BIZMANDU
www.bizmandu.com

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ ले भन्यो, देशका ३०० उद्योग धराशायी हुँदैछन्

२०७९ असार १७

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ ले भन्यो, देशका ३०० उद्योग धराशायी हुँदैछन्
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ ले भन्यो, देशका ३०० उद्योग धराशायी हुँदैछन्


विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघले गत जेठ १५ को बजेटले मर्कामा पारेका स्यानिटरी प्याड, वनस्पति तेल र एमएस वायर रडमा आधारित गरी तीन थरी उद्योगका समस्या समाधान नगरे देशका ३०० भन्दा बढी उद्योग धराशायी हुने जनाएको छ।

Tata
GBIME
Nepal Life

महासंघको प्रदेश नम्बर १ को बिहिबार सम्पन्न चौथो प्रादेशिक साधारण सभाले १५ सूत्रीय प्रस्ताव पारित गर्दै देशका ३०० उद्योग धराशायी हुने र ठूलो मात्रामा बेरोजगारीको सृजना हुने उल्लेख गरेको हो।

पारित प्रस्तावमा भनिएको छ, ‘औद्योगिक कच्चा पदार्थमा भएको सरकारको वर्तमान नीतिले स्वदेशी स्यानिटरी प्याड, वायर उद्योग, वनस्पति तेल लगायतका स्वदेशी उद्योग धराशायी हुने देखिन्छ। सरकारले यस विषयमा तत्काल समाधान दिनुपर्छ। अन्यथा कठिन परिस्थितिको सृजना हुनेछ।’
पारित प्रस्तावमा सरकारले तीन थरीका उद्योगको समस्या समाधान गरेन भने त्यस अवस्था सम्बन्धित उद्योग र व्यावसायिक सङ्गठनहरू तेस्रो चरणको आन्दोलनमा उत्रिए भने महासङ्घको सक्रिय साथ र समर्थन हुने उल्लेख गरिएको छ।

प्रस्तावमा भनिएको छ, ‘भर्खरै संघ, प्रदेश र स्थानीय तहको बजेट आइसकेको अवस्था छ। मौद्रीक नीति आउने क्रममा छ । तीन तहकै अपरिपक्व बजेटका कारण देशको अर्थतन्त्र गम्भीर अवस्थामा छ। त्यसैले  नेपाल राष्ट्र बैङ्कबाट ल्याइने मौद्रिक नीति कसिलो हुनुपर्छ।’ साधारण सभाले बैङ्कको तरलताका कारणबाट सृजना हुन पुगेका व्यावसायिक समस्याको निराकरण गर्न उत्पादनशील क्षेत्रमा र अन्य क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर फरक हुनुपर्ने माग गरेको छ।

सभाले उत्पादनशील क्षेत्रमा प्रवाह हुने कर्जालाई एकल अङ्कमा नबढ्ने गरी कायम गर्नुपर्ने सुझाव दिएको छ।पारित प्रस्तावमा प्रदेश नम्बर १ को सरकारले प्रादेशिक बजेटमा राजधानी विराटनगरमा प्रादेशिक औद्योगिक प्रदर्शनी र विशेष आर्थिक क्षेत्र स्थापनाको कार्यक्रम ल्याए पनि कार्यान्वयन नगरिएको भन्दै यसलाई तत्काल लागु गर्न अनुरोध गरिएको छ।

त्यस्तै प्रदेश नं. १ को क्षेत्रीय विमानस्थल विराटनगरको स्तरोन्नतिको कामलाई अगाडि बढाउन बजेट मौन रहेकाले स्तरोन्नति कार्य  छायाँमा परेको प्रस्तावमा बताइएको छ। साधारण सभाले विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेको छ। साधारणसभाले सातै प्रदेशमा प्रदेशस्तरीय राजस्वन्यायाधिकरणको कार्यालय स्थापना गरिनुपर्ने प्रस्ताव पनि पारित गरेको छ।

सभामा पारित भएअनुसार महासङ्घको प्रदेश नम्बर १ ले आगामी २०७९ फागुन भित्र प्रादेशिक व्यापार मेलाको आयोजना गर्नेछ। त्यस्तै यस प्रदेशबाट अलैँची, चिया, सुपारी, अदुवा, अम्लिसो र जडीबुटीहरू विदेश निर्यात हुँदै आएको प्रस्तावमा उल्लेख गरिएको छ। 

प्रस्तावमा भनिएको छ, ‘सरकारले यस्ता निर्यातमूलक बालीनालीको प्रवद्र्धन गर्न पूर्वाधार विकासका साथै आधुनिक कृषि उपकरणको विकास गर्नु आवश्यक छ।’ साधारण सभाले कोभिड–१९ तथा रुस–युक्रेनको युद्धका कारण चियाको अन्तर्राष्ट्रिय बजार धरासायी भएको जनाएको छ। सभाले यस्ता अवस्थामा सरकारले अर्थोडक्स चियाको बजारीकरणका लागि विदेशी तथा स्वदेशी बजारमा प्रभावकारी योजना ल्याउनुपर्ने आग्रह गरेको छ।

साथै बजारीकरणमा देखिएको सिएफएल लगायतका कानुनी जटिलतालाई सहज बनाउन पहल गर्नु पर्ने प्रस्ताव पारित गरेको छ।
पारित प्रस्तावमा भनिएको छ, ‘नेपाल उद्योगवाणिज्य महासङ्घ अन्तर्गत अहिले जिल्ला तथा नगरमा स्थापना भएका उद्योग वाणिज्य सङ्घलाई मात्र सदस्यता दिने व्यवस्था छ। तर नगरोन्मुख गाउँपालिकामा समेत उद्योग वाणिज्य सङ्घहरू स्थापना गरिएका छन्। त्यसैले त्यस्ता सङ्घलाई नेउवा महासङ्घभित्र समेट्न हाललाई आमन्त्रित सदस्यका रूपमा मान्यता दिन आवश्यक प्रक्रिया सुरु गरिनेछ।’