BIZMANDU
www.bizmandu.com

काँकडभिट्टा-लौकही सडक निर्माण असाध्यै महँगो, एक किमीकै लागत ४७ करोड, एडीबीले ३८ अर्ब दिने


काँकडभिट्टा-लौकही सडक निर्माण असाध्यै महँगो, एक किमीकै लागत ४७ करोड, एडीबीले ३८ अर्ब दिने
काँकडभिट्टा-लौकही सडक निर्माण असाध्यै महँगो, एक किमीकै लागत ४७ करोड, एडीबीले ३८ अर्ब दिने

काठमाडौं। महेन्द्र राजमार्गमा पर्ने पूर्वको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक विस्तार नेपालमा कुनै पनि सडक परियोजनामा अहिलेसम्मकै खर्चिलो हुने देखिएको छ।

Tata
GBIME
Nepal Life

यो सडक खण्ड निर्माणका लागि कुल ४६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना प्रमुख सुशीलबाबु ढकालले बताएका छन्। जसमा सडक, यस खण्डमा पर्ने पुलहरु र परामर्शदाताको शुल्क समेत सम्पूर्ण खर्चहरु जोडिएको छ। 

यसअनुसार कुल ९६ किलोमिटरको हुने यो सडकखण्डको निर्माण लागत प्रतिकिलोमिटर करिब ४७ करोड रुपैयाँ पर्ने देखिन्छ। यो लागत नेपालका कुनै पनि सडक परियोजनाहरुमा महँगोमध्ये हो। पुल र परामर्शदाताको शुल्कबाहेक भने यस सडकको निर्माणमा प्रतिकिलोमिटर खर्च साढे २३ करोड रुपैयाँ हुने आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उल्लेख छ।

चार लेनमा स्तरोन्नती गर्ने गरी अघि बढेको पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा-लौकही सडक खण्डको विस्तार कार्य सुरु भएको छ।सडक विस्तारका लागि आयोजनाले ठेक्का आह्वान गरेको छ।

एसियाली विकास बैंक (एडीबीको) को ऋण सहयोगमा यो सडक खण्ड निर्माण गर्न लागिएको हो। आयोजना प्रमुख ढकालका अनुसार यसका लागि एडीबीले ३० करोड अमेरीकी डलर अर्थात् अहिलेको विनिमयदर अनुसार करीब ३८ अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको छ। यसबाहेक नेपालले पनि सडक निर्माणमा कम्तिमा ७ अर्ब रुपैयाँ लगानी गर्नेछ।

सडक विस्तारको कुल लागतमा परामर्शदाताको शुल्क, निर्माण कार्यको लागत लगायतका सबै खर्चहरु समावेश रहेको ढकालले बताए। यस्तै वातावरण मूल्यांकन तथा डिजाइनहरु लगायत परामर्शदाताको लागि भनेर दुई अर्ब ८७ करोड रुपेयाँको अनुमानित लागत छुट्याइएको थियो। परियोजनाको ईआईएको काम सम्पन्न भइसकेको छ।

सडक विस्तार कार्यलाई तीन खण्डमा विभाजन गरेर निर्माणका लागि ठेक्का आह्वान गरिएको छ, जसमा यस सडक खण्डमा पर्ने ६ वटा पुल निर्माण समेत रहेको छ। यसको पहिलो खण्डमा निन्दा ब्रिज, बिरिङ ब्रिज र कन्काई ब्रिज इत्यादि प्रमुख पुलहरु रहेका छन्। यस्तै, दोस्रो खण्डमा रतुवा ब्रिज, बक्रा ब्रिज र लोहेन्द्र ब्रिज निर्माणका लागि पनि ठेक्का आह्वान गरिएको छ।

आयोजनाका अनुसार यो सडक विस्तार कार्य तीन वर्षमा सम्पन्न हुने बताइएको छ। ठेक्का पाउने निर्माण व्यसायीले सम्झौता भएको समयबाट ३६ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने र थप १२ महिना मर्मतसम्भारको समेत जिम्मा लिनुपर्ने छ। यस्तै, पुल निर्माणका लागि भने पाँच वर्ष समयावधि छुट्याइएको छ। त्यसपछिको थप २४ महिनासम्म मर्मतसम्भारको जिम्मा पनि निर्माण कम्पनीले लिनुपर्नेछ।

यस सडक विस्तारमा पर्ने सम्पूर्ण जग्गा सरकारी नै भएकाले अधिग्रहण तथा मुआब्जा वितरणको झन्‍झट आयोजनाले व्यहोर्नुपर्ने छैन। सरकारी जग्गामा बनेका संरचनाहरु भत्काउनका लागि क्षतिपूर्ति मात्र प्रदान गरिने आयोजनाले जनाएको छ। त्यसका लागि करिब ३ करोड रुपैयाँ खर्च लाग्ने आकलन आयोजनाको छ।

यो आयोजना सडक विभाग, आयोजना निर्देशनालय एडीबी सासेक हाईवे इम्प्रुभमेन्ट प्रोजेक्ट-प्रोजेक्ट प्रिपाराटोरी कन्सल्टट्यान्ट अन्तर्गत सञ्चालित छ।

