नेपाल अरब बैंक लिमिटेडका रूपमा आएको नबिल निजी क्षेत्रको पहिलो संयुक्त विदेशी लगानीको बैंक थियो। त्यसकारण सर्वसाधारणहरु सुरुवातमा बैंकप्रति पूर्ण विश्वस्त देखिएनन्। मलाई मेरा अग्रजहरुले के सुनाउनुभएको थियो भने मानिसहरु बैंकले आफ्नो निक्षेप बटुलेर भाग्ला भन्नेसम्मको आशंका गर्थे।
यसैगरी नबिलले नेपालका चेलीबेटी लगेर खाडी मुलुकहरुमा बेचबिखन गर्छ भन्नेसम्मको अनर्गल अफवाह फैलाइएको थियो। नेपाल अरब बैंक भनिएकै कारण सर्वसाधारणमाझ यस्तो हल्ला फैलिएको रहेछ। पछि अरब भन्ने शब्द बैंकको नामबाटै हटेपनि सन् २००४ मा इराकमा १२ जना नेपालीको हत्या भएको घटनापछि कान्तिपथस्थित नबिलको प्रमुख शाखा कार्यालयमा एक हुल्लडबाज समूहले आक्रमणको प्रयास समेत गरेको थियो।
जब इबिआईएल अर्थात दुबई बैंक लिमिटेडले आफ्नो नबिलमा रहेको सेयर हिस्सा बेच्ने निर्णय गर्यो- विनोद चौधरी (हाल सीजी कर्प ग्लोबलका अध्यक्ष) ले त्यसलाई आफ्नो पक्षमा पार्न सफल भए। त्यसबेला अदालतमा चौधरीलाई उक्त सेयर किन्नबाट रोक्न मुद्दा नै दर्ता समेत भएको थियो। सन् १९९५ मा ढाकास्थित नेशनल बैंक लिमिटेड (एनबिएलडी) ले उक्त सेयरहरु खरिद गर्यो। खासमा विनोद चौधरीले नै बंगलादेशस्थित आफ्ना सम्बन्धहरुलाई परिचालन गरी उक्त सेयर आफ्नो पक्षमा पार्ने गरी कारोबार गर्न सफल भए।
जतिबेला एनबीएलडीले नबिलको सेयर खरिद गर्यो, त्यस समयमा नबिल बैंकका अध्यक्ष बलराम सिंह मल्ल थिए भने नेपाल राष्ट्र बैंकका गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठ थिए। त्यसबेला लोकबहादुर श्रेष्ठ बंगलादेशका लागि नेपाली राजदूत थिए। पछि उनै सत्यन्द्रप्यारा र लोकबहादुर दुवैजना विविध समयमा नबिल बैंकका अध्यक्ष बने।
त्यस डिलको केही वर्षपछि एनबि इन्टरनेशनल लिमिटेड (एनबीआईएल आयरल्याण्ड)ले एनबीएलडीसँग रहेको नबिलको सेयर खरिद गर्यो।
त्यसबेला इक्रा नेपालले गरेको नबिलको डिबेन्चर रेटिङमा एनबीआईएललाई यसरी चिनाइएको थियो।
‘एनबीआईएल आयरल्याण्डस्थित विशेष उद्देश्यका लागि स्थापित कम्पनी हो, जुन चौधरी ग्रुपसँग आबद्ध छ। एनबि इन्टरनेशनलसँगै चौधरी ग्रुपको परिवारका सदस्यहरुसमेत गरी नबिल बैंकमा बहुमत सेयर अर्थात ५३ प्रतिशत हिस्सा ओगट्छ।’
एनबिएलडी अब नबिलको शेयर होल्डर हरेन। त्यसपश्चात पहिले नबिलको प्रमुख लगानीकर्ता इमिरेट्स बैंक इन्टरनेशनल लिमिटेडसँग नबिलको व्यवस्थापनमाथि नियन्त्रण हुनेगरी भएको टेक्निकल सर्भिस एग्रीमेन्ट तोड्यो। उक्त सम्झौता तोडिएपछि सन् २००१ मा पहिलो नेपालीका रूपमा शोभनदेव पन्त नबिलको निमित्त सीइओका रूपमा नियुक्त भए। त्यसअघि भारतीयहरु मात्र सीइओका रुपमा नबिलमा थिए। बैंकमा केही महिनाका लागि उनलाई निमित्त सीइओ बनाइएको थियो।
