BIZMANDU
www.bizmandu.com

नेपाल बंगलादेश बैंकलाई गाभेपछि नबिलको नाफा करिब ५ अर्ब, एनबिकाे कमाइ नाफामा देखाएन

२०७९ साउन २०

काठमाडौँ। नेपाल बंगलादेश बैंकलाई ४३ रुपैयाँमा गाभेको नबिल बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म ४ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको छ।
 
यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १० प्रतिशतको वृद्धि हो। पोहोर असार मसान्तसम्म बैंकको नाफा ४ अर्ब ५२ करोड रुपैयाँ थियो। याे नाफामा एनबि बैंककाे एक अर्ब २ कराेड रूपैयाँ देखाईएकाे छैन, जुन जगेडा काेषमा छ।
 
बैंकको वितरणयोग्य मुनाफा पनि उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकसँग ९ अर्ब १२ करोड रुपैयाँ वितरणयोग्य नाफा छ। पोहोर असारमा बैंकसँग ४ अर्ब १४ करोड रुपैयाँ थियो। १२० प्रतिशतको सुधार वितरणयोग्य नाफामा देखिन्छ।
 
सो अवधिमा १७ प्रतिशतको वृद्धि बैंकको खुद ब्याज आम्दानीमा देखिन्छ। बैंकले ९ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म ब्याज आम्दानी ८ अर्ब ७ करोड रुपैयाँ मात्र थियो।
 
७ प्रतिशतको वृद्धि बैंकको फि तथा कमिसन आम्दानीमा पनि छ। आम्दानीमा त्यति उत्साहजनक प्रगत नगरेको बैंकको ऋण बिस्तार भने एग्रेसिभ छ। पोहोर असारको तुलनामा ५२ प्रतिशत बढी कर्जा प्रवाह भएको छ।
 
गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ३ खर्ब १ अर्ब रुपैयाँ कर्जा दिएको छ। बैंकसँग हाल ग्राहकको कुल ३ अर्ब २६ अर्ब रुपैयाँ निक्षेप छ।
 
बैंकको कर्जा तीव्र रुपले बढे पनि जोखिम पूर्ण कर्जा भने घटेको देखियो। पोहोर ८२ करोड ७५ लाख रुपैयाँ कर्जा जोखिम व्यवस्थापनका लागि छुट्याएको नबिलले गत आर्थिक वर्षको लागि ७० करोड ३५ लाख रुपैयाँ मात्र छुट्याएको छ।
 
बैंकको निष्क्रिय कर्जाको अनुपात भने बढेर १.५४ प्रतिशत पुगेको छ।
 
गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको प्रति सेयर आम्दानी भने ६.७७ रुपैयाँ घटेर २६.८० रुपैयाँ कायम छ। खुद नाफाको अनुपातमा चुक्ता पुँजी धेरै बढ्दा इपिएस खुम्चिएको हो।
 
मर्जरका कारण बैंकसँग हाल २२ अर्ब ८३ करोड रुपैयाँको चुक्ता पुँजी छ। पोहोर असारको तुलनामा ६५ प्रतिशत चुक्ता पुँजी बढेको छ। बोनस र मर्जरले पुँजी यस्तो अनुपातमा बढेको हो।
 
मर्जरपछि बैंकको अवितरित नाफा ३ अर्ब ३७ करोड रुपैयाँ र जगेडा कोषको आकार २६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। बैंकको प्रति सेयर नेटवर्थ यस अवधिमा २३०.३७ रुपैयाँ छ।

Tata
GBIME
Nepal Life