BIZMANDU
www.bizmandu.com

विस्तारै टीआइए फर्किन थाले अन्तर्राष्ट्रिय वायुसेवा, कन्जेसन बढे स्लट व्यवस्थापन भैरहवामा

२०७९ असार १३

विस्तारै टीआइए फर्किन थाले अन्तर्राष्ट्रिय वायुसेवा, कन्जेसन बढे स्लट व्यवस्थापन भैरहवामा
विस्तारै टीआइए फर्किन थाले अन्तर्राष्ट्रिय वायुसेवा, कन्जेसन बढे स्लट व्यवस्थापन भैरहवामा


काठमाडौं। कोभिड संक्रमण अचानक सुरु भएपछि काठमाडौंसँगको हवाई उडान स्थगन गरेका अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरु पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्कन थालेका छन्। काठमाडौंसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडानहरु भइरहेका छन्।

Tata
GBIME
Nepal Life

अबको केही महिनामा अझ धेरै वायुसेवा नेपालसँग जोडिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। कोरोना संक्रमण घटेसँगै धेरैजसो वायुसेवाले काठमाडौं जोडेर व्यवसायिक उडान नियमित गरिसकेका छन्। आउन बाँकी कतिपय वायुसेवा कम्पनी प्रक्रियामा छन्।

कोभिडका कारण उडान बन्द गरेका कम्पनीले आफ्नो उडान पुनः संचालन गर्ने तयारी सुरु गरेसँगै काठमाडौंको आकाशमा हुने चाप घटाउन नागरिक उड्डयन प्राधिकरणले हवाई ट्राफिकको वैकल्पिक योजना बनाइसकेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ज्यादै कन्जेसन भएको अवस्थामा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्लट व्यवस्थापन गर्ने विकल्प बनाएको प्राधिकरणले जनाएको छ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हाल टीआइएमा अन्तर्राष्ट्रियतर्फ २४ वटा वायुसेवा कम्पनीले नियमित उडान गर्दैं आएका छन्। यी कम्पनीले चार्टर र नियमित गरी दैनिक करिब ७० वटा उडान गर्दै आएका छन्।

दैनिक ११ हजार यात्रुले सेवा लिँदै आएको उनले जानकारी दिए। 'कोभिड महामारीअघि अन्तर्राष्ट्रियतर्फ दैनिक ९० वटा उडान हुने गरेको थियो। अझै सामान्य अवस्थामा आउन बाँकी नै छ,' उनले भने, 'चिनियाँ वायुसेवा कम्पनीका उडानहरु फेरि सुरु हुन बाँकी नै छ। उनीहरु पनि नियमित भएपछि उडान संख्या र यात्रु संख्या अझै बढ्छ।'

असार १७ बाट थाइ स्माइल र कोरियन एयरले उडान गर्ने

आगामी शुक्रबार (असार १७) बाट थाइ स्माइल र कोरियन एयरलाइन्सले काठमाडौं जोड्दै नियमित उडान सुरु गर्ने भएका छन्। कोरियाको ध्वजावाहक कम्पनीले साताको सात उडान गर्नका लागि प्रक्रिया सुरु गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

'थाइ स्माइलले साताको सातवटा उडान गर्नका लागि स्लट पाइसेकको छ। जुलाइ १ बाट उडान गर्नेछ। कोरियन एरलाइन्सले पनि १ तारिखबाटै उडान गर्ने गरी प्रक्रिया सुरु गरिसकेको छ,' प्रवक्ता निरौलाले भने, 'कोभिड नियन्त्रणसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा संचालनमा आएको छ। विदेशी कम्पनीले धमाधम नियमित उडान पुनः सुरु गरेका हुन्।'

नेपालका लागि थाइ स्माइलको जीएसए सोसाइटी इन्टरनेशनल ट्राभल छ। यतिखेर यो गन्तव्य उडानका लागि माग राम्रो रहेको सोसाइटीले जनाएको छ। थाइ स्माइल सन् २०११ मा स्थापना भएको लो कस्ट वायुसेवा कम्पनी हो।

यो कम्पनीले सन् २०१२ बाट आफ्नो व्यावसायिक उडान सुरु गरेको थियो। यस अघि चार्टर उडान गर्दै आएका कम्पनीले दुई वर्षपछि नियमित उडान सुरु गर्न लागेको उनले जानकारी दिए।

उनका अनुसार थाइ स्माइलले दिउँसोको स्लट पाएको छ भने कोरियन एयरको स्लट निश्चित हुन बाँकी नै छ।