यस्तो छ सडक विस्तार योजना

पूर्व-पश्चिम राजमार्ग चार लेन विस्तारअन्तर्गत हाल ठेक्का आह्वान गरिएको यो सडक खण्ड झापाको काँकडभिट्टादेखि सुनसरीको कोशी गाउँपालिकाको लौकहीसम्म कुल लम्बाई ९६ किलोमिटर रहेको छ। यो सडक एसियन स्ट्यान्डर्ड मापदण्डको बन्नेछ।

सडकको चौडाई २४ मिटरदेखि ५० मिटरसम्म हुनेछ। सडकको अधिकार क्षेत्र (राइट अफ वे) केन्द्र भागबाट २५-२५ मिटर हुने छ। आवश्यकता अनुसार सडकखण्डका विभिन्न भागमा साना पुलहरु पनि निर्माण हुने भए पनि ६ ठुला पुलहरु यसमा पर्नेछन्।

यो सडक खण्ड आयोजना प्रदेश १ को झापा, मोरङ र सुनसरी जिल्लामा पर्नेछ। यो सडकमा चिया बगान क्षेत्र, कृषि जमिन र वन क्षेत्र समेत पर्दछ। यस सडकले चारआलीमा मेची राजमार्ग र इटहरीमा कोशी राजमार्गलाई जोडेको छ। 

काँकडभिट्टा-लौकही राजमार्गले ७१ खोलाहरु पार गर्नुपर्नेछ। ती सबैमा पुलहरु निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ। जसमा ३९ आरसीसी टी-बीम पुल, २३ आरसीसी स्ल्याब पुल, दुईवटा बक्स पुल, सातवटा भेन्टेड पाइप ब्रिजहरु रहेका छन्। सर्भिस रोड पनि दुवै साइटमा निर्माण गरिनेछ। शहरी क्षेत्रमा भने साइकल लेन, फुटपाथ तथा आकाशेपुल वा अन्डरपास पनि निर्माण हुनेछ।

जनावरहरुको आउजाउका लागि वन क्षेत्रमा वन्यजन्तुमैत्री क्रसिङ ब्रिज, ड्रेनेजहरु, स्लोप प्रोटेक्सन तथा अफ रोड सेफ्टीहरु निर्माण हुनेछन्। सहरी क्षेत्रमा क्यारिज-वे चार लेनको दुवैपट्टी ७.५/७.५ मिटरको हुनेछ भने फुटपाथ तथा साइकल लेन दुवैपट्टी ५.५०/५.५० मिटरको निर्माण गरिनेछ। यस्तै सर्भिस लेन सडकको दुवैतिर ६.५०/६.५० मिटरको रहेको छ। शहरी क्षेत्रमा सडक फुटपाथसहित ६ लेनमा विस्तार गरिनेछ।

यस्तै, ६ वटा पुल भने ल्यान्डमार्क ब्रिजका रुपमा निर्माण हुने बताइएको छ। यसका लागि भने आयोजनाले ठेक्का आह्वान गरेको छ। यी पुलको लम्बाई ३१८ मिटरदेखि ७०३ मिटरसम्म हुनेछ। जसमा निन्दा ब्रिज ३१८ मिटर, बिरिङ ब्रिज ३९८ मिटर, कन्काई ब्रिज, ७०३ मिटर, रतुवा ब्रिज ५८२ मिटर, बक्रा ब्रिज ३१८ र लोहेन्द्रा ब्रिज ३८४ मिटर लम्बाईको हुनेछन्।

यसैगरी, सडकखण्डमा आकाशेपुल १० र साना खालका अन्डरपास २० वटा निर्माण हुने जनाइएको छ।

सडक विस्तार गर्न निर्माण कम्पनीले निर्माण सामग्रीहरु स्थानीय स्रोतबाट खरिद गर्नुपर्ने शर्त राखिएको छ। १२ वटा ठाउँमा आयोजनाका लागि क्याम्प निर्माण गरिनेछ।

आयोजनाका अनुसार साइट क्लियर भएपछि सन् २०२३ मा ठेकेदारलाई निर्माण कार्यका लागि जिम्मा दिइनेछ। आयोजनाका अनुसार यो सडक  विस्तार कार्य २०२६ सम्ममा पूरा भएर संचालनमा आउनेछ। यस सडक परियोजनाबाट १२ लाखभन्दा बढी मानिसहरु लाभान्वित हुनेछन्।

सडक विस्तारका क्रममा ३६७ धरधुरीको ३७७ वटा निजी संरचनाहरुलाई प्रत्यक्ष रुपमा असर गर्ने देखिएको छ। यस्तै, २६९ वटा सामुदायिक संरचनाहरु, १४२ वटा चौतारी, २२ वटा मठमन्दिर, ४० प्रहरी चौकी लगायतका निजी तथा सार्वजनिक संरचनाहरुलाई असर गर्नेछ।

यसैगरी यस आयोजनामा वन क्षेत्रबाट चार हजार ३५३ र अन्य रोडसाइडबाट आठ हजार १९५ वटा रुख काट्नु पर्नेछ।