पछि फेरि सन् २००२ मा भारतीय सुरजलाल मेहतालाई नै तीन वर्षका लागि सीइओ बनाइयो। सन् २००५ मा अनिलकेशरी शाह नबिल बैंकको सीइओ बने।
सन् २००९ को नोभेम्बरमा नबिल बैंकबाट राजीनामा दिएर शाह मेगा बैंकको सीइओका रूपमा गएपछि अमृतचरण श्रेष्ठ निमित्त सीइओ बने। सन् २०११ मा अनिल ज्ञवाली नबिल बैंकका सीइओ बने।
सुन्दा अपत्यारिलो लाग्ला तर अनिल शाहले राजीनामा दिएर बाहिरिएपछि निमित्त सीइओ बनेका अमृतचरण श्रेष्ठले करिब डेढ वर्ष निमित्त सीइओकै रूपमा काम गरे। बैंकले त्यस बीचमा कसैलाई पनि पूर्णकालीन सीइओ बनाएन। पछि अमृतचरणले स्वैच्छिक अवकाश लिए र एनसीसी बैंकको सीइओका रूपमा गए।
सन् २००० पछि नबिल बैंकमा तीनवटा सकारात्मक कुराहरु भए।
१. बैंकले लामो समयका लागि असाध्यै वरिष्ठ तथा प्रोफेसनल बैंकर सुप्रिय गुप्तालाई आफ्नो सञ्चालक समितिमा ल्यायो। उनले बैंकलाई नीतिगत तहमा दिएका मार्गदर्शनहरु बैंकका लागि साँच्चै नै फलदायी थियो।
२. नबिल करअघिको मुनाफाका हिसाबले नम्बर एक बैंक बन्न सफल भयो र उसले यो पोजिसन झण्डै एक दशकसम्म कायम राख्यो।
३. उच्च तहका कर्मचारीले असाध्यै आकर्षक तलब पाउन थाले। यसकारण उच्च तहका कर्मचारीको बहिर्गमनलाई नाटकीय रूपमा रोक्न सफल भयो।
सत्यन्द्रप्यारा श्रेष्ठ नबिल बैंकमा सबैभन्दा लामो समयसम्म अध्यक्ष रहे। राष्ट्र बैंकको गभर्नर रहिसकेका व्यक्ति पछि निजी क्षेत्रको एक बैंकको अध्यक्ष बन्नुलाई व्यावसायिक सुशासनका दृष्टिले हेर्दा खासै राम्रो त मानिन्नथ्यो तर सेन्ट्रल बैंकको ‘सुप्रिमो’ रहिसकेका व्यक्तिको निकट रहेर मैले व्यक्तिगत रुपमा भने धेरै नै सिक्ने अवसर पाएँ।
उनी नबिल बैंकको रणनीतिक योजनाको टास्कफोर्सका ‘कन्भेनर’ थिए भने म सचिव। यो टास्कफोर्सले नबिल बैंकको दीर्घकालीन रणनीतिक योजनाहरु तयार पारेको थियो। हरेक हप्ता उनी केही घण्टाका लागि नबिल बैंक आउँथे र हामी (विशेषगरी सीइओ, कम्पनी सचिव र वित्त प्रमुख) सँग बैंकको समग्र वातावरण र कार्य प्रगतिबारे जानकारी लिन्थे।
हामी उनका अनुभवहरु सुन्थ्यौं। उनले अन्य विषयहरुसँगै नेपाल राष्ट्र बैंकलाई आकर्षक थलो बनाउनका लागि कसरी त्यहाँ कार्यरत अधिकारीहरुको तलब बढाइयो भन्ने जस्ता कुराहरु पनि सुनाउँथे। उनी डा. युवराज खतिवडाको निकै तारिफ गर्थे, जो पछि गएर राष्ट्र बैंकका गभर्नर, योजना आयोगका उपाध्यक्ष तथा अर्थमन्त्री समेत भए।
मैले दुई दशकभन्दा बढी समय नबिल बैंकमा काम गरें, जसलाई सम्झिँदा आज पनि आनन्द अनुभूति हुन्छ। नेपाली बैंकिङ क्षेत्रमा नबिल बैंकले धेरै नै सकारात्मक परिवर्तनहरु ल्याएको छ। नेपालका धेरै बैंकहरुदेखि लिएर केन्द्रीय बैंकसम्म पनि मानव संसाधन आपूर्तिमा नबिल बैंकको भूमिका महत्वपूर्ण छ।
नबिलले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई कसरी जित्यो?
