BIZMANDU
www.bizmandu.com

६९ करोड रुपैयाँको खराब कर्जा उठेपछि राष्ट्रिय वाणिज्य बैंकको नाफामा छलाङ, नाफा ५ अर्ब कट्यो 

२०७९ साउन २०

काठमाडौँ। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ५ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३७.३८ प्रतिशतको वृद्धि हो। पोहोर असारमा बैंकको नाफा ३ अर्ब ७९ करोड थियो। 

Tata
GBIME
Nepal Life

कर्जा जोखिमका लागि छुट्याएको ६८ करोड ६८ लाख रुपैयाँ रिभर्स भएपछि  बैंकको नाफाले छलांग मार्यो। सो अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ६६ करोड रुपैयाँ छ। पोहोर असारभन्दा यो १७.२९ प्रतिशतको वृद्धि हो। बैंकको फि कमिसन भने घटेको छ। 

बैंकको कर्जा विस्तार १९ प्रतिशतभन्दा बढी बढेको छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म २ खर्ब १२ अर्ब रुपैयाँ ऋण दियो। सो अवधिमा बैंकसँग ग्राहकहरुको २ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप छ। निक्षेपमा भने थोरै गिरावट छ।         

बैंकसँग उपलब्ध वितारणयोग्य मुनाफा भने उल्लेख्य रुपमा घटेको छ। हाल बैंकसँग ३ अर्ब ३ करोड रुपैयाँ वितरण योग्य नाफा छ। पोहोर असारमा साढे ४ अर्ब रुपैयाँभन्दा धेरै थियो। नाफा ३३ प्रतिशत घटेको हो। 

खुद नाफा फराकिलो अन्तरले बढेपनि बैंकको प्रति सेयर आम्दानी भने घटेको छ। २.३७ रुपैयाँ घट्दा प्रति सेयर आम्दानी ३४.९० रुपैयाँमा सीमित छ। 

बैंकको चुक्ता पुँजीमा ४६.६९ प्रतिशतको वृद्धि देखिन्छ। हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९४ करोड रुपैयाँ हो। बैंकसँग ३ अर्ब अवितरित नाफा छ। र जगेडा कोषमा १५ अर्ब ५१ करोड रुपैयाँ संचित छ।