BIZMANDU
www.bizmandu.com

बैंकमा निक्षेप अभाव तर बाटोमा दैनिक लाखौं रकमसहित पक्राउ पर्दै, अनौपचारिक अर्थतन्त्र मौलाउँदै


बैंकमा निक्षेप अभाव तर बाटोमा दैनिक लाखौं रकमसहित पक्राउ पर्दै, अनौपचारिक अर्थतन्त्र मौलाउँदै
बैंकमा निक्षेप अभाव तर बाटोमा दैनिक लाखौं रकमसहित पक्राउ पर्दै, अनौपचारिक अर्थतन्त्र मौलाउँदै

काठमाडौं। रुपन्देहीको सिद्धार्थ नगरपालिका-१ बाइपासबाट साउन १५ गते १५ लाख ५० हजार रुपैयाँसहित भारत घर भएका ४६ वर्षीय आशिष साहुलाई नियन्त्रण गर्‍यो।

Tata
GBIME
Nepal Life

दिउँसोको समयमा लु ६ प ७१२९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहुको साथबाट नगद फेला पारेको थियो। उनले आफूसँग रहेको रकमको स्रोत खुलाउन सकेनन्। त्यसपछि प्रहरीले आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझायो।

रुपन्देहीबाट करिब २५० किलोमिटरको दुरीमा रहेको वीरगन्जमा साउन ४ गते अर्का युवक यसरी नै समातिए। घटनाको प्रकृति उस्तै उस्तै थियो। पूर्वी चम्पाकरणबाट आएका २४ वर्षीय राकेशकुमारलाई प्रहरीले बीआर ०५ एन ०२३८ नम्बरको मोटरसाइकल सहित समात्यो। उनले चलाएको मोटरसाइकको सिटमुनि र पेट्रोलको ट्यांकीबाट ४१ लाख ५५ हजार रुपैयाँ फेला पर्‍यो। तर उनले पनि आफ्नो रकमको स्रोत खुलाउन सकेनन्। फेरी प्रहरीले उनी प्रक्रियामा राजस्व अनुसन्धानमा बुझायो।

वीरगंजबाट करिब सय किलोमिटरको दुरीमा पर्ने सर्लाहीमा असार ३० गते यस्तै घटना दोहोरियो। सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीबाट स्रोत नखुलेको नगद ५ लाख ११ हजार ५ सय रुपैयाँ सहित एक भारतीय नागरिक पक्राउ परे।

भारत सीतामढी थाना कन्हौली ग्राम पंचायत रामनगरा-११ बस्ने ३० वर्षीय विजय ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतको सोनवर्षाबाट नेपालको मलंगवा बजारतर्फ आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा हेलमेटभित्र लुकाई राखेको अवस्थामा नगद फेला पारेको थियो।

माथिका तीन घटना २० दिनको अवधिमा भएका हुन्। तीन वटै घटनाको प्रकृति एउटै देखिन्छ। तीन वटै घटनामा भारतबाट नेपाल स्रोत नखुलेको रकम भित्रिएको देखिन्छ। यसरी रकम भित्र्याउन भारतीय नागरिक प्रयोग भएको छ।

यसरी भित्रिने पैसाको परिमाण ५ देखि ५० लाखसम्म देखिन्छ। अर्थात मोटरसाइकल र मानिसको शरीरमा लुकाउन मिल्ने सम्मको रकम हो। तर यसरी पक्राउ परेका व्यक्तिले नत स्रोत खुलाउँछन् नत सम्पत्तिको वास्तविक मालिक नै। अर्थात यसरी रकम बोकेर हिँड्ने मानिस भरिया मात्र भएको अनुसन्धानमा खुल्छ।

पछिल्ला केही महिनादेखि स्रोत नखुलेको पैसासहित पक्राउ परेको घटनाले अनौपचारिक अर्थतन्त्र मौलाएको संकेत गर्छ। र, यो डरलाग्दो रुपमा विस्तारित भइरहेको देखिन्छ। यो घट्नालाई अहिलेसम्म उच्च तहबाट अनुसन्धान भएको छैन। सामान्य रुपमा प्रहरीले समात्ने र राजस्व अनुसन्धानमा पठाउने काम मात्रै भइरहेको छ। 'दैनिक लाखौ नगदसहित पक्राउ पर्नु अर्थतन्त्रका लागि खतरनाक विषय हो। यसलाई सामान्य रुपमा हेर्न मिल्दैन,' अर्थमन्त्रालयका एक अधिकारीले बिजमाण्डूसँग भने, 'अवैध व्यापार फष्टाएका बेलामा यसरी नगदसहित मान्छे पक्राउ पर्छन्। यसमा उच्च तहबाटै अनुसन्धान हुन आवश्यक छ।'

