BIZMANDU
www.bizmandu.com

विश्व बजारको मन्दीले प्रविधि कम्पनीमा समेत धक्का, स्न्यापका १२ सयभन्दा धेरैले जागिर गुमाए

२०७९ भदौ १९

विश्वभरका युवाहरूको लोकप्रिय एप स्न्याप च्याटको माउ कम्पनी स्न्यापले आफ्ना १२ सयभन्दा बढी कर्मचारी कटौती गर्दैछ। 

Tata
GBIME
Nepal Life

विश्वभर रहेका ६४ सयभन्दा बढी कर्मचारीहरुमध्ये २० प्रतिशतलाई हटाउने स्न्यापका सीइओ इभान स्पिगलले जानकारी दिएका हुन्। 

यो घोषणालाई बढ्दो मुद्रास्फीति र फेडरल रिजर्भको ब्याज दर वृद्धिको बीचमा हालैका महिनाहरूमा व्यापक आर्थिक अवस्था बिग्रिएको असरको रुपमा हेरिएको छ। त्यसमा पनि पछिल्लो समय विश्वबजारमा छाएको मन्दीले प्राविधिक क्षेत्रलाई विशेष धक्का पुर्‍याएको छ।

यो कर्मचारी कटौतीको कारण कम्पनीले ‘तीन रणनीतिक प्राथमिकताहरू: समुदाय वृद्धि, राजस्व वृद्धि, र अग्मेन्टेड रियालिटी’ मा केन्द्रित गर्न पुनर्संरचना गरिरहेको जनाएको छ।

स्न्यापले  धेरै परियोजनाहरू समाप्त गर्दै आफ्नो टिमको आकार लगभग २० प्रतिशतले घटाउँदै गरेको इभानले विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘यस्ता परिमाणका परिवर्तनहरू सधैं अप्ठ्यारो  नै हुन्छन्, र हामी यस संक्रमणबाट गुज्रिरहँदा रोजगारी गुमाउनेहरुप्रति असाध्यै संवेदनशील पनि छौं। स्न्यापमा उनीहरूको योगदान प्रति हामी सधैं आभारी हुनेछौं,’ उनले भनेका छन्।

रोजगारी कटौतीमा परेका अमेरिकी कर्मचारीहरूको हकमा भने कम्पनीले कम्तिमा चार महिनाको क्षतिपूर्ति दिने भएको छ। साथै स्वास्थ्य बीमाको निरन्तरतामा नामांकन हुनको लागि आर्थिक सहायता पनि प्रदान गर्ने जनाएको छ। 'यसो गर्दा उहाँहरूले नयाँ अवसरहरू फेला पार्न वर्षको अन्त्यसम्म समय पाउनेछन्,’ इभानले भनेका छन्। 

यूएस सेक्युरिटीज र एक्सचेन्ज कमिसन फाइलिङ अनुसार स्न्यापमा सन् २०२२ को दोस्रो त्रैमासिक सम्ममा ६ हजार ४ सय ४६ पूर्णकालीन कर्मचारी थिए।

चालु वर्षको सुरुवातदेखि नै स्न्यापको सेयर मूल्य ७५ प्रतिशतले घटेको छ। स्न्यापको सेयरमा गत महिना पनि ठूलो गिरावट आएको थियो।यसमा कम्पनीले निराशाजनक बिक्री वृद्धि रिपोर्ट गर्दै र बजारमा आएको अप्रत्याशित मन्दीलाई कारक देखाउँदै लगानीकर्ताहरूलाई समेत  सतर्क बनाएको छ।