BIZMANDU
www.bizmandu.com

एमजी गाडी बेच्ने प्यारामाउन्ट मोटर्सको कारोबार ३ अर्ब नाघ्यो, २०२२ मै बेचिसक्यो ७०५ युनिट गाडी


काठमाडौं। मोटर उत्पादक कम्पनी मोरिस ग्यारेजेज (एमजी) को नेपालका आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सको कारोबारमा उछाल देखिएको छ। विद्युतीय गाडीको बिक्री बढ्दा कम्पनीको कारोबार ह्वात्तै उकालो लागेको हो। 

Tata
GBIME
Nepal Life

कम्पनीले २०२२ को आठ महिनामा ७ सय ५ वटा गाडी बेचेको छ। २०२१ मा कम्पनीले जम्मा १ सय ३७ वटा गाडी बेचेको थियो। २०२१ मा जम्मा ७१ करोड १० रुपैयाँ व्यापार गरेको कम्पनीले २०२२ को आठ महिनामा ३ अर्ब २८ करोड १० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ।

यसले एमजी जेड एस इभी धेरै बिक्री गरेको छ। यसले एमजीका जीएस, एचएस र हेक्टर पनि बिक्री गर्दै आएको छ।

२०१८ बाट एमजी गाडीको आधिकारिक वितरकका रूपमा संचालनमा आएको कम्पनीले २०२० मार्चबाट जापानको माज्दा मोटर कर्पोरेसनको नेपालका लागि आधिकारिक वितरक बनेको थियो। कम्पनीले २०२० मा ७९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो।

कम्पनीले २०२१ मा गरेको कुल आम्दानीको ७४ प्रतिशत एमजीको विद्युतीय गाडी बिक्रीबाट कमाएको छ। सरकारले आगामी आव २०७९/८० को बजेटबाट १०० किलोवाटभन्दा बढीका विद्युतीय गाडीको अन्तःशुल्क र भन्सार दर वृद्धि गरेपछि एमजीको विद्युतीय गाडीहरुको मूल्य कम्तिमा ३० प्रतिशतले महँगिने कम्पनीले जनाएको छ। 

कम्पनीले काठमाडौं, विराटनगर, भरतपुर, बुटवल, नेपालगञ्ज लगायतका प्रमुख सहरहरुमा कुल १० वटा डिलर संचालनमा ल्याएको छ। कम्पनीको काठमाडौंको नक्सालमा शोरुम छ। सर्भिस सेन्टर धुम्बाराहीमा र एउटा गोदाम वीरगंजमा रहेको कम्पनीले जनाएको छ।

२०२१ मा कम्पनीले आफ्नै शोरुमबाट ९८ वटा र डिलरहरुबाट ३९ वटा गाडी बेचेको छ। २०२१ मा सरकारले विद्युतीय गाडीमा कर बढाएसँगै कम्पनीको कारोबार केही खुम्चिन पुगेको छ। सँगै कोरोना महामारीको असरसमेत कम्पनीको कारोबारमा परेको थियो। 

कम्पनीले नेपाली बजारमा हुन्डाई, होण्डा, टोयोटा, निसान, फक्सवागन. फोर्ड, टाटा मोटर्स र जीपसँग प्रतिष्पर्धा गरिरहेको छ। 

कम्पनीले एक अर्ब ५५ करोड रुपैयाँ बैंकिङ कर्जाका लागि केयर रेटिङ्स नेपालबाट रेटिङ गराएको छ। १५ करोड रुपैयाँ दीर्घकालीन कर्जाका लागि एनपी ट्रिपल बी माइनस र एक अर्ब ४० करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए थ्री रेटिङ पाएको छ।

मोरिस ज्यारेजेज बेलायतको पुरानो मोटर उत्पादक हो। नेपालमा प्यारामाउन्टले उक्त कम्पनीको चिनियाँ प्लान्टबाट उत्पादित गाडी भित्र्याउने गरेको छ। एमजी मोटरमा चीनको सांघाईको अटोमोटिभ एसएआइसी मोटर कर्पोरेसन लिमिटेडको स्वामित्व छ।