BIZMANDU
www.bizmandu.com

पौने ५ करोड बक्यौता तिर्न आनाकानी गरेपछि क्यानले नेकोन संचालकको राहदानी रोक्का अघि बढायो

२०७९ साउन १५

पौने ५ करोड बक्यौता तिर्न आनाकानी गरेपछि क्यानले नेकोन संचालकको राहदानी रोक्का अघि बढायो
पौने ५ करोड बक्यौता तिर्न आनाकानी गरेपछि क्यानले नेकोन संचालकको राहदानी रोक्का अघि बढायो

काठमाडौं। वक्यौता तिर्न अटेर गरेको भन्दै नागरिक उड्डयन प्राधिकारणले नेकोन एयरका संचालकको राहदानी रोक्का गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

यो कारवाही प्रक्रियाका लागि केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको प्राधिकरण स्रोतले बतायो।

'हामीले कम्पनीलाई पटक पटक पत्राचार गर्दा पनि सेवा शुल्कवापतको रकम बुझाउन आनाकानी गरिरहेको देखियो। यसैले हामीले कारवाही अघि बढाउन कम्पनीका संचालकहरुको राहदानी जफतका लागि उड्डयन मन्त्रालयमा प्रकृया सुरु गरेका हौं,' उनले भने।

तत्कालिन नेकोन एयरको अध्यक्ष तथा प्रबन्ध सञ्चालक दीपमणि राजभण्डारी रहेका छन् भने अन्य सञ्चालकहरुमा दीपकराज कोइराला, रवीन्द्र श्रेष्ठ, मृगेन्द्र श्रेष्ठ र रविचन्द्रमान श्रेष्ठ छन्। संचालकमध्ये रविन्द्रमान श्रेष्ठको विवरण भने पत्ता लाग्नै बाँकी रहेको स्रोतले बतायो।

प्राधिकरणले यसअघि कारवाहीस्वरुप कम्पनी संचालकको बैंक खाता रोक्का गरिसकेको छ। 'संचालकमध्येका दिपक कोइराला सम्पर्कमा आएका छन्। उनले आफ्नो दायित्व अनुसारको रकम तिर्नका लागि चासो देखाएका छन्। त्यो कामकारवाही अगाडि बढाउन पनि सबै संचालक सम्पर्कमा आउनुपर्ने हुन्छ,' उनले भने।

नेकोनले प्राधिकरणलाई सेवा शुल्कवापत कुल चार करोड ७२ लाख रुपैयाँ तिर्न बाँकी देखिएको छ।

२०४८ सालबाट आन्तरिक उडान सेवा थालेको नेकोन एयर १३ वर्षपछि बन्द भएको थियो। त्यसबेला कम्पनीको सम्पूर्ण कारोबार बन्द गरेर सञ्चालकहरु हराएका थिए।

कम्पनीको सेयर किनेका लगानीकर्ताहरु, ऋण दिने बैंक तथा वित्तीय संस्था, इन्धन दिने नेपाल आयल निगम, टिकट बिक्री गर्ने ट्राभल एजेन्सी, विमानस्थल प्रयोग गर्न दिने नेपाल नागरिक उड्डयन प्राधिकरण लगायत सबैलाई तिर्नुपर्ने पैसा बाँकी नै राखेर २०६१ पछि नेकोन सञ्चालकहरु  बेपत्ता भएका थिए।

यसैगरी, ५५ लाख ५१ हजार रुपैयाँ बक्यौता रहेको शिवानी एयर केही दिनअघि बक्यौता तिर्नका लागि सम्पर्कमा आएको प्राधिकरणले जनाएको छ। यो कम्पनीले तत्काल १० लाख रुपैयाँ तिर्ने प्रतिवद्धता गरेको स्रोतको भनाइ छ।

'यो कम्पनीले पुनः फ्लाइङ स्कुल संचालनमा ल्याउने जानकारी प्राप्त भएको छ। केही दिनअघि मात्र कम्पनीले तत्काल १० लाख रुपैयाँ तिर्ने जनाएको थियो। अब रकम बुझाउन आउने कम्पनीको खातै रोक्का गर्न पनि भएन,' उनले भने।

हाल यो कम्पनीको तीनवटा अल्ट्रा लाइट प्राधिकरणकै मातहतमा रहेको जनाइएको छ। शिवानी एयरको सञ्चालकमा मणीन्द्रलाल रञ्जितकार हुन्।

सेवा शुल्कवापतको बक्यौता रकम नतिर्ने वायुसेवा कम्पनीको बैंक खाता रोक्कादेखि सञ्चालकहरुको राहदानीसम्म जफत गर्ने सूचना निकालेपछि बक्यौता तिर्न बाँकी अधिकांश कम्पनीले धमाधम बक्यौता चुक्ता गर्न थालेका थिए।

नेकोन एयर, शिवानी, गोरखा, माउन्टेन, कस्मिक, स्काइलाइन एयरवेज, एयर काष्ठमाण्डप लगायतको नाममा क्यानले उक्त सूचना निकालेको थियो। यीमध्ये गोरखा, माउन्टेन, स्काइलाइन एयरवेज, एयर काष्ठमाण्डप लगायतका वायुसेवा कम्पनीहरुले बक्यौता तिरिसकेको जनाइएको छ।

तीन महिनाअघि क्यानले सेवा शुल्कवापतको बक्यौता रकम नतिर्ने बन्द वायुसेवा कम्पनीका सञ्चालकहरुको बैंक खाता रोक्कादेखि पासपोर्ट जफत गर्नेसम्मको कारवाहीको सूचना जारी भएको थियो।