नबिल बैंक र तत्कालीन नेपाल ग्रिनलेज बैंक अर्थात स्ट्याण्डर्ड चार्टर्ड बैंकबीच कर अघिको मुनाफामा नम्बर एक हुनका लागि प्रतिस्पर्धा थियो। केही वर्षहरु बाहेक स्ट्याण्डर्ड चार्टर्ड बैंक नम्बर एक र नबिल रनर अपका रुपमा रहिरह्यो। जब अनिल केसरी शाहले नबिलको नेतृत्व लिए, सन् २००८/०९ मा बैंकले स्टाण्डर्ड चार्टर्डलाई पछि पार्यो। त्यसयता फेरि नबिलले पछि फर्केर हेर्नुपरेको छैन। निरन्तर रुपमा सन् २०१६/१७ सम्म नबिल बैंक कर अघिको मुनाफाका आधारमा नम्बर एक बैंक रहिरह्यो।
अनिल केशरी शाहको नेतृत्व, शोभनदेव पन्तको पालामा भएका केही रणनीतिक निर्णयहरु र पूर्व सीइओ सुरजलाल मेहताका कारण सन् २००८/०९ मा नबिलले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई जित्न सकेको हो।
सन् २००९/१० को पहिलो त्रैमासमा अनिल शाह नबिल बैंकलाई सबैभन्दा बढी मुनाफा कमाउने बैंकका रुपमा स्थापित गरेर बाहिरिन चाहन्थे। तर आन्तरिक वातावरणले उनको त्यो उद्देश्यलाई पूरा गर्न सघाएन। नबिल त्यसबेला कर अघिको मुनाफाका हिसाबले एनआईबीएलभन्दा पछि र कर पछिको नाफाका हिसाबले एनआईबीएल र स्ट्याण्डर्ड चार्टर्ड बैंकभन्दा पछि थियो। अनिलले चाहेको हुन नसक्नुमा बैंकको क्रेडिट टिमले पर्याप्त प्रयास नगरेको हल्ला चलेको थियो।
त्यसबेला आशातित सफलता हात नपर्दा अनिल शाह अत्यन्तै ‘अपसेट’ भएका थिए। मैले उनलाई त्यतिबिघ्न बिचलित कहिल्यै देखिन। त्यसबेला नबिल छोड्दा बैंकलाई सबैभन्दा मुनाफा कमाउने बैंक बनाएर त्यो श्रेय आफूले लिएर अनिल बाहिरिन चाहन्थे। तर दोस्रो त्रैमासमा नबिल बैंकले ती दुवै बैंकहरुभन्दा राम्रो ‘मार्जिन’ बनाएर पछि छोड्न सफल भयो।
नबिल र इन्भेष्टमेन्ट बैंक बीचको द्वन्द्व !
