BIZMANDU
www.bizmandu.com

ठमेलको एलओडी बन्यो संसारकै ५२औं लोकप्रिय नाइट क्लब, अब टप टेनमा आउने लक्ष्य, १६ करोड लगानी

२०७९ असार १५

ठमेलको एलओडी बन्यो संसारकै ५२औं लोकप्रिय नाइट क्लब, अब टप टेनमा आउने लक्ष्य, १६ करोड लगानी
ठमेलको एलओडी बन्यो संसारकै ५२औं लोकप्रिय नाइट क्लब, अब टप टेनमा आउने लक्ष्य, १६ करोड लगानी


काठमाडौं। राजधानीको ठमेलमा रहेको नेपालकै ठूलो नाइट क्लब 'लर्ड अफ ड्रिङ्क्स' (एलओडी) संसारकै ५२औं उत्कृष्ट नाइट क्लबमा पर्न सफल भएको छ।

Tata
GBIME
Nepal Life

बेलायतको मासिक पत्रिका डिजे म्यागले गरेको भोटिङका आधारमा एलओडीले कुल पाँच सयभन्दा बढी प्रतिस्पर्धीमध्ये ५२औं स्थान हासिल गर्न सफल भएको एलओडीका सहसंचालक तथा सीईओ रवीन श्रेष्ठले बताए।

स्थापना भएको तीन वर्षमै एलओडी यो उपलब्धी हासिल गर्न सफल भएको हो। यो क्लब सन् २०१९ फेब्रुअरीबाट संचालनमा आएको थियो। राजधानी शहरलाई राती समेत जिवन्त बताउनका लागि नाइट लाइफ कल्चर विस्तार गर्ने उद्देश्यले क्लब संचालनमा ल्याइएको श्रेष्ठको भनाइ छ।

पहिलो अन्तर्राष्ट्रिय डिजे एन्टोबाट प्रस्तुति सुरु गरिएको क्लबले चर्चित नेपाली र अन्तर्राष्ट्रिय कलाकारमार्फत ग्राहकलाई मनोरञ्जन गराउँदै आएको छ। सहसंचालक श्रेष्ठका अनुसार क्लबले ९० प्रतिशत नेपाली कलाकार र हालसम्म एक सयभन्दा बढी अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुतिलाई यस क्रममा समेटिसकेको छ।

सन् २०२० मा कोभिडका कारण संचालन चुनौति झेल्दै आएको नाइट क्लब संक्रमण नियन्त्रणमा आएसँगै पछिल्लो समय पुरानै लयमा फर्किसकेको उनले जानकारी दिए।

'यो प्रतिस्पर्धाबारे हामीलाई त्यति आइडिया थिएन। तीन वर्षको दौरानमा डिजे म्यागसँग सम्पर्क भयो। हामीलाई यस्तो प्रतिस्पर्धाबारे पहिले नै जानकारी हुन्थ्‍यो भने टप टेनमा नै आउथ्यौं कि जस्तो लाग्छ। निकट भविष्यमा हामी टप टेनमा आउने छौं,' बुधबार आयोजित कार्यक्रममा श्रेष्ठले भने।

नेपाल भ्रमणमा आउँदा एलओडीमा अनुभव लिएका अन्तर्राष्ट्रिय पर्यटक र एक सयभन्दा बढी अन्तर्राष्ट्रिय कलाकारहरुको प्रतिक्रियाका आधारमा यो उपाधी पाउन सफल भएको उनले बताए। उनका अनुसार यो प्रतिस्पर्धाका लागि प्रस्ताव डिजे म्यागबाटै आएको थियो।

एलओडी स्थापनाको पृष्ठभूमि सम्झँदै उनले भने, 'यो व्यवसाय एडिक्सन रहेछ। सुरुमा हामीले कर्मा क्लब सुरु गर्यौं। आफूलाई पनि रमाइलो ग्राहकलाई पनि मनोरञ्जन दिने अवसर। एलओडी स्थापनाका लागि डेढ वर्ष सम्भावना अध्ययन गर्यौं।  चीन लगायत विभिन्न मुलुकमा इन्टेरियर डिजाइनर, साउण्ड इन्जिनियर गएरै अध्ययन गरिएको थियो।

उपाधि भोटिङका आधारमा भएको थियो। तर भोटिङ ओरिजिनल र फेक के हो भन्ने डीजे म्यागले नै अनुसन्धान गरेर छनोट गरिएको उनको भनाइ छ।

क्लबले आगामी दिनमा आफ्नो सेवा थप नौलो र आकर्षक बनाउँदै लाने उनले बताए। क्लबले निकट भविष्यमा बिर्तामोड, पोखरा, बुटवल लगायतमा फ्रेन्चाइज ल्याउने योजना बनाएको उनले जानकारी दिए।

'अहिले भारत बङ्गलादेशमामा पनि एलओडीको नाममा प्याकेज वितरण भैरहेको छ। नेपाल आयो भने काठमाडौं आउनै पर्ने, काठमाडौं आयो भने ठमेल र ठमेल आयो भने एलओडी जानै पर्ने चलन सुरु भैसकेको छ। हामी मुलुकको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय बजारलक्षित आकर्षक प्याकेज ल्याउने तयारीमा छौं।'

१८ सयदेखि दुई हजारजना अटाउने क्षमता रहेको यो क्लबमा बाउन्सरदेखि वेटरसम्म गरी डेढ सयभन्दा बढी कर्मचारी कार्यरत छन्।

ठमेलमा २६ आना जग्गा लिजमा लिएर सुरु यो क्लब ९६०० वर्गफिट फ्लोर स्पेस रहेको छ। क्लबमा १६ करोड रुपैयाँ हाराहारी लगानी भएको श्रेष्ठले जानकारी दिए।

डिजे म्यागको यो उपाधीको श्रेय श्रेष्ठले आफ्ना ग्राहक, टिम मेम्बरदेखि एलओडीमा अवद्ध कर्मचारी लगायतलाई दिए।