सरकारले विदेशी मुद्रामा चाप पर्न थालेपछि केही वस्तुमा शतप्रतिशत मार्जिन र केही वस्तुको आयातमा प्रतिवन्ध लगाएको छ। यो प्रतिवन्धका बाबजुद पनि ती वस्तुहरु नेपालभरि सजिलै पाइएको छ। त्यो भनेको अवैध रुपमा ती वस्तु नेपाल भित्रिएका छन्। अवैध रुपमा भित्रिएका वस्तुको कारोबार नगदमा हुने गर्छ। त्यही रकम निश्चित भरिया प्रयोग गरेर नेपाल भित्र्याउने क्रममा पक्राउ पर्ने गरेको स्रोत बताउँछ। 'यो त प्रहरीको निगरानीबाट समातिएका घटना हुन्। प्रहरीको निगरानी नपरेका कति पैसा आएको होला,' ती अधिकारीले भने।

के भन्छन् प्रहरी ?

मधेश प्रदेश प्रहरी कार्यालयका एसएसपी योगेन्द्रबहादुर पाल स्रोत नखुलेको पैसा ठूलो मात्रामा भित्रिएको स्वीकार गर्छन्। 'उनीहरूले अर्को मानिस खुलाउँदैनन्। अनि व्यापारको लागि पनि केही रकमको लोभले अवैध तरिकाले ठुलो मात्रमा भारतबाट नेपालमा पैसा भित्रिएको देखिन्छ,' पालले भने।

यसरी बरामद भएको मुद्रासहित प्रहरीले पक्राउ परेका व्यक्तिलाई राजस्व अनुसन्धान विभाग वा सम्पत्ति शुद्धीकरण विभागमा पठाउँछ। व्यक्ति सम्बन्धित केसहरू प्रायजसो सम्पत्ति शुद्धीकरण विभागमा जाने गरेको छ। कुनै पनि संस्था वा फर्मको केस भने राजस्व अनुसन्धान विभागले हेर्छ। स्रोत नखुलेका धेरै रकम सम्पत्ति शुद्धीकरण विभागले हेर्ने गर्छ।

भारतमा प्रतिबन्ध लगाएका ५ सय र २ हजारको नोट पनि नेपालमा ल्याउन पाइँदैन। तर अहिलेसम्म ठुलो मात्रमा यस्ता भारतीय रकम भने नभित्रिएको राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख कृष्ण पाण्डेले बताए।

'म यस कार्यालयमा आएको तीन महिना भयो। अहिलेसम्म भारतीय नोट नै लिएर चाहिँ आएको केस छैन। तर व्यक्तिले ल्याउने स्रोत नखुलेका रकमको प्रहरीले जानकारी दिइरहेको हुन्छ। हामीले फर्मको मात्र स्रोत नखुलेको घटना मात्र अनुसन्धान गर्छौँ,' कार्यालय प्रमुख पाण्डेले भने।

काठमाडौं उपत्यकाभित्र पनि लाखौं रकम भेटिन्छ

बुधबार काठमाडौंको तीनचुलीबाट यस्तै लाखौ रकम सहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लियो। काठमाडौं महानगरपालिका-६ तीनचुली बगला मार्ग बस्ने गोरखा चुम नुब्री गाउँपालिका-१ घर भएका २४ वर्षीय धावा घ्याल्चेनलाई स्रोत नखुलेको ४९ लाख ५० हजार ५० रुपैयाँसहित दिउँसो प्रहरीले पक्राउ गरेको थियो।

काठमाडौं महानगरपालिका-६ भृकुटी चोकबाट बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा आएका घ्याल्चेनलाई स्रोत नखुलेको नगद ३२ लाख ५० रुपैयाँ सहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनको डेरा कोठाबाट थप १७ लाख ५० हजार रुपैयाँ फेला पारेको प्रहरीले जानकारी दिएको छ।

