BIZMANDU
www.bizmandu.com

अफसिजनले नेपाल-भारत उडानमा घट्यो यात्रु चाप, न्युन मागले हवाई भाडा झन्डै पाँच गुणासम्म घट्यो


काठमाडौं। पर्यटकीय सिजन सकिँदै गएसँगै पछिल्लो समय नेपाल-भारत नियमित उडान गर्दै आएका प्रायः सबै  वायुसेवाहरुको सेवामा यात्रु माग घट्न थालेको छ। सिजनको बेला थेगिनसक्नु यात्रु चाप हुँदा टिकट दर अत्याधिक बढाएर बिजनेस इन्जोए गरेका वायुसेवा कम्पनीहरु यतिबेला भने न्युन अकुपेन्सी सामना गरिरहेका छन्। 

Tata
GBIME
Nepal Life

यात्रु माग अचाक्ली हुँदा सेवा दिन भ्याइनभ्याइ अन्तर्राष्ट्रिय उडानमा यतिखेर माग घट्न थालेको वायुसेवा कम्पनीले जनाएका छन्।

वर्षाका कारण घुमघामका लागि आउजाउ गर्नेको संख्या कम भएका कारण यात्रुको माग घट्दै गएको नेपाल वायुसेवा निगम, एयर इण्डिया, इण्डिगो, भिस्तारा लगायत नेपाल-भारत उडान गर्दै आएका वायुसेवा कम्पनीले जनाएका छन्। 

उडान माग कम भएसँगै भारतको बजेट एयरलाइन्स इण्डिगो एयरले काठमाडौं-मुम्बाईतर्फको नियमित उडान दुई महिनाका लागि स्थगित नै गरेको छ। यतिखेर यात्रु माग कम भएसँगै कम्पनीले उक्त रुटतर्फको उडान दुई महिनाका लागि बन्द गरेको इण्डिगोको आधिकारीक जिएसए प्रेससिडेन्ट ट्राभलले जनाएको छ।

यात्रु माग कम भएकै कारण कम्पनीले साताको तीनवटा गर्दै आएको यो गन्तब्यको उडान केही समयका लागि बन्द गरेको हो। कम्पनीले काठमाडौं-मुम्बाई उडान आउँदो अक्टोबरबाट मात्र पुनः सुरु गर्ने योजना बनाएको छ।

यो रुटमा यसअघि शतप्रतिशत अकुपेन्सी रहेको अवस्थाबाट ८० प्रतिशतमा झर्दै यात्रु चाप कम भएको थियो। वायुसेवाले साताको ११ वटा उडान गर्दै आएको हो।

'सिजनको तुलनामा यतिखेर यात्रु माग कमकमै छ। योसँगै  प्रतिफल पनि घटेको छ। वर्षा सुरु भएसँगै यात्रुको माग घट्दै गएको छ। सिजनको समयमा टिकट पुर्‍याउनै मुस्किल हुन्थ्यो। योबेला माग घट्दा टिकटको समस्या छैन,' नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्।

यात्रु चाप घटेसँगै नेपाल-भारत विभिन्न हवाई रुटको भाडा समेत सस्तिएको छ। कुनैबेला माग अत्याधिक हुँदा एकतर्फी भाडा नै ५२ हजार रुपैयाँ पुगेको काठमाडौं-दिल्ली हवाई भाडा अहिले ११ हजार रुपैयाँसम्म झरेको छ।

निगमकै भाडा पनि यतिखेर काठमाडौं-दिल्लीतर्फका लागि ११ हजार रुपैयाँमा आइपुगेको निगमले जनाएको छ। यस्तै, काठमाडौं-बैंगलोरको भाडा पनि १४ हजार रुपैयाँसम्म ओर्लिएको निगमले जानकारी दिएको छ। निगमले हाल काठमाडौंबाट दिल्ली र बैंगलोरमा साताको १४ वटा उडान गर्दै आएको छ।

यतिसम्म कि, यात्रुको माग कम भएसँगै कहिलेकाहिँ उडान मर्ज समेत हुँदै आएको प्रवक्ता खड्काले जानकारी दिइन्। दुई साताअघिको तुलनामा यात्रुमा घट्दै गएको काठमाडौंस्थित एयर इण्डियाको कार्यालयले जनाएको छ। हाल कम्पनीले काठमाडौं-दिल्ली साताको सातैवटा उडान गर्दै आएको छ भने काठमाडौं-कोलकाता साताको चारवटा गरी साताको कुल ११ वटा उडान गर्दै आएको छ।

अहिले नेपालबाट भारतका विभिन्न रुटको तुलनामा भारतबाट काठमाडौंतर्फ भने यात्रु माग तुलनात्मक रुपमा धेरै रहेको भिस्तारा एयरलाइन्सले जनाएको छ।

'अहिले डिमाण्ड नै कम छ। यो गन्तब्यमा सबै वायुसेवा कम्पनीमा यात्रु माग कम भएको अवस्था हो। तर भारत-नेपाल आउने यात्रुको माग भने ठिकै रहेको छ,' नेपालका लागि भिस्तारको जीएसए ट्राभल राइटका सीईओ निरज रिमालले भने। कम्पनीले हाल एयरबस ३२१ सिरीजको जहाजमार्फत साताको सातवटा उडान गर्दै आएको उनले बताए।