BIZMANDU
www.bizmandu.com

दुई सहकारीका संचालक फरार भएपछि वीरगंजमा पैसा झिक्ने बढे, सात वटाविरुद्ध उजुरी

२०७९ भदौ १७

दुई सहकारीका संचालक फरार भएपछि वीरगंजमा पैसा झिक्ने बढे, सात वटाविरुद्ध उजुरी
दुई सहकारीका संचालक फरार भएपछि वीरगंजमा पैसा झिक्ने बढे, सात वटाविरुद्ध उजुरी

वीरगंज। वीरगंज महानगरमा दुई साताको अन्तरालमा दुई वटा सहकारी संस्थाका संचालक भागेका छन्।

Tata
GBIME
Nepal Life

वीरगंज-१ को मानव बचत तथा ऋण सहकारी संस्था र वीरगंज-६ माईस्थानमा रहेको प्रतिक बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम लिएर संचालक सम्पर्कविहीन बनेका हुन्। 

मानव सहकारीका संचालक १० दिनअघि संस्था बन्द गरेर सम्पर्क बाहिर छन्। सो सहकारीमा दैनिक ज्याला मजदुरी गर्नेहरूले रकम जम्मा गर्ने गरेको र अहिले बचत रकम नपाएपछि बचतकर्ताहरू बिचल्लीमा परेका छन्।

प्रतिक सहकारीका संचालक पनि कार्यालय बन्द गरे सम्पर्क बाहिर छन्। यो बाहेक सानो पाइला बचत तथा ऋण सहकारीले आफ्नो निक्षेप नदिएको भन्दै विवादमा आएको थियो।

सो सहकारीले अहिले  दैनिक बढीमा बचत रकममध्ये २५ हजार फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ। वीरगंज महानगरपालिका सहकारी शाखाका प्रमुख सुनिल कर्णले महानगरमा अहिले १९७ वटा सहकारी संस्था दर्ता रहेको र सात वटाको गुनासो आएको बताए।

उनले छपकैया र माईस्थानका दुईवटा सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको गुनासो आएको र सातवटा विरुद्ध उजुरी परेको बताए। सहकारी संस्थाले रकम नदिएको हल्लासँगै पैसा निकाल्ने भीड बढेको छ।

सानो पाइला सहकारीकी कार्यकारी अधिकृत तसबिरन खातुनका अनुसार अहिले दैनिक ६० जनालाई २५ हजारको दरले रकम दिइरहेको बताइन्। उनले केही सहकारीले बदमासी गर्दा राम्रालाई पनि समस्या भएको बताइन्।