काठमाडौं। विश्वका धनी राष्ट्रहरुले रुसबाट सुन आयातमा प्रतिबन्ध लगाउने भएका छन्। विश्वका केही धनी राष्ट्रहरूले रूसको अर्थतन्त्रलाई अझ कमजोर बनाउन रूसी सुन आयात प्रतिबन्ध लगाउने निर्णयमा पुगेका हुन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार संयुक्त राज्य अमेरिकाले ऊर्जापछि देशको दोस्रो सबैभन्दा बहुमूल्य निर्यात रूसी सुनमाथि प्रतिबन्ध लगाउने बताए।
यता ब्रिटेन सरकारका अनुसार सन् २०२१ मा रुसी अर्थतन्त्रमा सुनको निर्यात १२.६ अर्ब पाउण्ड अर्थात १५.५ अर्ब डलर थियो।
युक्रेन आक्रमणमा राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारलाई सजाय दिने नयाँ तरिकाहरूबारे छलफल गर्न हाल जर्मनीमा बाइडेन र जी७ नेताहरू भेला भएका छन्। उनीहरुले तनावग्रस्त विश्व अर्थतन्त्रमा गिरावटलाई स्थिर गर्ने प्रयास गरिरहेका छन्।
प्रतिबन्धले पुटिनको कोष जुटाउने क्षमतामा ठूलो प्रभाव पार्ने एक प्रेस विज्ञप्तिमा उल्लेख छ।
आयात प्रतिबन्ध भर्खरै माइनिङ गरेका र रिफाइनिङ गरिएका सुनमा लागू हुनेछ। तर यसले रूसमा खनिएको र पहिले देशबाट निर्यात गरिएको सुनलाई असर गर्दैन।
फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण भएदेखि नै केही प्रमुख बजार खेलाडीहरूले रूसको सुन निर्यातलाई त्यागिसकेका थिए।
सुन र चाँदीको व्यापारको लागि विश्वकै सबैभन्दा ठूलो र पुरानो बजारलाई नियन्त्रण गर्ने लण्डन बुलियन मार्केट एसोसिएसन (एलबीएमए) ले मार्च ७ मा सबै ६ वटा रूसी सुन खानीमा काम गर्ने खानी मजदुरहरू र रिफाइनरहरूको व्यापार निलम्बन गरेको थियो।
तर भारतका लागि भने अवसर हुन सक्ने विज्ञहरुको भनाइ छ। कच्चा तेल खरिद जस्तै आयात गर्न सकिए यसले भारतलाई ठुलो फाइदा हुनेछ।
सुनका लागि विश्वको सबैभन्दा ठूलो बजार भारत हो। मुम्बई स्थित ब्रोकरेज प्रभुदास लिलाधारका वस्तु तथा मुद्रा अनुसन्धान विश्लेषक मेघ मोदीले भारतका लागि सस्तो दरमा रुसबाट सुन प्राप्त गर्ने 'अवसर' समेत हुन सक्ने बताए।
'कच्चा पदार्थ जस्तै सुन रूबलमा उपलब्ध हुन सक्छ कि सक्दैन हेर्ने अवसर हुनेछ। यस्तो भयो भने भारतले डिस्काउन्ट दरमा सुन प्राप्त गर्न सक्छ,' उनले भने।
दक्षिण एसियाली देशले युद्ध सुरु भएदेखि नै चर्को छूटमा रूसी तेल खरिद गरिरहेका छन्।
चीनपछि भारत विश्वकै दोस्रो ठूलो सुनको खरिदकर्ता हो। आर्थिक अवस्थाले उनीहरूको उपभोग पद्धतिमा ठूलो प्रभाव पार्ने विश्लेषकहरूबताउँछन्। रूसी सुनको उपलब्धता नभएकोले प्रतिबन्धले आपूर्तिको अभाव सृजना गर्न सक्ने पनि अर्को छुटै डर रहेको छ।