BIZMANDU
www.bizmandu.com

अर्थमन्त्रीले झुट बोलेको भन्दै पूर्वका उद्योगी सडकमा, ‘अर्थमन्त्रीलाई पदमा बस्ने अधिकार छैन’


अर्थमन्त्रीले झुट बोलेको भन्दै पूर्वका उद्योगी सडकमा, ‘अर्थमन्त्रीलाई पदमा बस्ने अधिकार छैन’
अर्थमन्त्रीले झुट बोलेको भन्दै पूर्वका उद्योगी सडकमा, ‘अर्थमन्त्रीलाई पदमा बस्ने अधिकार छैन’

विराटनगर। पूर्वका उद्योगी र मजदुरहरूले अर्थमन्त्री जनार्दन शर्मा विरुद्ध प्रदर्शन गरेका छन्। आर्थिक वर्ष २०७९/८० को बजेटमा भएको राजस्व हेरफेर पुनर्विचार गर्ने प्रतिवद्धता अर्थमन्त्री शर्माले गरेका थिए।

Tata
GBIME
Nepal Life

तर शर्माले प्रतिवद्धता अनुसार पुनर्विचार नगरेपछि उद्योगी र मजदुरले प्रदर्शन गर्दै दोस्रो चरणको आन्दोलन सुरु गरेका हुन्। उनीहरुले अर्थमन्त्री शर्माको माग समेत गरेका थिए।मोरङको बुढीगङ्गा गाउँपालिकामा पर्ने धरान–विराटनगर राजमार्गको गोकुवा चोकबाट विरोधजुलुस र नेमुवा चोककमा कोणसभाको आयोजना गरिएको थियो।

वनस्पति घिउतेल, स्यानिटरी प्याड र एमएस वायर रडमा आधारित उद्योगलाई बजेटले मार्का पारेको भन्दै बुधबारदेखि तीन व्यावसायिक सङ्गठन र चार मजदुर सङ्गठनले दोस्रो चरणको संयुक्त आन्दोलन सुरु गरेका हुन्।

आन्दोलनमा मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घ (सिएनआई)–को प्रदेश नम्बर १ सहित नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एस समर्थित ४ ट्रेड युनियन सहभागी छन्।

विरोध जुलुसपछि आयोजित कोणसभामा संविधान सभा सदस्य एवम् मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष पवनकुमार शारडाले झुट बोल्ने अर्थमन्त्रीलाई पदमा एक मिनेट पनि बस्ने अधिकार नभएको बताए।

उद्योगी शारडाले गत जेठ २७ गते अर्थमन्त्री शर्मा र अर्थसचिव मधुकुमार मरासिनीले उद्योगीव्यवसायीलाई वार्तामा बोलाएर बजेट पास भएका भोलिपल्टै तीन वटै उद्योगका समस्या समाधान गर्ने वचन दिएपनि अहिले कार्यान्वयन नगरेको आरोप लगाए।

शारडाको प्रश्न थियो, ‘अर्थमन्त्रीको बोली वचन कहाँ हरायो ? हामीबाट त्रुटि भयो सच्याउँछौँ भन्ने अर्थसचिवको नैतिकता के भयो ?हामीसित किन झूठ बोलियो ? के झूठ बोल्ने शासकहरू सत्तामा बस्न योग्य हुन्छन् ?’ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले अर्थमन्त्री र अर्थसचिवले आश्वासन दिँदा एफएनसिसिआईका अध्यक्ष शेखर गोल्छा र सिएनआईका अध्यक्ष विष्णकुमार अग्रवालपनि सँगै रहेको उल्लेख गरे।

उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले अर्थमन्त्री र अर्थसचिवले आफ्नो बचन पूरा नगरेको बताए। सिएनआई प्रदेश नम्बर १ का अध्यक्ष भीम घिमिरेले जेठ २७को आश्वासनको परिणाम अहिलेसम्म नआएको गुनासो गर्दै यो मुलुकमा आन्दोलनन गरी केही नहुने परम्परा बसेकाले व्यवसायी र मजदुर संयुक्त रूपमा सडकमा निस्किएको बताए।

व्यापार सङ्घका पूर्व अध्यक्षप्रकाश मुन्दडाले व्यवसायी र मजदुर सडकमा आउनमा सरकार जिम्मेवार भएको हुँदा यो आन्दोलनमाकुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने बताए। जस्मिन हाइजिनका स्यानिटरी प्याडका सञ्चालक पुनीत शारडाले विराटनगरबाट सुरु भएको यो आन्दोलन अब सिंहदरबार र सर्वोच्च अदालतसम्म पुग्ने चेतावनी दिए।