काठमाडौं। प्रस्तावित निजगढ विमानस्थल निर्माणका विषयमा सर्वोच्च अदालतले गत बुधबार फैसलाको पूर्णपाठ सार्वजनिक गर्यो। एक महिनाअघि सुनाइएको फैसलालाई त्यतिबेला निर्माणमा सर्वोच्चको रोक भन्दै प्रचार गरियो। सोहीअनुसार राजनीतिक दलका नेतृत्वले पनि अदालतको आलोचना गरे। मन्त्री र सांसदहरुले पनि सार्वजनिक रुपमै आलोचना गरे।
एक महिनापछि आएको फैसलाको पूर्णपाठमा पनि स्पष्टता भने देखिँदैन। बहुमतको आधारमा आएको फैसलामा बहुमत पक्षले न त स्पष्ट रुपमा निजगढमा निर्माण गर भन्न सकेको छ न त निर्माण नगर नै भन्न सकेको छ। अल्पमत पक्षले भने वातावरणलाई कम क्षति पुर्याई निजगढमा नै निर्माण गर्न सकिने सुझाव दिएको छ।
सर्वोच्चको फैसलाले विमानस्थलको आवश्यकता भने नकारेको छैन।
फैसलामा भनिएको छ, 'नेपालमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न विमानस्थलको आवश्यकता रहेको तथ्यमा विवाद देखिँदैन। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिनुपर्ने आवश्यकता रहेको कुरामा रिट निवेदकले पनि अन्यथा जिकिर गरेको पाइएन। वस्तुतः नेपालको हवाइ उडानलाई व्यवस्थित, भरपर्दो, सुरक्षित र सुविधाजनक कायम गरिनु आवश्यक नै देखिन्छ। यस कुरामा धेरै चर्चा परिचर्चा गरिरहनु आवश्यक पनि छैन।'
यति हुँदाहुँदै विमानस्थलका लागि चार किल्ला छुट्याइएको क्षेत्रफलबारे सर्वोच्चले प्रश्न उठाएको छ। 'विवादित विमानस्थल निर्माणका लागि जैविक विविधतायुक्त वन क्षेत्रसहितको ८ हजार ४५.७९ हेक्टर क्षेत्रफल जग्गा छुट्याउनुको कारण वा औचित्य पनि विशेष रुपमा विचारणीय छ,' फैसलाको पूर्ण पाठमा भनिएको छ, 'प्रस्तावित निजगढ विमानस्थल क्षेत्रका लागि कति जग्गा आवश्यक पर्ने हो भन्ने सम्बन्धमा कुनै तर्कपूर्ण र वस्तुगत मापदण्ड अपनाएको देखिन आउँदैन।'
प्रस्तावित विमानस्थलका लागि चार किल्ला तोकिएको क्षेत्रफलको स्पष्ट आधार नदेखिएको भन्दै विश्वका १३ वटा ठूला विमानस्थलको उदाहरण दिएको छ।
सर्वोच्चले आधार दिएका विमानस्थलहरु:
१. हिथ्रो, लण्डन
हिथ्रो विमानस्थलबाट ८४ वटा एयरलाइन्सले २०३ गन्तव्यका लागि उडान गर्दै आएका छन्। यहाँबाट वार्षिक सरदर ८०.१ मिलियन प्यासेन्जर १.७० मिलियन टन कार्गो बोक्ने गर्दछ। यो विमानस्थलका चार वटा ट्रमिनल र २ वटा रनवे सञ्चालनमा छन्। त्यस्तै यो विमानस्थल १२.२७ वर्ग किलोमिटर (१ हजार २२७ हेक्टर)मा फैलिएको छ। २०१८ को तथ्यांक हेर्ने हो भने हिथ्रो एयरपोर्ट होल्डिङ्सले सञ्चालन गर्ने यो विमानस्थलमा दैनिक दुई लाख १९ हजार ४५८ यात्रुले सेवा लिएका थिए। यो विमानस्थल अझै विस्तारको क्रममा छ। २०२८ सम्म विस्तारको योजनासहित यो विमानस्थल सञ्चालन भइरहेको छ।
हङकङ
१९९८ मा सञ्चालनमा आएको हङ्कङ अन्तर्राष्ट्रिय विमानस्थलबाट १२० विमान कम्पनीले विश्वाका २२० गन्तव्यलाई जोड्दै आएको छ। २०१९ को तथ्यांक हेर्दा यो विमानस्थलमा वार्षिक ७१.५ मिलियन यात्रुलालाई सेवा दिएको छ। त्यस्तै ४.८ मिलियन टन कार्गो सेवा प्रदान गरेको छ। यहाँ २२० पसल तथा ६० रेस्टुरेन्टसमेत सञ्चालनमा छन्। सो वर्ष यस विमानस्थलमा चार लाख १९ हजार ७९५ एयर ट्राफिक मुभमेन्ट भएको थियो।
