BIZMANDU
www.bizmandu.com

जनकपुर भन्सार कार्यालयमा लक्ष्यको आधामात्रै राजस्व उठ्यो, किन भएन सोचेअनुसार संकलन?

२०७९ साउन २७

जनकपुर। जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ।

Tata
GBIME
Nepal Life

सो कार्यालयले आव २०७८/७९ मा रु ४८ करोड ५५ लाख ९२ हजार राजस्व संकलनको लक्ष्य लिएकामा ५४.३० प्रतिशत अर्थात रु २६ करोड ३६ लाख ७९ हजार राजस्व संकलन गरेको छ।

जनकपुर भन्सार कार्यालयका प्रमुख प्रमोद दासका अनुसार आव २०७८/७९ मा भन्सार महसुलतर्फ १६ करोड १७ लाख ७७ हजार, मूल्य अभिवृद्धि करतर्फ ९ करोड ७४ लाख ५९ हजार, अन्तःशुल्क ३७ लाख २७ हजार र बोलपत्र आयाततर्फ ७ लाख १५ हजार राजस्व संकलन गरेको छ।

आव २०७७/७८ मा लक्ष्यको ८८.३३ प्रतिशत राजस्व संकलन भएको थियो। आव २०७७/७८ मा ५३ करोड ५१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ४४ करोड ५९ लाख ७१ हजार संकलन भएको थियो।

भन्सार कार्यालयका अनुसार आव २०७७/७८ मा भन्सार महसुलतर्फ २१ करोड ७७ लाख ८२ हजार, मूल्य अभिवृद्धि करतर्फ २२ करोड ३३ लाख ८ हजार, अन्तःशुल्क ३० लाख ६२ हजार र सडक निकासी दस्तुरतर्फ १८ लाख १८ हजार राजस्व संकलन भएको थियो।

थुप्रै सामान आयातमा लगाएको प्रतिबन्ध, बैंकिङ माध्यमबाट कारोबार गर्नुपर्ने व्यवस्था, बाटोको समस्या, कोरोना महामारी, खुल्ला सिमाना, स्थानीय तहको निर्वाचन लगायतका कारणले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकिएको कार्यालय प्रमुख दासले बताए।  

जिल्लामा एउटा मुख्य भन्सार र ६ वटा छोटी भन्सार कार्यालय छन्। जटही, इनर्वा र अररियामा छोटी भन्सार मात्र सञ्चालनमा छन् । खजुरी, महुवा र महिनाथपुरस्थित छोटी भन्सार हाल बन्द रहेको कार्यालयले जनाएको छ।