BIZMANDU
www.bizmandu.com

रोपाईं सकिएपछि रोजगारीका लागि धमाधम भारत फर्किन थाले नेपालीहरु

२०७९ साउन १२

काठमाडौं। नेपाल-भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ। असारे खेतीबाली सकेर परिवारको आश्यकता पूरा गर्न दैनिक हजारौँ संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेको छ।

Tata
GBIME
NLIC

धान रोपाईं गरेर नेपालीहरु अयआर्जनका लागि दैनिक सयौँको संख्यामा भारत जाने गरेका छन्। धान रोपाईं गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पएपनि उचित पारिश्रमिक नपाउने कारणले दैनिक नेपालीहरु भारत जान बाध्य भएका हुन्।

नेपाल भन्दा सहज र ज्याला पनि बढी भएको कारण भारत जाने नेपालीहरुको संख्या बढेको छ। पहाडी भेगमा काम पाएपनि दैनिक जोहो गर्न ज्याला नभएको जाजरकोटका शेर बहादुर शहीले बताए। उनले आफ्नो गाउँमा भनेको जस्तो काम नपाउने र पाएको कामले परिवार पाल्न नै गाह्रो भएकोले केही कमाउन सकिन्छ कि भनेर भारत जान लागेको बताए।

पहिल्यैदेखि भारतको सिमलामा काम गर्दै आएका रामबहादुर बिक जेठ महिनामा खेती लगाउनका लागि घर फर्किएका थिए। तर, उनलाई भारतमै काम गर्न सहज भएको कारणले पुनः कामका लागि भारत फर्कन लागेको उनले बताए।

भारतमा आफूले गरेको कामअनुसार पारिश्रमिक पाउने भएका कारण भारत रोजगारीका लागि जान लागेको कालिकोटका नागरिकले बताए। त्यस्तै, भारत जान लागेका सुर्खेतका सुरज विकले परिवार पाल्नका लागि नेपालमा गरेको कामले गुजारा नचल्ने भएपछि भारत जान लागेको बताए।

पछिल्लो समय नेपालका पहाडी जिल्लामा धान रोपाईंको काम लगभग सकिएको छ। भारतमा रोजगारीका लागि पुगेका नेपालीहरु वर्षायामको काम गर्न स्वदेश फर्किए पनि अब बिस्तारै पुनः रोजगारीका लागि भारत नै जान लागेका हुन्।

सुदूरपश्चिमका नेपाल-भारत सीमानाकामा धेरै श्रमिकहरु भारत जाने गरेको पछिल्लो तथ्यांकले देखाएको छ। अहिले दैनिक सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि भारत जाने गरेका हुन्।

नेपालमा काम गरेअनुरुपको पारिश्रमिक नपाउनु र काम गरेको पारिश्रमिकबाट घरपरिवारको गुजारा चलाउन नसक्नु उनीहरुका लागि पीडाको विषय बनेको छ। अधिकांश रोजगारीका लागि भारत पलायन भएका नेपाली नागरिकहरु नेपालमा गरेको कामको पनि उचित पारिश्रमिक नपाएकै कारण भारत कामका लागि जाने गरेको बताउँछन्।