यो विमानस्थल एक हजार २५५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यस विमानस्थलमा ९० वटा बोर्डिङ गेट र ७७ जेट ब्रिज गेट छन्। यो विमानस्थल विकासका २०३० सम्मको लक्ष्य राखिएको छ। त्यतिवेलासम्म प्रति ३६ सेकेन्डमा एक उडान हुने प्रतिवर्ष ९७ मिलियन यात्रुलाई सेवा दिने क्षमतामा विकास गरिने छ।
हर्टस्फिल्ड-ज्याक्सन अटलान्टा
विश्वको सबैभन्दा व्यस्त यस अटलान्टा विमानस्थल हाल पाँच वटा समानान्तर धावनमार्ग सञ्चालनमा छन्। यो विमानस्थल एक हजार ९०२ हेक्टर क्षेत्रफलमा फैलिएको छ। २०२१ को तथ्यांक हेर्ने हो भने यो विमानस्थलमा वार्षिक सात करोड ५५ लाख ३७ हजार २१३ यात्रु र सात लाख ३० हजार ९५५ मेट्रिक टन कार्गो सेवा दिएको थियो। त्यस्तै यस विमानस्थलमा वार्षिक सात लाख ७ हजार ६६१ उडान भएका थिए।
यो विमानस्थलबाट १५० आन्तरिक तथा ७० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएका छन्। यो विमानस्थल एकै वर्षमा १०० मिलियन यात्रुलाई सेवा दिने एकमात्र विमानस्थल हो। यो विमान स्थल २० वर्ष विकास योजनासहित विकासित हुँदै आएको छ।
इन्दिरा गान्धी, दिल्ली
दक्षिण एसियाकै व्यस्त विमानस्थलको उदाहरणका रुपमा सर्वोच्चको फैसलामा उल्लेख गरिएको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल २०६६ हेक्टरमा फैलिएको छ। २०२१ को अप्रिल देखि २०२२ को मार्चसम्मको तथ्यांक अनुसार यो विमानस्थलले ३ करोड ९३ लाख ३९ हजार ९९८ यात्रुलाई सेवा प्रदान गरेको छ। साथै सोही अवधिमा तीन लाख १९ हजार ५७१ उडान भएका छन्।
तीन वटा टर्मिनल सञ्चालनमा रहेको यो विमानस्थल विस्तार योजना अनुसार ४, ५ र ६ टर्मिनल निमार्णको चरणमा छ।
फ्रांकफर्ट
२ हजार ३०० हेक्टरमा फैलिएको यो विमानस्थलले २०२० मा एक करोड ८७ लाख ७० हजार ९९ यात्रुले सेवा लिएका थिए। सो वर्ष दुई लाख १२ हजार ३३४ उडान भएका थिए। यात्रु संख्या २०१९ मा सात करोड ५ लाख ६० हजार ९८७ थियो। यस विमानस्थलमा चार वटा रनवे सञ्चालनमा छन्।
दुबई
दुबई इन्टरनेसनल एयरपोर्ट दुई हजार ९०० हेक्टर क्षेत्रफलमा फैलिएको छ। यो विमानस्थल कार्गो सेवाका हिसाबले सबैभन्दा व्यस्त विमानस्थलको रुपमा रहेको यो विमानस्थलले २०१७ मा सबैभन्दा बढी ८ करोड ८० लाख बढी यात्रुलाई सेवा दिएको थियो भने चार लाख ९ हजार ४९३ उडान व्यवस्थापन गरेको थियो। तीन वटा टर्मिनल रहेको यो विमानस्थलमा दुई वटा धावनमार्ग छन्।
सिकागो
ओ'हारे इन्टरनेसनल एयरपोर्ट सिकागो तीन हजार ८७ हेक्टर क्षेत्रफलमा फैलिएको छ। चार वटा टर्मिनल रहेको यो विमानस्थलमा १९१ वटा गेट छन्। दुई वटा समानान्तर रनवे रहेको यो विमानस्थलले सबैभन्दा बढी २०१९ मा ८ करोड ४६ लाख ४९ हजार ११५ यात्रुलाई सेवा दिएको थियो। सो वर्ष ९ लाख १९ हजार ७०४ उडानलाई व्यवस्थापन गरेको थियो यो विमानस्थलले।
चार्ल्स दी गाउले,
पेरिसमा रहेको यो विमानस्थल तीन हजार २३७ हेक्टर क्षेत्रफलमा फैलिएको छ। २०१९ मा यो विमानस्थलले सात करोड ६१ लाख ५० हजार ७ यात्रुलाई चार लाख ९८ हजार १७५ उडानमार्फत सेवा दिएको थियो। यो विश्वकै ९ औं व्यस्त विमानस्थल हो। चार वटा रनवे र दुई वटा टर्मिनल मार्फत यो विमानस्थलले सेवा प्रदान गर्दै आएको छ।