तत्कालिन नेपाल इन्डोस्वेज बैंकमा क्रेडिट एग्रीकोल इन्डोस्वेजको ५० प्रतिशत सेयर थियो। जब उसले नेपाली बजारबाट बाहिरिने निर्णय गर्यो, त्यो बेला दुई समूह यसको सेयर किन्न बजारमा उत्रिए।
ती दुई समूह थिए विनोदकुमार चौधरी र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाण्डे नेतृत्वको। पछि यी दुई समूहबीचको सेयर खरिद विवाद अदालतसम्मै पुग्यो।
सन् २००२ मा उक्त सेयर पाण्डे समूहका लगानीकर्ताले हात पार्न सफल भए।
पाण्डेले नेपाल इन्भेष्टमेन्ट बैंकको व्यवस्थापन थालेपछि त्यस बैंकले आफ्नो व्यापारको आयतन आक्रामक रूपमा बढाउँदै लग्यो र ५/६ वर्षकै अवधिमा नाफाका हिसाबले ऊ नबिल र स्टाण्डर्ड चार्टर्डकै हाराहारीमा आइपुग्यो। बैंकको एग्रेसिभ बिजनेस ग्रोथलाई देखेर केही उच्च तहका बैंकरहरुले एनआइबीएलको यो रफ्तार र भविष्यमाथि प्रश्न समेत उठाउथें। तर आज इन्भेष्टमेन्ट बैंक नेपालका लिडिङ बैंकहरुमध्ये एक बनेको छ।
जब म नबिलमा थिएँ संचालक समितिले जहिल्यै हामीलाई नाफाका आधारमा नम्बर १ हुनुपर्छ भनेर प्रोत्साहित गर्थ्यो। तर नबिल नम्बर एक बन्न नसकेको खण्डमा पनि एनआईबील चाहिँ एक नम्बर बन्न नसकोस् भन्ने संचालक समितिको चाहाना ‘ओपन सेक्रेट’ जस्तै थियो। त्यो कर्पोरेट द्वन्द्व थियो वा प्रतिस्पर्धा ? यसबारे म अझै पनि सोच्ने गर्छु।
+++
कम्पनीका कारण नभई हाकिमका कारण जागिर छोड्छन्
मैले कहिल्यै सोचेको थिइन अनिल शाहले स्ट्याण्डर्ड चार्टर्ड बैंक छोडेर नबिल बैंक ज्वाइन गर्लान्! तर सन् २००४ मा जीएमका रूपमा दोस्रो स्थानमा रहनेगरी नबिल ज्वाइन गरे। बजारमा के हल्ला थियो भने उनले स्ट्याडर्ड चार्टर्ड बैंकका कारण नभई उनका तत्कालिन सुपरभाइजर सुजित मुन्डुलसँगको मतभेदका कारण बैंक छोडेका थिए।
आन्तरिक कथा बुझेकाहरु भन्थे –’अनिलले मुन्डुललाई छोडेका हुन् स्ट्याण्डर्ड चार्टर्ड छोडेका होइनन्।’ मुन्डुल आउनु अघि स्ट्याण्डर्ड चार्टर्डमा अनिलको करियर ग्रोथ र उनको भूमिका निकै लोभलाग्दो थियो। तर उनी सँगको मतभेदकै कारण उत्पन्न परिस्थितीले अनिल त्यहाँबाट बाहिरिए।
जब उनले नबिल बैंक ज्वाइन गरे त्यसबेला सत्यन्द्र प्यारा श्रेष्ठ अध्यक्ष थिए भने सुरज मेहता सीइओ। उच्च तहका म्यानेजरहरुमा सीबी रामामूर्ति, श्रवणलाल मास्के, अमृतचरण श्रेष्ठ, कपिल शर्मा र विनय रेग्मी लगायत हुनुहुन्थ्यो। अनिल असाध्यै राम्रो वाककला भएका मानिस हुन्। हामी उनलाई ‘बाचन शिरोमणि’ समेत भन्ने गर्थ्यौं।
अनिल आएपछि नबिल बैंकको संरचनामा धेरै नै परिवर्तनहरु भए। अनिल शाहले बैंकको ब्राण्डिङ र संस्थागत पक्षहरुमा केही सकारात्मक परिवर्तनहरु ल्याए।
