काठमाडौं। चलायमान भएको पर्यटकीय गतिविधिका कारण सोल्टी होटल लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म होटलले ३० करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। पोहोर असारसम्म होटल २२ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा थियो।
कोरोनाको प्रकोप कम हुँदै गएपछि मुलुकमा बाहिरी पर्यटकको आगमन तिव्र छ। संगै सभा समारोह जस्ता क्रियाकलापले पनि बढ्दा होटलको व्यवसाय बढेर गएको हो। होटलको आम्दानीमा उत्साहजनक प्रगति देखिन्छ।
गत आर्थिक वर्षको अन्त्यसम्म होटलले एक अर्ब ३७ करोड रुपैयाँ बराबरको व्यसाय गर्न सफल रह्यो। जुन पोहोर असार मसान्तमा ४५ करोड रुपैयाँमा सिमित थियो।
आम्दानीसँगै खर्चले पनि तीव्रता पाएको देखिन्छ। कुल एक अर्ब रुपैयाँ विभिद खर्चका शिर्षकमा राखेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म होटलले कर्मचारीको सेवा सुविधामा सर्वाधिक खर्चेको हो। ३३ करोड ७४ लाख रुपैयाँ कर्मचारीको सेवा सुविधामा खर्च भएको छ।
गत आर्थिक वर्ष होटलका कर्मचारीहरुले स्वइच्छा अवकाश लिंदा अवकाश सम्बन्धि सेवा सुविधाले खर्चको आकार बढेको होटलले जनाएको छ। कुल खर्चको ३२ प्रतिशत कर्मचारी सेवा सुविधामा खर्च भएको छ।
यस्तै, खाद्यान र पेय पदार्थको खपत पनि शत प्रतिशत बढेको हो। होटल संचालनमा पनि सोहि अनुपातले खर्च बढेको छ।
२०७५/७६ यताको लाभांश बाढ्न असक्षम रहेको कम्पनीको अवितरित नाफा कोष समेत ५१ प्रतिशत बढेको छ। ८९ करोड १२ लाख रुपैयाँ अवितरित नाफा तथा जगेडा कोषमा संचित देखिन्छ। सो अवधिमा होटलको चुक्ता पुँजी ८४ करोड २५ लाख रुपैयाँ छ।
खुद नाफा बढेपछि कम्पनीको प्रति सेयर आम्दानी पनि धनात्मक देखिन्छ। पोहोर असारमा २.६७ रुपैयाँ प्रति कित्ता ऋणात्मक रहेको कम्पनीको सेयर अहिले ३.५८ रुपैयाँ धनात्माक भएको हो। यस्तै, १७ रुपैयाँ रहेको प्रति सेयर नेटवर्थ २०.५८ रुपैयाँ कायम हुन पुगेको हो।