उनले पनि आफ्नो रकमको स्रोत खुलाउन सकेनन्।

जेठ २४ गते नुवाकोटबाट काठमाडौँतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगामा रोकेर चेक गर्‍यो। गाडीमा चार जना चिनियाँ नागरिक थिए। गाडी भने नुवाकोट विदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङले चलाएका थिए।

प्रहरीले कारको डिकी खोलेर हेर्दा त्यसभित्र प्लास्टिकको दुई वटा सेतो बोरा भेटियो। र, त्यसमा नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रुपैयाँ भेटिएको प्रहरीको दाबी रहेको छ। तत्कालै प्रहरीले चार जना चिनियाँ नागरिक र चालक गुरुङलाई नियन्त्रणमा लिएको थियो।

तीन घण्टा बढी लगाएर प्रहरीले बरामद भएको नोट गन्यो। एक हजार दरका ३६ हजार ४ सय १३ थान नोट थिए। बाँकी पाँच सय, एक सय, २० को नोट पनि भेटिएको थियो। जम्मा ३ करोड ८९ लाख १३ हजार ७ सय २० रुपैयाँ भेटियो।

उनीहरू कसरी नुवाकोट आइपुगे ? त्यहाँबाट धादिङ हुँदै काठमाडौं भित्र यतिका धेरै पैसा बोकेर किन आए ? यसको जवाफ अझै अनुत्तरित नै छ। यो पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। अहिलेसम्म अनुसन्धानमा नै रहेको विभागका सूचना अधिकारी ऋषिराम पोखरेलले बताए। अघिल्ला घटना अनुसार यसरी आएको रकम अवैध सुनको किनबेच, हुन्डी र अन्य अवैध कारोबारमा प्रयोग भएको देखिएको छ।

'धेरै घटनामा वास्तविक धनीसम्म नै पुग्न सकिदैंन। त्यसैले गर्दा भरियाबाट घटनाको चेन ब्रेक नै हुँदैन,' सूचना अधिकारी पोखरेलले भने।

२०७७ पुस २० ३० वर्षीय अमितकुमार गुप्ता चालकसहित नागढुङ्गाबाट समातिए। भारतको गोरखपुर घण्टाघरका गुप्तालाई काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित नागढुङ्गा चेक प्वाइन्टमै समातेको थियो।

गुप्ता चढेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको सिल्भर कलरको गाडीभित्र रकम फेला परेको थियो। उनी कपिलवस्तुबाट कारमा काठमाडौं आउँदै थिए। कारको डिकीमा स्पेयर टायरमुनि लुकाइएको तीन वटा कालो रङका झोलामा १ करोड ४७ लाख रुपैयाँ भेटिएको थियो। सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्दा उनीहरू नेपालमा सुन किन्न रकम लिएर आएको खुल्यो। विभागले विशेष अदालतमा २ करोड ९२ लाख रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरेको थियो।

पछिल्लो समय बैङ्कमा निक्षेपको अभाव नै देखिन्छ। तर यसरी बाटोघाटोमा लाखै रकम लिएर अवैध कारोबार भने भइरहेको छ।

प्रत्येक वर्ष बढ्दै अवैध मुद्रा बरामद

आर्थिक वर्षको २०७८/७९ को पहिलो पाँच महिनामा प्रहरीले देशभरबाट स्रोत नखुलेको ५ करोड ८७ लाख ५५ हजार ५ सय ६७ रुपैयाँ बरामद गरेको थियो। अघिल्लो आर्थिक वर्षको पाँच महिनासँग तुलना गर्दा २ सय ९२ प्रतिशतले बरामद रकम बढेको देखिएको थियो।

आर्थिक वर्ष २०७८/७९ मा देशभर प्रहरीको विभिन्न इकाइबाट ९ करोड ७० लाख ३२ हजार रुपैयाँ बरामद भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ३ करोड रुपैयाँले बृद्दी भएको हो।

नेपाल प्रहरीले मात्र आर्थिक वर्ष २०७७/७८ मा अवैध अर्थात् स्रोत नखुलेको ७ करोड १ लाख ३५ हजार ९ सय ४४ रुपैयाँ बरामद गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा झन्डै ७ सय ६ प्रतिशतले बढेको थियो। आर्थिक वर्ष २०७६/७७ मा देशभर ५ करोड ७६ लाख ५९ हजार रुपैयाँ बरामद भएको नेपाल प्रहरीका डिआइजी टेकबहादुर राईले जानकारी दिए।