BIZMANDU
www.bizmandu.com

लगभग भाँडिएको हिमालयन र सिभिल बैंक फेरि मर्ज हुन सहमत, बुधबार बिहान सम्झौता हुँदै 

२०७९ असार २८

लगभग भाँडिएको हिमालयन र सिभिल बैंक फेरि मर्ज हुन सहमत, बुधबार बिहान सम्झौता हुँदै 
लगभग भाँडिएको हिमालयन र सिभिल बैंक फेरि मर्ज हुन सहमत, बुधबार बिहान सम्झौता हुँदै 

काठमाडौं। अन्ततः हिमालयन र सिभिल बैंक मर्ज हुन सहमत भएका छन्। लगभग भाँडिइसकेको यी दुई बैंकबीच मंगलबार बेलुका फेरि सकारात्मक ट्विस्ट भएको हो। 

Tata
GBIME
Nepal Life

स्वाप रेसियोको विषयलाई लिएर भएको मतभेदपछि यी दुई बैंकबीचको मर्जर लगभग भाँडिइसकेको थियो। दुई बैंकबीच मर्जरका लागि औपचारिक सहमति गर्न असार २४ गते शुक्रबार तय भएको थियो। औपचारिक सहमतिपछि सोको जानकारी दिनका लागि शुक्रबारलाई नै पत्रकार सम्मेलन समेत डाकिएको थियो। तर अन्तिम प्रहरमा पुगेर हिमालयका तर्फबाट मूल्यका विषयमा बखेडा झिकेपछि मर्जर तत्कालका लागि रोकिँदै अनिश्चित बनेको थियो। 

दुवै बैंकका उच्च तहबीच मंगलबारको सहमतिपछि यो पुनः ब्युँतिएको हो। 

यस मर्जरका सम्बन्धमा भएको पछिल्‍लो विकासबारे जानकार स्रोतले बिजमाण्डूसँग भन्यो, 'सिभिल बैंकको मंगलबार साँझ बसेको संचालक समिति बैठकले हिमालयन बैंकसँगै मर्जरमा जाने निर्णय गर्यो। अब भोलि बिहान मर्जरमा हस्ताक्षर हुँदै छ।'

स्रोतका अनुसार, भोलि बिहान हिमालयन बैंकको कमलादीस्थित केन्द्रिय कार्यालयमा दुवै बैंकबीच मर्जरको सम्झौतापत्रमा हस्ताक्षर हुने तय भएको छ। 

पुरानै सहमतिबमोजिम हिमालयनले सिभिललाई प्रतिसेयर ८१ रुपैयाँ दिने गरी मर्जर हुने टुङ्गो लागेको छ। 

मर्जरपछि बन्ने एकिकृत बैंकको नाम हिमालयन नै रहने छ। सिभिल पूर्णरुपमा विलय हुनेछ। सोपछिको संचालक समितिमा सदस्यहरु सबै हाल हिमालयनका नै हुने पनि सहमति कायम भएको छ। 

मर्जरका लागि भएको प्रारम्भिक सहमति नै अहिले कायम भएको छ। जसअनुसार, नयाँ बैंकमा सिभिल बैंकबाट कोही पनि सञ्चालक बन्ने छैनन्। प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणाले नै निरन्तरता पाउने छन्।

नयाँ बैंकमा वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत सिभिलका सुनिल पोखरेल हुने छन्। हिमालयनमा कोही पनि डेपुटी प्रमुख कार्यकारी अधिकृत नभएकाले उनीहरु अहिलेकै पदमा कायम हुने छन्।

कर्मचारीहरुको समायोजन दुवै बैंकबीच बराबरीको हैसियतमा हुने पनि सहमति बनेको छ। 

यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर टुटेपछि हिमालयन बैंक अर्को संस्था गाभ्नै पर्ने दबाबमा थियो।

इन्भेष्टमेन्टले भने मेगा बैंकलाई गाभ्ने सहमति गरिसकेको छ। राष्ट्र बैंकले हिमालयनलाई एक वर्षको समय दिँदै अर्को वाणिज्य बैंकसँग मर्जर हुन निर्देशन दिएको थियो।

राष्ट्र बैंकले असारभित्र मर्जरमा नगए यसअघि दिइएको सुविधा खोस्ने मौखिक निर्देशन दिएको थियो। त्यही भएर पनि हिमालयनले सिभिललाई गाभ्ने प्रक्रिया अगाडि बढाएको थियो।

सिभिले करिब दुई वर्षअघि नै हिमालयनलाई मर्जरका लागि प्रस्ताव गरेको थियो। तर त्यतिबेला उक्त प्रस्तावमा गम्भीर छलफल नहुँदा त्यो त्‍यसै सेलाएको थियो। सोपछि हिमालयनले मर्जरमा जानुपर्ने आवश्यक्ता महशुस गरेपछि भने सिभिललाई गाभ्न सुरुबाटै प्रयास गरेको थियो।

त्यसबेला सुरुआतमा सिभिलको एक सेयरका लागि ३५ रुपैयाँ मात्रै दिएको हिमालयनले पछि इन्भेष्टमेन्टसँग मर्जर टुटेपछि भने सेयर मूल्य बढाउँदै लगेको थियो।

यता सिभिलले पनि वित्तीय अवस्था निक्कै सुदृढ गर्दै लगेको थियो। आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउँदै वासलातलाई ठूलो बनाएपछि सिभिलको 'बार्गेनिङ क्यापसिटी' बढेको थियो।