर परख गर्ने ग्राहकहरु पनि अधिक छन्।
रेबान अध्यक्ष राजभण्डारी पनि यसमा सहमत छन्। उनी भन्छन्, ‘यसो हुँदा कुनै पनि रेस्टुरेन्टले पस्कने स्वाद ग्राहकको मुखमा तथा आतिथ्य मनमस्तिष्कमा झुन्डिरहेको हुन्छ। चेन रेस्टुरेन्टमा जाँदा एक ठाउँमा पाएको स्वाद तथा आतिथ्य अर्को आउटलेटमा जाँदा नपाउँदा पनि ग्राहक असन्तुष्ट हुन्छन्। फलस्वरुप, बिजनेस सुस्ताउँदै जान्छ। अहिले धेरै चेन रेस्टुरेन्टहरूमा भएको पनि त्यही हो।’
आफूलाई स्थापित गराइसकेको रेस्टुरेन्टबाट त्यसको कुनै पनि आउटलेटमा जाँदा ग्राहकहरूलाई उस्तै खानाको स्वाद, सर्भिस, मूल्य तथा वातावरणको एक किसिमको अपेक्षा गरेको हुन्छ। सबै तिर समान स्वाद तथा सर्भिस नै पाउने अपेक्षा हुन्छ। जब कुनै रेस्टुरेन्ट फैलिँदै जान्छ ग्राहकहरूले अपेक्षा गरेको कुरा पूरा नहुँदा उनीहरू असन्तुष्ट हुन्छन् र फुटफल कम हुँदै जान्छ।
‘यसबाहेक विस्तारको लहैलहैमा लागेर सबैले माग गर्दा बढी नै आपूर्ति गर्दा डिमाण्ड अलिकति डाइलुट (पातलो) भएका यो अवस्था आएको हुन सक्छ।’- भन्छन् अध्यक्ष राजभण्डारी।
तर धेरैजसो चेन रेस्टुरेन्ट संस्थापकहरू यो कुरालाई स्वीकार गर्दैनन्। उनीहरूले हाल बजारमा छाएको मन्दी तथा कोरोना महामारीको असरलाई नै घट्दो फुटफलको कारक मानिरहेका छन्।
खाना, सर्भिस तथा वातावरणलगायतका पक्षलाई प्रबन्ध गर्न बलियो व्यवस्थापनको आवश्यक हुन्छ। रेस्टुरेन्टको एउटा दुइटा मात्रै आउटलेट हुँदा खाना, सर्भिस र वातावरण लगायतका यी सबै पक्षहरु व्यवस्थापनको नियन्त्रणमा हुन्छ र ग्राहकहरूको अपेक्षा पूरा गर्न सहज हुन्छ। तर जति जति चेनहरु बढ्दै जान्छ अपेक्षा अनुसारको सेवा ग्राहकले पाउने स्थिती नरहने उनी बताउँछन्।
नेपाली चेन रेस्टुरेन्ट व्यवसाय सुस्ताउँदै जाँदा बहुराष्ट्रिय रेस्टुरेन्ट कम्पनीहरू जस्तै केएफसी तथा पिज्जाहटहरूले नेपालमा राम्रो ग्राहक र विश्वास कमाइरहेको देखिन्छ। अध्यक्ष राजभण्डारी भन्छन्, ‘केएफसीको स्तर हेर्दा विदेशमा र यहाँ एकदम समान नै हुन्छ। बहुराष्ट्रिय कम्पनीहरूले प्राय: कर्मचारीहरूको तालिममा एकदमै खर्च गर्ने छन्। आखिर उपभोक्तासँग डिल गर्ने त कर्मचारीहरूले हो, त्यसैले दक्षता कर्मचारीमा हुन पर्छ। समय समयमा बदलिँदो ट्रेण्डलाई अनुशरण गर्दै रिफ्रेसमेन्ट तालिम दिने हाम्रोमा संस्कार नै बसेको छैन। हाम्रोमा मानवीय संसाधन पक्षलाई निकै नजरअन्दाज गरिएको छ।’
यो पक्षलाई नजरअन्दाज गरी लहैलहैको पछिमात्र लागेर चेन फैलाउँदा नै अहिले पछि हट्नुपर्ने अवस्था आएको उनको बुझाइ छ।
उनका अनुसार चेन व्यवसायको मुख्य चुनौती भनेको स्वामित्व हो। अन्तर्राष्ट्रिय ब्राण्ड तथा तथा नेपालमा नै स्थापित ब्राण्डहरूसँग मिल्दो जुल्दो नाम राखेर रेस्टुरेन्ट खोल्दा पनि कानुनी कारबाही नभएको, कानुनी दायरामा ल्याएपनि ढिलासुस्ती हुने र न्यूनतम सजाय हुने गरेको छ।
आफुले कमाएको ब्राण्ड तथा ग्राहकहरूको विश्वासलाई अरूको स्वामित्वमा दिँदा आफूखुसी फ्रेन्चाइज सम्झौता दिँदा पनि यस्तो समस्या आएको उनको बुझाइ छ।
उनी भन्छन्, ‘फ्रेन्चाइज मोडेल तथा सम्झौता कस्तो हुनुपर्ने भन्ने पनि तय हुनुपर्छ। अहिले धेरै जस्तो चेन रेस्टुरेन्ट व्यवसायहरूले आफू खुसी फ्रेन्चाइज मोडेल तथा सम्झौता गरिरहेका छन्। फ्रेन्चाइज मोडेलमा जवाफदेहिता कसको हुनुपर्ने भन्ने कुरा सम्झौताले मात्र होइन कानुनले नै बाँध्नुपर्छ।’
यसो हुँदा रेस्टुरेन्टको अवधारण विपरित फ्रेन्चाइज लिएकाहरूले मनलाग्दी गर्ने अधिकार पाइराखेका हुन्छन् जसले गर्दा गुणस्तरमा स्थिरता आउँदैन।
फर्मुलेसन तथा रेसिपीहरूको गोपनियता कायम राख्ने, त्यस्तै फर्मुलेसनहरूको पेटेन्ट राइट तथा ट्रेडमार्क दर्ता गर्ने खासै संस्कार बसेको छैन। नेपाल सरकारले हेर्न जरुरी रहेको उनी सुझाउँछन्।
त्यस्तै माउ कम्पनीले साझेदार चयन गर्दा निकै विचार पुर्याएर छनौट गर्न, नियम र सर्तहरू स्पष्ट रुपमा उल्लेख गर्न तथा कर्मचारीहरुलाई तालिमका लागि समेत सतर्क भएर सम्झौता गर्नुपर्ने उनी बताउँछन्।
हाल रेस्टुरेन्टहरू कहाँ दर्ता गर्ने भन्ने पनि प्रष्ट छैन। उनी भन्छन्, ‘दर्ता प्रक्रिया अन्तर्गत ल्याउन पर्यो, रेस्टुरेन्टको वर्गीकारण हुनुपर्यो, त्यसैअनुसार सेवाग्राहीहरूले सेवा पाएका छन् कि छैनन् भनेर अनुगमन हुनपनि आवश्यक छ।’- अध्यक्ष राजभण्डारीका अनुसार सबैभन्दा पहिला त रेस्टुरेन्ट को अचारसंहिता बनाउन नै अत्यावश्यक छ। यसका लागि नगरपालिकाहरुले नै पहल गर्नुपर्ने उनको भनाइ छ।
यो पनि पढ्नुहोस्
२० बाट ६ आउटलेटमा खुम्चिएको बोता, व्यापार फाइदामा हुँदा हुँदै कहाँ चुक्यो रेस्टुरेन्ट चेन