काठमाडौं। स्वास्थ्य बीमा बोर्डले बीमितहरुलाई नियमितरूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सबै सेवा प्रदायक संस्थाहरुलाई आग्रह गरेको छ।
स्वास्थ्य सेवा उपलब्ध गराए बापतको दाबी भुक्तानी नपाएपछि पछिल्ला केही सातायता बिभिन्न अस्पतालहरुले सेवा रोक्ने चेतावनी दिन थालेका छन्। त्यसको जवाफमा बोर्डले एक विज्ञप्ति जारी गर्दै अस्पतालहरुलाई स्वास्थ्य सेवा नरोक्न आग्रह गरेको हो।
सेवा प्रदायक संस्थाहरुले आर्थिक वर्षको अन्तमा भुक्तानी नहुने भन्ने आशंकामा सेवा स्थगन गरिने सूचना आएको बोर्डले जनाएको छ। तर स्वास्थ्य बीमा कोष व्यवस्थापन तथा संचालन कार्यविधि ,२०७८ अनुसार स्वास्थ्य बीमा कोष स्थापना भई बोर्डमा प्राप्त सम्पूर्ण रकम उक्त कोषमा मौज्दात रहने व्यवस्था भएकाले परीक्षण भएका दाबीहरु १२ महिना नै भुक्तानी गर्न सकिने व्यवस्था छ।
यसका लागि परीक्षण भएका दाबीहरुको भुक्तानी यथाशीघ्र गर्ने कार्यमा बीमा बोर्ड लागि परेको जनाएको छ। आगामी दिनमा कार्यतालिका तयार गरी नियमित भुक्तानी गर्ने बोर्डले प्रतिबद्धता जनाएको छ। बीमा बोर्डमा दैनिक हुने दाबी बढ्दो क्रममा रहेको कारण दाबी प्रविष्ट र परीक्षण गर्ने अनुपातमा तादाम्यता मिलाउन जनशक्तिको अभावमा केही बिलम्ब हुन गएको यथार्थ भएको बोर्डले जनाएको छ।
आगामी दिनमा वैज्ञानिक विधि अपनाइ परीक्षण गर्ने तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ। चालु आर्थिक वर्षको जेट १५ सम्मको १८ लाख ५३ हजार ९ सय ५३ वटा दाबीलाई प्राथमिकताका साथ परीक्षण गर्ने कार्यभइरहेको जानकारी गराएको छ।
बोर्डले आर्थिक वर्ष २०७८/७९ मा विगत वर्षका बाँकी रहेका १९ लाख ९ हजार ५७ संख्याका दाबी र चालु आर्थिक वर्षको ३३ लाख ७५ हजार ८ सय ३७ गरी कुल ५२ लाख ८४ हजार ८ सय ९४ दाबीहरु परीक्षण गरी ८ अर्ब १३ करोड रुपैयाँ दाबी भुक्तानी भइसकेको विज्ञप्तिमा उल्लेख छ।