BIZMANDU
www.bizmandu.com

क्यानले र्‍याखर्‍याख्ती पारेपछि नेकोन संचालक दीपमणी राजभण्डारीले भने- ‘किचलोले धराशायी’


क्यानले र्‍याखर्‍याख्ती पारेपछि नेकोन संचालक दीपमणी राजभण्डारीले भने-  ‘किचलोले धराशायी’
क्यानले र्‍याखर्‍याख्ती पारेपछि नेकोन संचालक दीपमणी राजभण्डारीले भने- ‘किचलोले धराशायी’


काठमाडौं। कम्पनी बन्द गरेर हवाई सेवा व्यवसायको क्षेत्रबाट बाहिरिएका नेकोन एयरका सञ्चालकहरु यतिबेला नागरिक उड्डयन प्राधिकरणको ताकेताले तनावमा छन्। कम्पनी बन्द भएको २० वर्ष भयो। प्राधिकरणलाई ४ करोड ७२ लाख रुपैयाँ तिर्न बाँकी छ।

Tata
GBIME
Nepal Life

बक्यौता नबुझाउने कम्पनी सञ्चालकहरुको बैंक खाता रोक्कासँगै राहदानी जफत र सरकारी सेवा रोक्का गर्ने प्रक्रिया अघि बढाउन कडाइ गरेपछि नेकोनका सञ्चालकमध्येका दीपमणी राजभण्डारी सम्पर्कमा आएको प्राधिकरण स्रोतले जनाएको छ। उनले कम्पनीका सञ्चालक धेरैजना रहेको र आपसमा राम्रो सम्बन्ध नभएकाले बक्यौताबापतको रकम कसरी बुझाउने भन्नेमा प्राधिकरणसँग सुझाव मागेका छन्। 

तिर्न बाँकी रकमका लागि सबै सञ्चालक सदस्यको स्वामित्व अनुसारको भागमा आउने रकम विभाजनका लागि राजभण्डारीले वित्तीय सुझाव मागेको प्राधिकरणका एक अधिकारीले बताए। 'वित्तीय व्यवस्थापन सुझाव दिन भन्नुभएको छ। मौजुदा, ऐन, नियम, कानुनको व्यवस्था विषयमा अध्ययनमै छौं। मिलेर आउने भएको भए अहिले पनि नेकोनले उडान गरिरहेकै हुन्थ्यो नि भन्नुभएको छ,' उनले भने, 'उहाँहरुको आपसी समझदारी हुनै बाँकी छ।'

केहीअघि प्राधिकरणको सम्पर्कमा आएका नेकोनका तत्कालिन अध्यक्ष दीपमणी राजभण्डारीले आन्तरिक किचलोकै कारण कम्पनी धराशायी अवस्थामा पुग्नका साथै हालसम्म बक्यौता तिर्न असमर्थ भएको बताएका थिए। 'काम कुरा अगाडि बढिरहेको छ। अदालती प्रक्रियामा जाने भन्दा पनि आपसी समझदारीमा बक्यौता तिर्ने निचोडमा कम्पनी पुगेको छ। तर कुरा मात्र भइरहेको छ, काम अगाडि बढ्न सकेको छैन,' ती अधिकारीले बिजमाण्डूसँग भने,'उहाँहरुले आफू मिलेर अगाडि बढेको भए कार्यालय पनि अहिलेसम्म चल्थ्यो भन्नुभएको छ।'

प्राधिकरणले कम्पनीका साझेदारलाई 'मिलेर पैसा तिरौं' भन्दा पनि हालसम्म आन्तरिक किचलो नै समाधान नभएको उनले जानकारी दिए।

२०४८ सालबाट आन्तरिक उडान सेवा थालेको नेकोन एयर १३ वर्षपछि बन्द भएको थियो। त्यसबेला कम्पनीको सम्पूर्ण कारोबार बन्द गरेर सञ्चालकहरु हराएका थिए। कम्पनीको सेयर किनेका लगानीकर्ताहरु, ऋण दिने बैंक तथा वित्तीय संस्था, इन्धन दिने नेपाल आयल निगम, टिकट बिक्री गर्ने ट्राभल एजेन्सी, विमानस्थल प्रयोग गर्न दिने नागरिक उड्डयन प्राधिकरण लगायत सबैलाई तिर्नुपर्ने पैसा बाँकी नै राखेर २०६१ पछि नेकोन सञ्चालकहरु व्यवसायको क्षेत्रबाट बेपत्ता भएका थिए।

त्यसयता बन्द नेकोन एयरका वास्तविक सञ्चालक पुष्टि नहुँदा बक्यौता उठाउन नसकेको प्राधिकरणलाई अब भने बाटो खुलेको छ। नेकोनको नाममा प्राधिकरणलाई तिर्न बाँकी सेवा शुल्क ४ करोड ७२ लाख रुपैयाँ छ।

हाल फेला परेको कानुनी विवरणअनुसार कम्पनीका तत्कालिन अध्यक्ष तथा प्रबन्ध सञ्चालक दीपमणि राजभण्डारी, सञ्चालकमा दीपकराज कोइराला, रवीन्द्र श्रेष्ठ, मृगेन्द्र श्रेष्ठ र रविचन्द्रमान श्रेष्ठ रहेको देखिएको छ।

यसैगरी ५५ लाख ५१ हजार रुपैयाँ बक्यौता रहेको शिवानी एयर सम्पर्कमा आए पनि रकम भुक्तानी प्रक्रिया अगाडि नबढेको प्राधिकरणले जनाएको छ। कम्पनीको स्वामित्वमा रहेको तीनवटा अल्ट्रालाइट प्राधिकरणकै मातहतमा रहेको जनाइएको छ। यो कम्पनीले पछिल्लो समय ६ महिनाको बैंक ग्यारेन्टी ल्याउनका साथै मासिक रुपमा बक्यौता तिर्ने कार्ययोजना पेस गरेको थियो।

सेवा शुल्कवापतको बक्यौता रकम नतिर्ने वायुसेवा कम्पनीको बैंक खाता रोक्कादेखि सञ्चालकहरुको राहदानीसम्म जफत गर्ने सूचना निकालेपछि तीन कम्पनी प्राधिकरणको सम्पर्कमा आएका हुन्।

पाँच महिनाअघि क्यानका महानिर्देशक प्रदीप अधिकारीको नेतृत्वमा सेवा शुल्कवापतको बक्यौता रकम नतिर्ने बन्द वायुसेवा कम्पनीका सञ्चालकहरुको बैंक खाता रोक्कादेखि पासपोर्टसम्म सीज गर्ने सूचना जारी गरिएको थियो।