सुवर्णभूमि, बैंकक
यो विमानस्थल ३ हजार २ सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ। दुई वटा टर्मिनल र तीन वटा रनवे (दुई सञ्चालित १ निर्माणाधीन)बाट वर्ष २०१९ मा ६ करोड ५४ लाख २४ हजार ५६४ यात्रुलाई ३ लाख ८० हजार ५२ उडानमार्फत सेवा प्रदान गरेको थियो।
कायरो
अफ्रिकाकै व्यस्त विमानस्थल इजिप्टको कायरो विमानस्थल ३ हजार ६ सय २५ क्षेत्रफलमा फैलिएको छ। तीन टर्मिनल र तीन रनवेमार्फत यस विमानस्थलले वार्षिक १ करोड ६० लाख बढी यात्रुलाई सेवा प्रदान गर्छ।
शाङहाई
यो विमानस्थल ३ हजार ९ सय ८८ हेक्टरमा फैलिएको छ। ६ वटा रनवे रहेको यो विमानस्थलले २०१९ मा ७ करोड ६१ लाख ५३ हजार ४ सय ५५ यात्रुलाई ५ लाख ८१ हजार ८ सय ४८ उडानमार्फत सेवा दिएको थियो।
जर्ज बुस
अमेरिकाको होस्टनमा रहेको यो विमानस्थल ४ हजार ४ सय ५१ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यो विमानस्थल अमेरिकाको १२ औं व्यस्त विमानस्थल हो। ६ वटा रनवे रहेको विमानस्थलबाट २०१९ मा ४ करोड ५२ लाख ६४ हजार ५९ यात्रुले सेवा लिएका थिए।
वासिङटन डुल्लेस
४ हजार ८ सय ५६ हेक्टर क्षेत्र फलमा फैलिएको छ यो विमानस्थल। चार वटा रनवे छन्। थप एउटा रनवे निर्माणको चरणमा छ। यो विमानस्थलमा सन् २००५ मा हालसम्मकै सबैभन्दा बढी २ करोड ७० लाख ५२ हजार ११८ यात्रुले सेवा पाएका थिए।
निजगढ विमानस्थल कत्रो?
अहिले निजगढ विमानस्थलका लागि भनेर छुट्याइएको क्षेत्रफल ८ हजार ४५ हेक्टर हो। यो क्षेत्रफलका हिसाबले विश्वकै तेस्रो ठूलो विमानस्थल हुन जान्छ। यो विमानस्थलभन्दा ठूला साउदी अरेबिया र अमेरिकाको डेनभर विमानस्थल ठूला हुनेछन्। साउदीको किङ फहाद इन्टरनेसनल एयरपोर्ट विश्वकै ठूलो हो। यो विमानस्थल करिब ७ सय ७६ वर्ग किलोमिटर क्षेत्रफलमा छ। जसमा विमानस्थलको भवन मात्र ३५ लाख २० हजार वर्गमिटर ठूलो छ। उक्त विमानस्थलबाट पुगनपुग १ करोड यात्रुले सेवा लिँदै आएका छन्।
१३५.७ वर्ग किलोमिटरमा फैलिएको डेनभर विमानस्थल अमेरिकाको ठूलो र विश्वकै दोस्रो ठूलो विमानस्थल हो। यो विमानस्थलमा ६ वटा रनवे छन्। २०१९ को तथ्यांकअनुसार यो विमानस्थलबाट ६ करोड ९० लाख बढी यात्रुले यात्रा गरेका थिए।
निजगढका लागि छुट्याइएको जग्गा विश्वका व्यस्त विमानस्थलभन्दा धेरै हो। २०७१ को सरकारको निर्णयबाट ८ हजार ४५.७९ हेक्टर जग्गा छुट्याइएको छ। यद्यपि अदालतमा प्रस्तुत बहसमा सरकारी पक्षले विमानस्थल १ हजार ९०० हेक्टरमा मात्र बन्ने दाबी पेस गरेका गरेको फैसलामा देखिन्छ। यसरी हेर्दा निजगढ विमानस्थल विश्वका अनेक व्यस्त विमानस्थल भन्दा आकारमा ठूलो हुनेछ।
फैसलामा आवश्यक भन्दा चार गुणा बढी जग्गा विमानस्थलका नाममा छुट्याउने कुरालाई उचित मानेको छैन। 'स्वेच्छाचारितापूर्ण निर्णय गर्नु सुशासनको मान्यता प्रतिकूलसमेत हुन जान्छ। परिणामत: विमानस्थलका लागि भनी ८ हजार ४५.७९ हेक्टर जग्गा छुट्याइएको कुराको औचित्यमा गम्भीर प्रश्न खडा हुन पुगेको छ।'