काठमाडौं। चालु आर्थिक वर्ष करिब ४५ मेगावाट क्षमताका ६ वटा सोलार आयोजनाले निर्माणको अनुमति पाएका छन्।
विद्युत विकास विभागले उपलब्ध गराएको तथ्याङक अनुसार निजी क्षेत्र र नेपाल विद्युत प्राधिकरणले गरी ४४.५९ मेगावाट क्षमताका सोलार आयोजनाले अनुमति पाएका छन्।
इष्ट सोलार प्राली ,काठमाडौंले ५ मेगावाटको बैगुनधुरा पिभी सोलार आयोजना निर्माणको अनुमति पाएको छ। विद्युत विकास विभागबाट २०७८ मंसिर २१ गते अनुमति पाएको हो। यो आयोजना झापामा निर्माणका लागि अनुमति पाएको हो।
यसैगरी इको ग्लोबल पावर डेभलपमेन्ट प्राइभेट लिमिटेड, काठमाडौंले १० मेगावाटको मिथिला-२ सोलार पीभी आयोजनाको अनुमति पाएको छ। धनुषामा प्लान्ट राख्ने गरी अनुमति पाएको हो। विभागले मंसिर २३ गते अनुमति दिएको हो।
पशुपति रिन्युएवल प्राइभेट लिमिटेड, ललितपुरले १० मेगावाटको धरमनगर सोलार फाम प्रोजेक्टका लागि अनुमति पाएको छ। पुस २ गते अनुमति पाएको हो। सोलार प्लान्ट कपिलबस्तुमा राख्ने गरी अनुमति लिएको छ।
नेपाल विद्युत प्राधिकरण काठमाडौंले ३.०९० मेगावाटको ग्रीड टाइड सोलार फाम प्रोजेक्टको अनुमति पाएको छ। प्राधिकरणले गत बैशाख ६ गते अनुमति पाएको हो। सोही दिन प्राधिकरणले ६.५०० मेगावाटको ग्रीड टाइड सोलार फाम प्रोजेक्ट ब्लक ५ को पनि अनुमति पाएको छ। दुवै सोलार प्लान्ट नुवाकोटमा राख्ने गरि अनुमति पाएको हो।
झापा इनर्जी प्राइभेट लिमिटेड, बिर्तामोड झापाले १० मेगावाटको ग्रीड कनेक्टेड सोलार प्रोजेक्टको अनुमति पाएको छ। बैशाख ११ गते विभागले झापामा प्लान्ट राख्ने गरी अनुमति दिएको हो।