उनी र मानव संसाधन विभाग प्रमुख इश्वर कार्की नबिल आउनुअघि हामीले अरुलाई गर्ने व्यवहार र प्रस्तुत हुने तरिकाबारे कमै मात्र तालिम पाएका थियौं। तर दुवैजना आएपछि मैले त्यस्ता प्रकारका धेरै तालिमहरुमा सहभागी हुने मौका पाएँ। त्यसअघि म अलि घमण्डी स्वभावको थिएँ। तर त्यस्ता ‘विहेबियरल ट्रेनिङ’ ले मलाई अभिमानी हुनु कति खराब रहेछ भन्ने महसुस गरायो।
मैले आफ्नो घमण्डी व्यवहारका कारण करिअरमा केही त्रुटि पनि गरेको छु। म बैंकमा काम गर्थेँ, साथै एमबिएका विद्यार्थीलाई पढाउँथे पनि। स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट बिकम पास एक युवती त्यसबेला नबिलमा जागिर खान आइपुगिन्। उनी आफ्नो काममा कम अनुभवी छिन् भन्ने बुझाइमा मैले उनको एक प्रस्तावमाथि अलि नकारात्मक कमेन्ट गरें। त्यसबेला मैले गरेको नकारात्मक टिप्पणीप्रति आफ्नो अभिमानी व्यवहारका कारण तत्काल मैले उनीसँग माफी मागिन जुन मेरो गल्ती हो भन्ने पछि महसुस भयो। म यसै किताबमार्फत अनुपमा खुंजेलीलाई सरी भन्न चाहन्छु।
कामको सिलसिलामा अनुपमाले गरेको प्रस्तावमाथि मैले लिखित कमेन्ट गरेको थिएँ। कमेन्टका कारण अनुपमा जी रिसाउनुभएको थियो तर मैले त्यसबेला नै वहाँसँग माफी मागेको भएपनि हुन्थ्यो भन्ने लाग्छ।
तर त्यो घटनापछि हामी दुवैमा सकारात्मक प्रगति हुँदै गयो। नबिलमा काम गर्दा गर्दै अनुपमाले एमबीए गरिन् उनले आफ्नो काममा अझै धेरै परिश्रम गर्दै गइन्। आफ्नो कार्यक्षमता पुष्टि गर्दै उत्कृष्ट बन्दै गइन्। मेरा लागि त्यो घटना सम्झनलायक बन्यो किनभने त्यसपछि अरुसँग व्यवहार कसरी गर्ने भन्नेबारे तालिम लिन मलाई अनिल शाहले प्रोत्साहित गरे। बिहेबियरल ट्रेनिङ लिँदै गएपछि मेरो घमण्ड पग्लिँदै गयो। मलाई के महसुस भयो भने- ‘म त महासागरको अस्तित्वमा केवल एक थोपामात्र रहेछु !’
+++
रेमिट्यान्स किङ चन्द्र ढकाल कि रवीन्द्र ढकाल?
सन् १९९५ को मार्चदेखि सन् १९९७ को जुन महिनासम्म म नबिल बैंकको मुख्य कार्यालयको रेमिट्यान्स विभागमा सुपरभाइजर थिएँ। त्यहाँ मुख्यगरी खाडी देशहरुबाट ठूलो मात्रामा रेमिट्यान्स बारे सूचना आउँथ्यो। त्यो बेला अल-फर्दान एक्सचेन्ज नेपालमा पैसा पठाउने प्रमुख रेमिट्यान्स कम्पनीहरुमध्ये एक थियो।
नबिलमा त्यसबाट पैसा आउँथ्यो। रेमिट्यान्स पाउनेमध्ये अधिकांशको खाता राष्ट्रिय वाणिज्य बैंक वा नेपाल बैंक लिमिटेडको खाता हुने गर्थ्यो। हामीले आफ्नो सेवा शुल्क लिन्थ्यौं र उक्त रकमलाई वाणिज्य बैंकको विशालबजार र नेपाल बैंकको न्यूरोड शाखामा सम्बन्धित व्यक्तिहरुको खातामा भुक्तानी गर्नका लागि जानकारीसहित रकम पठाउँथ्यौं।
बैंकले पनि सेवा शुल्क लिएर उक्त रकम सम्बन्धित व्यक्तिको खातामा पठाउँथ्यो। तर रेमिट्यान्स पाउनेमध्ये अधिकांशले उक्त रकम समयमा पाउँदैनथे किनभने रकम पाउने धेरै झण्झटिलो प्रक्रिया थियो।
