BIZMANDU
www.bizmandu.com

चिप अभावले महिन्द्राको १ लाख ४३ हजार एसयुभी डेलिभरी हुन सकेन, नेपालमा पनि आपूर्ति समस्या

२०७९ असार २९

चिप अभावले महिन्द्राको १ लाख ४३ हजार एसयुभी डेलिभरी हुन सकेन, नेपालमा पनि आपूर्ति समस्या
चिप अभावले महिन्द्राको १ लाख ४३ हजार एसयुभी डेलिभरी हुन सकेन, नेपालमा पनि आपूर्ति समस्या

काठमाडौं। युक्रेन-रुस युद्भका कारण सेमीकन्डक्टर चिप अभावले विश्वभर सवारी उत्पादक कम्पनीहरुलाई समस्या परेको छ। यसले कम्पनीहरुको वार्षिक लक्ष्य नै प्रभावित हुने देखिएको छ। यसैको असरले महिन्द्रालाई पनि परेको छ। 

Tata
GBIME
Nepal Life

उक्त कम्पनीले १ लाख ४३ हजार युनिट एसयुभी डेलिभरी गर्न सकेको छैन। लगभग ८० हजार यूनिट एक्सयूभी ७००, थार २६ हजार युनिट, बोलेरो १५ हजार र १४ हजारवटा एक्सयूभी ३०० उत्पादन भए पनि चिप अभावले डेलिभरी दिन नसकेको कम्पनी जनाएको छ।

महिन्द्राले एक्सयूभी ७०० मा उच्चकोटीको प्रविधियुक्त सुविधा डिजाइन गरिएको छ, जसका लागि धेरैवटा चिपहरू आवश्यक पर्दछ। चिपको अभाव गाडीको फिनिसिङमा ढिलाइको मुख्य कारक बनिरहेको छ, जसको परिणाम स्वरूप अब घरेलु ग्राहक र अन्य देशका आधिकारिक बिक्रेताहरुले लामो समय प्रतीक्षा गर्नु परिरहेको छ।

कम्पनीका अनुसार यस्तै चिप अभावको समस्या यथावत रहिरहे हालसम्म बुक भएका ती एसयूभीहरु २०२४ सम्ममा डेलिभरी हुनसक्छन्। तर यसमा पनि भेरियन्ट र लोकेसन अनुसार डेलिभरी हुनेपनि कम्पनीले जनाएको छ।

यस्तैमा महिन्द्राले पछिल्लो समय आफ्नो गेम चेन्जर नयाँ लोगोसहित अल न्यू स्कोर्पियो-एन एकैसाथ तीन वटा देशबाट सार्वजनिक गरेको थियो। उक्त गाडीको पनि कम्पनीले जुलाई ३० बाट बुकिङ खोलिने जनाएको छ। कम्पनीलाई चिपले समस्या पार्दा अर्डरका गाडीहरु कहिलेसम्म डेलिभरी होलान् भन्नेमा बिक्रेताहरु चिन्तित छन्।

कम्पनीले अगस्ट २०२१ मा लन्च गरेको एक्सयूभी ७०० को फ्ल्यागशिपमा मोडलको हाल ८० हजार युनिट भन्दा धेरै बुकिङ भएका छन्। यसको बुकिङ एक महिनामा औसत ९ हजार ८०० युनिट हुने गरेका छन्। यो गाडी पेट्रोल र डिजेल दुवै इन्जिन विकल्पहरूसँग उपलब्ध छ। मे २०२२ को अन्त्यसम्म ३५ हजार ८२४ ग्राहकहरूको घरमा पुगेको कम्पनीले जनाएको छ।

यस्तै थारको पनि २६ हजार युनिटभन्दा बढी डेलिभरी हुन बाँकी छ। यसको २०२० अक्टोबरमा सार्वजनिक भएको थियो। सार्वजनिक भएको पहिलो दुई हप्तामा नयाँ थारको १५ हजार युनिटभन्दा बढी बुकिङ भएको थियो। मे २०२२ को अन्त्यसम्म एसयुभीले कुल ५८ हजार ३९१ यूनिट बिक्री गरेको छ।

महिन्द्राको दुई दशकभन्दा बढी समयदेखि बिक्रीको भइरहेको पावरहाउस भनेर चिनिने बोलेरोको पनि १५ हजार यूनिट डेलिभरीको पर्खाइमा रहेको सूचीमा तेस्रो नम्बरमा छ। गत वर्ष जुलाईमा बोलेरो नियोको परिचयले पनि बोलेरो ब्राण्डको माग बढेको कम्पनीले जनाएको छ।

यसैगरी लोकप्रिय एक्सयूभी ३०० को पनि १४ हजार युनिट अझै डेलिभर हुन बाँकी छन्। फेब्रुअरी २०१९ मा लन्च भएदेखि निरन्तर माग देखिएको छ। कम्पनीका अनुसार मे २०२२ को अन्त्यसम्म कुल १ लाख ४२ हजार २६४ युनिट बेचेको छ। यो १.५ लिटर, ४-सिलिन्डर डिजेल इन्जिन विकल्पमा उपलब्ध छ।

कम्पनीले पहिलो पटक पेट्रोललाई युरो ६ मापदण्डहरूमा स्तरवृद्धि गरेर फेब्रुअरी २०२१ मा १०९ हर्षपावरका साथ २००एनएम टर्क जेनेरेट गर्ने क्षमतासहितको पेट्रोल इन्जिनमा प्रस्तुत गरेको थियो।

यस्तै कम्पनीले अल न्यु स्कोर्पियो-एनको जुलाई ३० बाट बुकिङ खुलाइने जनाएको छ। चिप अभावकै कारण नेपालमा पनि सप्लाई चेनमा असर गरेको छ। महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपले पनि सप्लाई नहुदा लामो समयदेखि गाडीहरु बिक्री गर्न सकिरहेको छैन।

एक वर्षदेखि कम्पनीले थार, एक्सयुभी ७००, एक्सयुभी ३०० तथा बोलेरो नेपालका लागि प्रशस्त रुपमा बुकिङ भएअनुसार उपलब्ध गराउन भनिरहेको छ। तर महिन्द्राले भारतमै उक्त एसयूभीहरु सप्लाई गर्न सकेको छैन। चिप अभावकै कारण अरु ब्रान्डका गाडीहरुको पनि प्रतीक्षा समय एक वर्षसम्म पुगेको छ।