BIZMANDU
www.bizmandu.com

८ सयमा वास्तविक सम्झौता गरेर एक हजारको पत्र बोक्दै श्रमिक, ठेकेदारमार्फत उद्योगमा कामदार

२०७९ साउन १६

काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउने बताएका छन्। 

Tata
GBIME
Nepal Life

सोमबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार र श्रम सम्बन्धी समस्याका विषयमा गरेको छलफलमा मन्त्री कुँवरले सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको सुरक्षा,पारिश्रम र काम गर्न जाने देशको कानून श्रमिकको हितमा भए/नभएको अध्ययन गरेर श्रम सम्झौता गर्ने वातावरण बनाउनुपर्ने बताए।

मन्त्री कुँवरले नेपालले सबैभन्दा पहिला शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई उद्यमसँग र उद्यमलाई रोजगारीसँग जोड्नसके मात्रै श्रम क्षेत्रलाई व्यवस्थित गर्नसक्ने दाबी गरे। उनले नेपाली श्रमिक विदेशमा कुनै सिप क्षमता बिना वैदेशिक रोजगारीमा गइरहेको भन्दै वैदेशिक रोजगारीमा जाने नेपालीले सिप र क्षमता विकास गर्न आवश्यक रहेको बताए।

मन्त्री कुँवरले वैदेशिक रोजगारीमा जानुभन्दा पहिला तलव सुविधामा सम्झौता गर्ने र हवाइ जहाज चढेपछि सम्झौता च्यात्ने प्रवृतिले नेपाली मजदुर ठगिएको भन्दै सरकारले त्यस्तो कार्य रोक्ने बताए। उनले सरकारले वैदेशिक रोजागारमा जाने मजदुरको श्रमलाई मर्यादित बनाउने बताए।

मन्त्री कुँवरले नेपालको वैदेशिक रोजगारीमा जाने प्रक्रिया लामो भएको गुनासो आएकाले लामो प्रक्रियालाई सहज बनाउन मन्त्रालय समयानुकुल ऐन कानूनहरु परिमार्जन गर्ने तयारीमा रहेको बताए।

‘अहिले वैदेशिक रोजगारीमा जानुभन्दा पहिला एउटा तलव सुविधामा सम्झौता गर्ने र हवाइ जहाज चढेपछि सम्झौता च्यात्ने प्रवृति रहेको छ। नेपालमा १ हजारको सम्झौता गरिएको छ। तर वास्तविक सम्झौता ८ सयमा गरिएको हुन्छ। यसबाट नेपाली श्रमीकहरु ठगिएका छन्,' मन्त्रीले भने।

सांसद सरिताकुमारी गिरीले हरेक उद्योगहरुमा काम गर्ने मजदुर ठेकदारमार्फत काम गरिरहेको बताइन्। उनले उद्योगमा काम गर्ने मजदुर भएपनि पैसा ठेकदारले लिने र परिश्रम गर्नेलाई ठेकेदारले नै दिने गरिएको बताइन्।