आफूहरुले पठाएको रेमिट्यान्स सम्बन्धितले पाउँदा हुने अप्ठ्याराहरु र उनीहरुका गुनासा सुन्न अल फरदान एक्सचेन्जका तत्कालीन जनरल म्यानेजरले नेपाल आएका बखत नबिलले रेमिट्यान्स कारोबारमा संलग्न हुन प्रस्ताव गर्यो। उक्त कामका लागि अल फरदानको प्राथमिकतामा नबिल बैंक थियो। अल फरदान एक्सचेन्जले नबिलले रुचि नदेखाएमा मात्र नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकलाई प्रस्ताव गर्ने बताएको थियो।
तर त्यसबेला शोभनदेव पन्तले नबिल बैंक यस्ता किसिमका रिटेल बिजनेसमा लक्षित नभएको बताएका थिए। उनले तत्काललाई बैंकको प्राथमिकतामा ‘रिटेल बिजनेस’ नपर्ने स्पष्ट पारेका थिए। हुनपनि तत्कालीन अवस्थामा बैंकको रणनीति नै रेमिट्यान्स व्यापारमा लक्षित हुने थिएन।
पछि वेस्टर्न युनियनले नबिललाई नेपालमा आफ्नो एजेन्टको रुपमा काम गर्न प्रस्ताव गर्दा पनि सुरुमा उक्त प्रस्ताव अस्वीकार गरिएको थियो। नबिल तब मात्र वेस्टर्न युनियनको एजेन्ट बन्यो जब बंगलादेशको चेम्बर एफ कमर्स एण्ड इन्डस्ट्रिजका पूर्व अध्यक्ष तथा ढाकास्थित नेशनल बैंक लिमिटेडका पूर्व अध्यक्ष अब्दुर अवल मिन्टोले यस निर्णयमाथि पुनर्विचार गर्न भने। त्यसबेला नेशनल बैंक लिमिटेड नबिलमा प्रमुख लगानीकर्ताका रुपमा थियो, त्यसकारण उनको सुझावपछि मात्र नबिलले वेस्टर्न युनियनको एजेन्ट बन्न स्वीकार गरेको थियो।
अल फरदानका जीएम र पन्तबीचको भेटपछि म र मेरा सहकर्मी रवीन्द्र ढकालबीच यसै विषयमा छलफल चल्यो। मेरा तत्कालीन सहकर्मी रवीन्द्र हाल अमेरिकामा सिनियर फिस्कल म्यानेजरका रुपमा कार्यरत छन्। जतिबेला अलफरदानका जनरल म्यानेजरले नबिल बैंक भिजिट गरेका थिए रवीन्द्र नबिलको रेमिट्यान्स कारोबार प्रक्रियासँगै सम्बद्ध थिए। उनी प्रतिभाशाली थिए। हामी दुईबीच रेमिट्यान्स व्यवसायकै बारेमा छलफल चल्यो।
‘हामी यो जागिर छोडेर आफ्नै रेमिट्यान्स बिजनेस सुरु गरौं न त !’ भन्ने सम्मका कुराहरु भए। हामीलाई थाहा थियो यो नाफाको व्यवसाय हो तर हामीले कुराकानी त गर्यौं तर त्यो जोखिम भने उठाउन चाहेनौं।
जागिर छोडेर रेमिट्यान्स कारोबार सुरु गर्ने त्यो छलफल केवल छलफलमै सीमित भयो किनभने हामीले त्यो जोखिम उठाउने साहस नै गरेनौं। सन् २००१ मा जब ग्लोबल आईएमई बैंकका अध्यक्ष तथा एफएनसीसीआईका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले इन्टरनेशनल मनी एक्सचेन्ज आईएमई सुरु गरे त्यसले इतिहास कायम गर्यो। नेपालकै पहिलो मनी ट्रान्सफर कम्पनी आईएमई हाल रेमिट्यान्सकै पर्यायवाची शब्द बनिसकेको छ।
आज पनि म रवीन्द्रसँग त्यो सन्दर्भलाई लिएर कुराकानी उप्काउँछु। म उनलाई जिस्क्याउँदै भन्छु पनि– ‘त्यो बेला हामी अलि बढी साहसी भइदिएको भए आज चन्द्र ढकाल होइन रवीन्द्र ढकाल नेपालको रेमिट्यान्स किङ हुने थियो।’
(भुवन दाहालको पुस्तक “रिटायरमेन्ट एट ५०” बाट)