BIZMANDU
www.bizmandu.com

सेयर खरिदबिक्रीमा हट्यो एओएन सेवा, टाठाबाठाले प्रयोग गर्ने फिचर हट्दा के हुन्छ फाइदा ?

२०७९ असार १७

सेयर खरिदबिक्रीमा हट्यो एओएन सेवा, टाठाबाठाले प्रयोग गर्ने फिचर हट्दा के हुन्छ फाइदा ?
सेयर खरिदबिक्रीमा हट्यो एओएन सेवा, टाठाबाठाले प्रयोग गर्ने फिचर हट्दा के हुन्छ फाइदा ?


काठमाडौं। धितोपत्र बोर्डको निर्देशनमा सेयर खरिदबिक्रीमा प्रयोग हुने 'अल अर नन' (एओएन) सेवा हटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आउँदो सातादेखि कारोबार व्यवस्थापन प्रणाली(टीएमएस)बाट एओएन फिचर हटाउने भएको हो। 

Tata
GBIME
Nepal Life

लगानीकर्ताहरुको १९ बुँदे माग कार्यान्वयनका लागि गठित समितिको पहलमा एओएन हटाउन धितोपत्र बोर्ड सहमत भएको हो। खरिद अथवा बिक्रीको चाप देखाउनका लागि एओनको प्रयोग टाठाबाठाले गर्दै थिए।

लाखौं कित्ताको परिमाण खरिद/बिक्री गर्दा महँगो मूल्य अथवा सस्तो मूल्यमा अर्डर राख्ने गरेका थिए। त्यसबाट कृत्रिम रूपमा अत्यधिक खरीदबिक्री चाप सिर्जना गर्न मिल्थ्यो। परिणाम स्वरुप अप्रत्यासित ढंगले स्टकको मूल्य घटबढ हुने गरेको थियो। 

एओएन फिचर प्रयोग गर्दा कबुल मूल्यमा खरिद अथवा बिक्री गर्न चाहेको सम्पूर्ण कित्ता संख्या मात्र कारोबार हुन्छ। जसका कारण ठूलो परिणाममा अर्डर राखेर चलखेल हुने गरेको आशंकासँगै धितोपत्र बोर्डले गत वर्षको  जेठ ३० गते खरिदतर्फको एओन फिचर हटाएको पनि थियो। 

नियामकीय निर्देशन भन्दै आधिकारिक सूचनाबिनै नेप्सेले बजार कारोबार व्यवस्थापन प्रणालीबाट खरिदतर्फको एओएन हटाएको थियो। 

तर बिक्री तर्फको सो व्यवस्था भने हटेको थिएन। एओएन फिचर पूर्ण तरिकाले हटेपछि लगानीकर्तालाई फाइदाभन्दा पनि घाटा हुने देखिन्छ।लगानीकर्ताले आवश्यक परिमाण कबुल मूल्यमा एकमुष्ठ बिक्री अथवा खरिद गर्न सक्थे। अब भने टुक्राएर बिक्री गर्नु जटिलता सिर्जना हुन सक्छ।

उदाहरणका लागि कुनै कम्पनीको १००० कित्ता सेयर तपाइँले २५० रुपैयाँमा बिक्री गर्न अर्डर अपलोड गर्नु भयो। एओएन फिचर नहुँदा अब एउटा खरिदकर्ता सम्पूर्ण नभई तपाइको ८५० कित्ता मात्र उल्लेखित मूल्यमा किन्न सक्छ। बाँकी १५० कित्ता तपाइँले पुन अर्को कारोबारमा बिक्री गर्नुपर्ने हुन्छ। परिणाम स्वरूप तपाइँले अब दोहोरो कमिसन तिर्नु भयो। ब्रोकर कमिसन अनुसार जति धेरै मूल्यको कारोबार हुन्छ, त्यति कम कमिसन तिर्नु पर्छ। 

अहिले ५० हजार रुपैयाँसम्मको कारोबार गर्दा तपाइँले ०.४० प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ। यदि सोभन्दा बढी रकमको कारोबार हुन्छ भने कमिसन शुल्क पनि बढ्दै जान्छ। अर्थात् ५० हजारदेखि ५ लाखसम्मको कारोबार गर्दा कमिसनवापत तपाईंले ०.३७ प्रतिशत तिरे पुग्छ।

त्यसैगरी ५ लाखदेखि २० लाखसम्मको कारोबार गर्दा ०.३४ प्रतिशत कमिसन छ भने २० लाखदेखि १ करोडसम्मको कारोबार गर्दा ०.३० प्रतिशत कमिसन र सोभन्दा माथिको कारोबार गर्दा ०.२७ प्रतिशत तिरे पुग्थ्यो ।

अघिको १००० कित्ता कारोबार अनुरुप कमिसन हिसाब गर्दा पहिलो कारोबारमा ८५० कित्ता सेयर २५० रुपैयाँमा  बिक्री गर्दा तपाइँले ७८६.२५ रुपैयाँ कमिसन बापत बुझाउनु पर्नेछ। पुन: अर्को कारोबारमा १५० कित्ता सोही मूल्यमा बिक्री गर्दा तपाइँले पुन: १५० रुपैयाँ कमिसन बुझाउनु पर्ने हुन्छ। यी दुई कारोबार गर्दा तपाइँले कुल ९३६.२५ रुपैयाँ ब्रोकर कमिसन बुझाउनु हुन्छ। यस बीच मूल्यको घटबढ हुने सम्भावना पनि रहन्छ।

तर सोही १००० कित्ता सेयर २५० रुपैयाँमा एओएन व्यवस्थामार्फत तपाइँले बिक्री गर्नु भएको थियो भने मात्र ९०० रुपैयाँ कमिसन बापत बुझाए पुग्ने थियो। सानो परिणाममा खासै असर नदेखिए पनि ठूलो परिणाममा गरिने कारोबार र बुझाइने कमिसन रकममा धेरै फरक पर्थ्यो।