BIZMANDU
www.bizmandu.com

सर्वोच्चबाट प्रक्रिया पुर्‍याएर अघि बढ्न भनेपछि निजगढ विमानस्थल निर्माण तयारीमा जुट्यो क्यान

२०७९ असार १९

सर्वोच्चबाट प्रक्रिया पुर्‍याएर अघि बढ्न भनेपछि निजगढ विमानस्थल निर्माण तयारीमा जुट्यो क्यान
सर्वोच्चबाट प्रक्रिया पुर्‍याएर अघि बढ्न भनेपछि निजगढ विमानस्थल निर्माण तयारीमा जुट्यो क्यान

काठमाडौं। सर्वोच्च अदालतबाट ग्रीन सिग्नल आएसँगै नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि गृहकार्य सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

गत साता सर्वोच्चले भरपर्दो वातावरणीय प्रभाव मूल्यांकन गर्न निर्देशन दिएसँगै प्राधिकरणले आफ्नो तर्फबाट गृहकार्य सुरु गरेको निर्देशक बाबुराम पौडेलेलले बताए।

'हिजो प्रधानमन्त्रीज्यू, प्राधिकरणका उच्चपदाधिकारीको सहभागितामा विमानस्थल निर्माण हुन क्षेत्रको अवलोकन भएको छ। हामी सर्वोच्च अदालतको फैसलालाई आधार मानेर निर्माण प्रक्रिया यथाशक्य छिट्टै सुरु गर्ने तयारीमा छौं,' उनले भने, 'यसका लागि कार्ययोजना बनाउने काम सुरु गरेका छौं।'

निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा परेको मुद्दामा सर्वोच्चले अहिलेसम्मको सबै प्रक्रिया खारेज गर्दै नयाँ र विश्वासिलो वातारणीय प्रभाव मूल्यांकन (ईआईए) गरेर आवश्यकता र औचित्यका आधारमा मात्र निजगढ विमानस्थल अगाडि बढाउन आदेश दिएको थियो।

गत जेठ १२ मा उक्त फैसला दिए पनि त्यसको पूर्णपाठ बुधबार मात्रै आएको हो। पूर्णपाठमा अदालतले अहिलेसम्मका सम्पूर्ण प्रक्रिया खारेज गर्दै ईआईएका सम्पूर्ण प्रक्रिया पूरा गरेर आवश्यकता र औचित्यका आधारमा परियोजना अघि बढाउन सकिने बाटो खोलिदिएको छ। वातावरणीय प्रभाव मूल्यांकनका लागि विश्वासिलो समिति गठन गरेर काम गर्न भनेको छ।

लामो समयदेखि विवादमा रहेको यो परियोजना निर्माण गर्नु पर्छ/पर्दैन भन्नेमा अझै मतमतान्तर छ। तर सर्वोच्चले प्रष्ट पारेपछि शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्री र गठबन्धन दलका शीर्ष नेताहरुले शनिबार निजगढ पुगेर अवलोकन मात्रै गरेनन्, जसरी पनि विमानस्थल बन्ने उद्घोष गरेका थिए।

प्रधानमन्त्री देउवा र शीर्ष दलका नेताहरुले निजगढ विमानस्थल तथा काठमाडौं-तराई फास्ट ट्रयाक जसरी पनि सरकारले बनाउने बताएका थिए। देश विकासका लागि यी दुईवटा आयोजना महत्वपूर्ण भएकाले जसरी पनि बनाउनतर्फ सरकार केन्द्रित रहेको उनीहरुले बताएका थिए।