BIZMANDU
www.bizmandu.com

यात्रु बढेपछि हवाई कम्पनी जहाज थप्ने होडमा, सौर्यले चार, बुद्धले तीन र यतीले दुई एटीआर ल्याउँदै


यात्रु बढेपछि हवाई कम्पनी जहाज थप्ने होडमा, सौर्यले चार, बुद्धले तीन र यतीले दुई  एटीआर ल्याउँदै
यात्रु बढेपछि हवाई कम्पनी जहाज थप्ने होडमा, सौर्यले चार, बुद्धले तीन र यतीले दुई एटीआर ल्याउँदै


काठमाडौं। यात्रुको चाप बढेपछि वायुसेवा कम्पनी जहाज थप्ने प्रतिस्पर्धामा छन्। बुद्ध, यती, श्री, तारा लगायत वायुसेवा कम्पनीले क्षमता जहाज थप्दैछन्।

Tata
GBIME
Nepal Life

बुद्ध एयरले अक्टोबर सम्ममा तीनवटा जहाज ल्याउने योजना बनाएको कम्पनीका विक्री तथा बजार प्रमुख रुपेश जोशीले बताए। अगस्ट, सेप्टेम्बर र अक्टोबरमा तीनवटा एटीआर-७२ सिरिजको जहाज ल्याउने उनले जानकारी दिए। 'अक्टोबरमा तीन वटा जहाज भित्र्याउँदैछौ,' प्रवक्ता जोशीले भने','त्यो आएपछि हामीसँग १९ वटा जहाज हुनेछ। त्यसले अहिलेको चाप धान्न सहज हुन्छ।'

हाल बुद्धले विचक्राफ्ट, एटीआर-४२ र एटिआर-७२ लगायत विभिन्न सिरिजको १६ वटा जहाजमार्फत मुलुकको विभिन्न गन्तब्यमा नियमित उडान सेवा दिँदै आएको छ।

यसैगरी यती एयरलाइन्सले सेप्टेम्बर पहिलो सातासम्म दुई वटा एटीआर-७२ सिरिजको जहाज ल्याउने भएको छ। कम्पनीले एउटा जहाज यही जुलाईमा ल्याउने कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन वर्तौलाले बताए।

हाल यो कम्पनीले पाँचवटा एटीआर-७२ सिरिजको जहाजमार्फत मुलुकको विभिन्न गन्तब्यमा नियमित उडान गर्दै आएको छ। थप दुई वटा जहाज संख्या विस्तार गरिएसँगै कम्पनीको जहाज संख्या सातवटा पुग्नेछ।

कम्पनीले टर्बोप्रोप जहाजमार्फत आन्तरिक सँगै अन्तर्राष्ट्रिय तर्फ नियमित उडानका लागि अध्ययन सुरु गरिसकेको उनले जानकारी दिए। हाल चारवटा डोर्नियर जहाजमार्फत मुलुकको विभिन्न दुर्गम गन्तब्यमा उडान सेवा दिँदै आएको सीता एयरले यही वर्षभित्र चारवटा एटीआर-७२ सिरिजको जहाज ल्याउने भएको छ।

कम्पनीले दसैंबाट चारवटा जहाज ल्याउने तयारी गरेको वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले बताए। 'जहाज थप्ने योजनालाई मूर्त रुप दिँदैछौं। आउँदो सेप्टेम्बरबाट अपरेशनमा आउने गरी तयारी भइरहेको छ। हामीले चारैवटा जहाज पर्चेज बेस्डमा ल्याउन लागेका हौँ,' वरिष्ठ महाप्रवन्धक आचार्यले भने।

यो कम्पनीले आफ्नो स्थापनाकालको दुई दशकपछि सुगम गन्तब्य उडान विस्तारका लागि प्रक्रिया अगाडि बढाएको हो।

सौर्य एयरलाइन्सले यही वर्ष चारवटा एटीआर जहाज ल्याएर आन्तरिक तर्फको उडान विस्तार गर्ने योजना बनाएको छ। तीनवटा बम्बार्डियरको सीआरजे जेट जहाज क्षेत्रीय र एटीआर जहाज आन्तरिक उडानमा प्रयोग गर्ने योजना रहेको अध्यक्ष दीपक पोखरेलले बताए।

कम्पनीले एटिआर ल्याएसँगै जेट इन्जिन जहाजमार्फत कोलकाता, बंगलादेश, गोवा, बैंगलोर लगायत क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्ने उनले जानकारी दिए। कम्पनीले क्षेत्रीय अन्तर्राष्ट्रिय उडानका लागि उड्डयन मन्त्रालयमा प्रक्रिया सुरु गर्ने उनले बताए। हाल तीनवटा सीआरजे २०० सिरिजको जहाजमार्फत यो कम्पनीले उडान गर्दै आएको छ।

जहाज संख्या विस्तारका लागि भारतीय  कम्पनी कुबेर समुहका प्रतिनिधिले आएर विभिन्न गन्तब्यको सम्भाव्यता अध्ययन गरिसकेको उनले जानकारी दिए। यो कम्पनीले सौर्यको सेयर किनिसकेको छ। कम्पनीको नाम परिवर्तन गर्ने प्रक्रिया समेत अगाडि बढिरहेको छ।  'समुहका प्रतिनिधि २० दिन बसेर सम्भावित अध्ययन गरेर गएका छन्। सुरुमा चारवटा जहाज ल्याउने योजना पक्का पक्की भएको छ,' उनले भने। जहाज ल्याउँदा तीन अर्ब रुपैयाँ लाग्ने अनुमान छ।