काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत आर्थिक वर्ष २०७८/७९ मा कुल विनियोजित बजेटको ८०.६१ प्रतिशत खर्चिएको छ।
मन्त्रालयले आव २०७८/७९ मा सम्पादन भएका उपलब्धिहरु मंगलबार सार्वजनिक गर्दै सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुँजीगततर्फ एक अर्ब ९६ करोड ५१ लाख विनियोजन भएकोमा ६७.२५ प्रतिशत खर्च भएको जानकारी दिए। चालु र पुँजीगत गरी कुल विनियोजित बजेटको ८०.६१ प्रतिशत खर्च भएको उनले बताए। मन्त्रालय र अन्तर्गतका निकायहरुबाट गत आवमा ७ अर्ब ६० करोड ७२ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
मन्त्रालय र त्यस मातहत रहेका निकायहरुका लागि सरकारले गत आव २०७८/७९ मा कुल ७ अर्ब ५६ करोड ३७ लाख रुपैयाँ बिनियोजन भएको थियो। जसमध्ये चालू तर्फ ५ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ विनियोजन भएको थियो। त्यसमध्ये ८५.३ प्रतिशत खर्च भएको कार्कीले बताए।
यस्तै नागरिक एपलाई विस्तार गर्दै हाल ४५ वटा सेवाहरु त्यसमा जोडिएको उनले बताए। सरकारी निकायहरुले २० पैसामा एकीकृत एसएमएस गेटवेमार्फत् एसएमएस पठाउने व्यवस्था गरिएको उनले बताए। चालू आव सिंहदरबार भित्रका थप २० सरकारी निकायहरुमा यो प्रणाली लागू गर्ने गरी मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको छ।
सञ्चार मन्त्रालयले हुलाक सेवाको सुदृढीकरण गर्न त्यसको पुनर्संरचना गर्दै हुलाक प्रशासन इकमर्स लागू गर्ने प्रक्रिया अघि बढाएको छ। यस्तै, वर्षौंदेखि समस्यामा रहेको हुलाक बचत बैंकको समस्या समाधान गरी बचतकर्ताको बचत फिर्ता गर्ने प्रक्रिया सुरु गरिएको कार्कीले बताए।
मन्त्रालयले यसै आर्थिक वर्षदेखि सुरक्षण मुद्रण केन्द्रबाट सुरक्षण सामग्री छपाईको काम सुरु हुने दाबी मन्त्री कार्कीले गरे। देशका ७५३ स्थानीय तहमध्ये ७३५ स्थानीय तहमा फोरजी सेवा विस्तार भइसकेको उनले बताए। गत आवमा १६४२ किलोमिटर अप्टिकल फाइबर विस्तार भएर हालसम्म १२ हजार २२४ किलोमिटरमा अप्टिकल फाइबर विस्तार भइसकेको उनले जानकारी दिए।