BIZMANDU
www.bizmandu.com

साउनमा डिजल आयात ६० प्रतिशतले घट्यो, ६५ हजार किलोलिटर मात्रै आयात


साउनमा डिजल आयात ६० प्रतिशतले घट्यो, ६५ हजार किलोलिटर मात्रै आयात
साउनमा डिजल आयात ६० प्रतिशतले घट्यो, ६५ हजार किलोलिटर मात्रै आयात

काठमाडौं। असारको तुलनामा साउनमा डिजेलको आयात ६० प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार साउनमा ६५ हजार १८६ किलोलिटर डिजल आयात भएको छ।

Tata
GBIME
Nepal Life

तर असारमा एक लाख ५२ हजार ५२५ किलोलिटर डिजल आयात भएको थियो। यो असारको तुलनामा ८७ हजार किलोलिटरभन्दा कम डिजल आयात हो। साउनमा पेट्रोल आयात पनि कम भएको छ। साउनमा पेट्रोल ५४ हजार ७०४ किलोलिटर आयात भएको छ।

असारमा पेट्रोलको आयात ५९ हजार ८६४ किलोलिटर भएको थियो। यसको पनि असारको तुलनामा ५ हजार १६० किलोलिटर कम हो। नेपाल आयल निगमका अनुसार साउनको माग आश्चर्यजनक रुपमा घटेको छ।

'डिजलको माग यति धेरै घटेकोमा हामी पनि आश्चर्यमा परेका छौं। यसले मुलुकभित्र आर्थिक गतिविधि कम भएको संकेत गर्छ,' निगमका एक कर्मचारीले भने।

 निगमका अनुसार साउन महिनामा डिजलको दैनिक खपत ३५ लाख लिटरमा खुम्चिएको छ। यस अघिका महिनामा डिजलको दैनिक खपत ६० लाख लिटर हो। डिजल मात्रै होइन पेट्रोलको खपत पनि आधा नै घटेको छ।

निगमका अनुसार पेट्रोलको दैनिक खपत २० लाख लिटरको हाराहारीमा  छ। अघिल्लो महिनामा पेट्रोलको दैनिक खपत ४० लाख लिटर थियो। तरलता अभावका कारण व्यक्तिगत निर्माणमा मन्दी छ।

सार्वजनिक खर्च पनि अत्यन्तै निराशाजक छ। यसले पनि पेट्रोलियम पदार्थको खपत घटेको हो। सिमेन्ट र डन्डीको माग ह्वातै घटेको छ। यी उद्योग अहिले उत्पादन क्षमताको आधा मात्रै चलेका छन्। त्यो वाहेक नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ सस्तो हुँदा सीमा क्षेत्रमा माग घटेको छ। यी सबै कारणले माग घटेको हो।

साउनमा डिजल आठ अर्ब ९८ करोड रुपैयाँ बराबरको आयात भएको छ भने यसबाट सरकारले २ अर्ब ९२ करोड रुपैयाँ कर उठाएको छ। यस्तै पेट्रोल ६ अर्ब ३८ करोड रुपैयाँबराबरको आयात भएको छ। यसबाट सरकारले ३ अर्ब २५ करोड रुपैयाँ कर बापत उठाएको छ।

सोही समयमा भारतबाट ५ अर्ब २७ करोड रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको विभागले जनाएको छ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजल, पेट्रोल र एलपी ग्यास आयात भएको छ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को साउनमा १४ अर्ब ६१ करोड ६२ लाख ६९ हजार रुपैयाँको डिजल, पेट्रोल र एलपी ग्यास आयात भएको थियो। गत वर्षको साउनमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य कम भएकाले मूल्यमा कम देखिएको हो।