BIZMANDU
www.bizmandu.com

फिटनेसमा गयो वीरगंजवासीको ध्यान, ठूलो लगानीका एक दर्जनभन्दा बढी जिम खुले

२०७९ असार १८

फिटनेसमा गयो वीरगंजवासीको ध्यान, ठूलो लगानीका एक दर्जनभन्दा बढी जिम खुले
फिटनेसमा गयो वीरगंजवासीको ध्यान, ठूलो लगानीका एक दर्जनभन्दा बढी जिम खुले


वीरगंज। बढ्दो सहरीकरणसँगै बसोबासीका खाँचो पनि फरक पार्दै लैजान्छन्। सडक, बत्ती, पानी, ग्यास र इन्टरनेटसँगै यतिबेला वीरगंजवासीको प्राथमिकतामा परेको छ- जिम।

Tata
GBIME
Nepal Life

स्वस्थ रहन मात्रै होइन, शारीरिक सुगठनका प्रतिष्पर्धामा पनि उत्रन ज्यान बनाउनेहरु बढ्दा यो क्षेत्रमा लगानी गर्नेहरु पनि थपिएका छन्। युवाहरु जहाँ हात-पाखुरा इच्छाअनुसारको आकारमा बनाउन कस्सिएका छन्, त्यहीँ वयस्कहरु रोगबाट बच्न एवं स्वस्थ रहन जिम क्लब धाउन थालेका छन्। 

जिम क्लबहरु जानेको बढेको संख्यासँगै वीरगंजमा अत्याधुनिक जिम खुलेका छन्। पाँच वर्ष अघिसम्म मुख्य बजारको माइस्थानमा स-साना जिम क्लब तथा जुम्बा डान्स फाट्टफुट्ट सुरु भएको थियो। अहिले लिंकरोड, लोहारपट्टि रोड, जेलरोड, माइस्थान, गहवा, नेशनल मेडिकल कलेज क्षेत्रमा जिम क्लबहरु धमाधम खुलेको वीरगंजका शारीरिक सुंगठनका खेलाडी करण यादव बताउँछन्।

मिस्टर वीरगंज २०१६ यादवका अनुसार हालसम्म वीरगंजमा करिब डेढ दर्जनभन्दा जिम क्लब खुलिसकेका छन्, अझै केही खुल्ने क्रममा छन्।
क्लब धमाधम थपिएसँगै त्यसका लागि चाहिने सामानको बजार पनि बढेको छ। 

२०१६ अघि वीरगंजमा स्वीमिङ पुल, हेल्थ क्लब, वीरगंज फिटनेस क्लब सीमित थियो। २०१७ मा करिब २५ लाख खर्च गरेर यादवले गहवामा आफनै पब्लिक फिटनेस सेन्टर सञ्चालनमा ल्याए। त्यसपछि भारतीय महावाणिज्य दूतावास कार्यालय नजिकै खेलाडी आलोक मिश्रले करिब ४० लाख लगानीमा आधुनिक जिम क्लब सञ्चालनमा ल्याए। 

नेशनल मेडिकल कलेजनजिकै अल्ताफ खानको ४५ लाखको लगानीमा मसल बैंक, लोहारपट्टीस्थित रुगंटा समूहको आरबी कम्पलेक्समा करिब ७० लाखको लगानीमा फिटलाइन जिम क्लब सञ्चालनमा आएको छ। त्यसैगरी रेल्वे रोडमा कांग्रेस नेता दिना गुप्ताले आफनै घरमा करिब ४५ लाखको लागतमा जिम क्लब सञ्चालन गरिरहेका छन्। दुई महिनाअघि लिंकरोडमा खेलाडी अरमान अन्सारीले ५० लाखको लागतमा जिम क्लब शुरु गरिसकेका छन्।

वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमका भाइ फिरोजले  छपकैयामा करिब ८ लाखको लगानीमा जिम क्लब चलाइरहेका छन्। वीरगंज नजिक बाराको परवानीपुरमा करिब ८ लाखको लागतमा ग्यालेक्सी फिटनेस सेन्टर सञ्चालनमा छ। बाराको जितपुर र सिमरामा एउटा/एउटा, कलैयामा दुई फिटनेस सेन्टर सञ्चालनमा छन्। वीरगंज करिडोरको बारा-पर्सामा करिब डेढ दर्जन जिम क्लब सञ्चालनमा रहेको खेलाडीहरु बताउँछन्।

‘आजका युवालाई सुन्दर र स्लिम देखिनु छ, कलेज पढिरहेका युवाहरुको आकर्षण जिमप्रति ह्वातै बढेको छ,’ आलोक फिटनेस क्लबका सञ्चालक आलोक मिश्रले भने, ‘अर्को पुस्तामा २५ देखि ५० वर्षका वयस्कहरु पनि जिमप्रति तानिएका छन्, सबै निरोगी र स्वस्थ रहन चाहन्छन्।’ 

जिम क्लबको व्यवसाय बढ्दो देखेर वीरगंजका व्यवसायिक घरानासमेत सुविधा सम्पन्न मल तथा कम्पलेक्समा जिम क्लबको अवधारणामा भौतिक संरचना तयार गर्न लगानी थपिरहेका छन्। सरदर एउटा जिम क्लबमा ६० जना पुरुष र २० जना महिला नियमित रहेको सञ्चालकहरुको भनाइ छ।

जिम क्लबमा लगानी थपिए पनि खेलाडी उत्पादनमा ध्यान गएन
यतिबेला जिम क्लबका सामान अत्याधुनिक छन्। धेरैवटा सेग्मेन्ट छन्। जिम क्लबका उपकरणमा यो आधुनिकता अघि पनि वीरगंजमा क्लबहरु थिए। ती क्लबले खेलाडी उत्पादन गर्थे।

सजिलो उपकरण र क्लब धेरै भएपछि बडीबिल्डिङका खेलाडी उत्पादन सहज हुनुपर्नेमा अहिले उल्टो भएको छ। जिम क्लब धमाधम खुल्न थाले पनि प्रतियोगिताका लागि खेलाडी उत्पादनमा सरोकारवाला निकायको ध्यान नगएको युवाहरु गुनासो गर्छन्।

पब्लिक फिटनेस सेन्टरका सञ्चालक करण यादवका अनुसार वीरगंजमा ६ वर्षदेखि शारीरिक सुगठनको प्रतियोगिता भएको छैन। ‘यहाँ सबैले जिम क्लबमा चासो दिएका छन् तर यसैसँग जोडिएको खेलप्रति सरकारी निकाय, निजी क्षेत्र र खेलाडी पनि उदासिन छन्,' उनले भने, 'स्थानीयस्तरमा एउटा प्रतियोगिता हुन सकेको छैन।' सबै पैसा कामाउनतर्फ मात्र केन्द्रित भएको उनले बताए। 

जिम क्लबहरुले २०१४ देखि जिम गर्नेहरुलाई एक हजारमा एडमिसन तथा एक हजार मासिक शुल्क लिने गरेका थिए। केहीमा शुल्क अलि बढी पनि छ। खेलाडी उत्पादनमा क्लबका सञ्चालकहरु एक हुन नसकेको उनले दुखेसो पोखे।