BIZMANDU
www.bizmandu.com

वीरगञ्जमा पनि उद्योग विभाग, मधेश प्रदेश-औद्योगिक सम्मेलन, बारा-पर्सा उद्योग संघ गठन

२०७९ साउन १७

वीरगञ्जमा पनि उद्योग विभाग, मधेश प्रदेश-औद्योगिक सम्मेलन, बारा-पर्सा उद्योग संघ गठन
वीरगञ्जमा पनि उद्योग विभाग, मधेश प्रदेश-औद्योगिक सम्मेलन, बारा-पर्सा उद्योग संघ गठन


काठमाडौं। आर्थिक वृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी मधेश प्रदेशमा औद्योगिक सम्मेलन आयोजना गरिएको छ। मधेश प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र यूकेएड सीप परियोजनाको संयुक्त आयोजनामा औद्योगिक सम्मेलन आयोजना गरिएको हो।

Tata
GBIME
Nepal Life

सम्मेलनमा नेपाल उद्योग परिसंघले बारा-पर्सा उद्योग संघ गठन गरेको घोषणा गरेको छ। संघको अध्यक्ष वीरेन्द्र संघाई चयन भएका छन्। परिसंघले संगठन विस्तार गर्ने क्रममा बारा-पर्सा उद्योग संघ गठन गरेको हो।

बाराको सिमरामा आयोजित औद्योगिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले उद्योगमैत्री वातावरण नै प्रदेशको समृद्धिको मूल आधार भएको बताए।

उद्योगमैत्री वातावरण बिना प्रदेश वा देशको समृद्धिको परिकल्पना गर्न नसकिने उनले बताए।

उद्योगहरुको स्थापनादेखि संचालनसम्म उत्पन्न विभिन्न समस्यालाई समाधान गर्न प्रदेश सरकार एकद्वार प्रणालीमार्फत अघि बढेको भन्दै उनले वीरगंजमा उद्योग विभाग स्थापनाको निर्णय सरकारले गरेको जानकारी गराए।

उनले प्रदेशमा रोजगारी बढाउन उद्योगीहरुलाई आग्रह गरे। 'सबैभन्दा बढी मानव जनशक्ति विदेश जाने प्रदेशको रूपमा मधेश प्रदेश रहेको छ। यहाँका युवाहरुलाई उचित तालिमको व्यवस्था गरी स्वदेश मै रोजगारी उपलब्ध गराउन प्रदेश सरकारको योजनामा सहकार्य गर्न उद्योगीहरुलाई आग्रह गर्छ,' उनले भने।

सम्मेलनमा नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष सतीशकुमार मोरले मधेश प्रदेशका उद्योगीले अन्य प्रदेशमा बिजुली उत्पादन गरेर मधेश प्रदेशमा ल्याउन सक्ने बताए। त्यसका लागि पावर ग्रिडलगायतको व्यवस्था आवश्यक पर्ने बताए। उनले  अन्य प्रदेशका विद्युत उत्पादकसँग मधेश प्रदेशका उद्योगहरुले सोझै विद्युत खरिद गर्न पाउने गरी व्यवस्था मिलाउन आग्रह गरे। 

परिसंघका उपाध्यक्ष राजेश अग्रवालले समृद्धिका लागि निजी क्षेत्रसँग निरन्तर वार्ता, छलफल आवश्यक पर्ने बताए।

लगानीकर्तालाई लगानी ल्याउने, विस्तार गर्ने वातावरणमा सहजीकरण आवश्यक पर्ने भन्दै उनले निजी क्षेत्रलाई नयाँ कानून र नियमावलीको बारेमा जानकारी गराउनुपर्ने बताए।

'उत्पादन लागत घट्यो भने मात्रै नेपाली उद्योग स्वदेशी एवं अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन सक्छन्। पूर्वाधार विकासको महत्वपूर्ण आधार हुँदाहुँदै हाम्रा लागि यो ठूलो चुनौती पनि रहदै आएको छ। विशेष आर्थिक क्षेत्र र औद्योगिक करिडोरको लागि नयाँ अभियानले उद्योगहरूको लागत प्रतिस्पर्धी बन्न सहयोग गर्नेछ,' उनले भने।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पूर्वाधार विकासको महत्त्वपूर्ण आधार भएकाले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकता, नीतिगत लगायत सुधारका लागि सरकार एवं सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन परिसंघले नेपाल पूर्वाधार सम्मेलन आयोजना गर्दै आइरहेको बताए।

उनले आगामी भदौ २३ र २४ गते चौथो नेपाल पूर्वाधार सम्मेलन हुने जानकारी गराउँदै सम्मेलनमा भाग लिन मधेश प्रदेश सरकारसहित उद्योगी व्यवसायीहरुलाई आग्रह गरे। 

सम्मेलन उद्घाटनमा नेपालका लागी बेलायती राजदूत निकोला पोलिटले मधेश प्रदेशमा ठूलो आर्थिक सम्भावना रहेको बताए। यो सम्मेलन सार्वजनिक निजी संवाद र सहयोगको लागि महत्वपूर्ण प्लेटफर्म भएको उनको भनाइ थियो।

'आर्थिक विकासका लागि निजी क्षेत्रले सरकारसँग मिलेर काम गरिरहनु पनि उत्तिकै जरुरी छ। नेपाल उद्योग परिसंघले आर्थिक वृद्धिका लागि प्रान्तीय सरकारसँग मिलेर गरिरहेको काम प्रभावशाली छ,' उनले भनिन्। 

प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतो, नेपाल उद्योग परिसंघ मधेश प्रदेश संयोजक नरेश दास लगायतले आर्थिक विकास, निजी क्षेत्रका विषयमा मन्तव्य राखेका थिए।