BIZMANDU
www.bizmandu.com

कोशी अस्पतालको कायापलट योजनाः ५०० शय्यामा स्तरोन्नती, ७ अर्ब लगानी, ५८ रोपनीमा आधुनिक पूर्वाधार


कोशी अस्पतालको कायापलट योजनाः ५०० शय्यामा स्तरोन्नती, ७ अर्ब लगानी, ५८ रोपनीमा आधुनिक पूर्वाधार
कोशी अस्पतालको कायापलट योजनाः ५०० शय्यामा स्तरोन्नती, ७ अर्ब लगानी, ५८ रोपनीमा आधुनिक पूर्वाधार


काठमाडौं। विराटनगरको कोशी अस्पतालको पूर्वाधार तथा स्वास्थ्य सेवा सुविधाको दीर्घकालिन स्तरोन्नतीका लागि गुरुयोजना तयार पारिएको छ। अत्याधुनिक भवन निर्माणदेखि विशिष्‍टीकृत सेवामा अस्पताललाई अब्बल बनाउनेसम्मका सोच गुरुयोजनाले अघि सारेको छ। 

Tata
GBIME
Nepal Life

गुरुयोजनाअनुसार पूर्वी नेपालको यो सबैभन्दा पुरानो अस्पताललाई स्तरोन्नती गर्नका लागि सात अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। 

अस्पतालको दीर्घकालीन विकासका लागि बनाइएको गुरुयोजनाअनुरुप अहिले यसको पूर्वाधार निर्माण प्रक्रिया अघि बढेको छ। 

अस्पतालको नयाँ अत्याधुनिक भवन बनाउनका लागि सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइ मोरङलाई जिम्मेवारी दिइएको छ। इकाइले अस्पतालको गुरुयोजनामा पर्ने १० तले आधुनिक सुविधायुक्त भवन निर्माणका लागि मंगलबार बोलपत्र आह्वान गरेको छ।

हालको पूर्वाधारले बिरामीको चाप थेग्न नसकिरहेकाले अस्पतालको स्वास्थ्य सेवाको दीर्घकालीन गुणस्तरीय हल हुने गरी गुरुयोजना अनुरुप पूर्वाधार विकासको काम अघि बढाइएको अस्पताल स्रोतले जानकारी दिएको छ।

मंगलबार बोलपत्र आह्वान गरिएको बेसमेन्टसहित १० तलाको हुने मेडिकल भवन निर्माणको अनुमानित लागत २ अर्ब ५८ करोड रुपैयाँ रहेको छ।
यसको ठेक्का पाउने निर्माण कम्पनीले सम्झौता भएको मितिबाट ३६ महिनामा भवन तयार पारिसक्नु पर्नेछ।

गुरुयोजना निर्माण, संगठन र व्यवस्थापन, सर्भे लगायतका कामका लागि ठेक्का आह्वान गरिएको हो। अस्पतालले नयाँ भवनमा न्युरोलोजी, कार्डियोलोजी, आईसीयु, इमर्जेन्सी लगायत विशिष्टीकृत सेवाहरू समेत उपलब्ध गराउने योजना बनाएको छ। यस गुरुयोजनाको क्षेत्रफल २९ हजार ६१० स्क्वायर मिटर अर्थात ५८ रोपनी रहेको छ।

संघीय आयोजना कार्यान्वयन इकाई मोरङका सिनियर इन्जिनियर अशोककुमार रामका अनुसार यसमा आवेदन दिने ठेकेदार कम्पनीको कम्तिमा २ अर्ब १७ करोडको बिडिङ क्षमता भएको हुनुपर्ने छ। कम्पनीले वार्षिक रुपमा एक अर्ब रुपैयाँको कारोबार गरेको हुनुपर्ने पनि उक्त टेन्डरमा उल्लेख गरिएको छ।

५०० शय्याको बनाइने
हाल ३५० शय्याको यस अस्पताललाई ५ सय शय्याकोमा रूपान्तर गर्ने गरी अस्पतालका संरचना निर्माण गर्न लागिएको सिनियर इन्जिनियर रामले बताए। 

संघीय सरकारले पनि कोशी अस्पताललाई ५ सय बेडको अस्पतालका रूपमा विकास गर्ने योजनामा राखेको छ। सोहीअनुसार अहिले त्यसका लागि आवश्यक पूर्वाधार विकास अघि बढाएको हो। निर्माणका लागि बोलपत्र आह्वान गरिएको १० तले भवन त्यसैको हिस्सा भएको रामले जानकारी दिए।

अस्पताल स्तरोन्नतीको समग्र गुरुयोजना भने बहुवर्षीय ठेक्काका रुपमा अघि बढाएर सम्पन्न गर्ने योजना छ। 

यसअन्तर्गत अस्पतालका पुराना संरचना हटाएर नयाँ र अत्याधुनिक पूर्वाधार निर्माण गरिनेछ। सोपछि अस्पतालको स्वरूपमै कायापलट गर्ने अस्पतालको गुरुयोजना रहेको बताइएको छ।

यस्तो हुनेछ नयाँ मेडिकल भवन
इन्जिनियर रामका अनुसार, मंगलबार बोलपत्र खुलाइएको १० तले आधुनिक भवन आरसीसी प्रविधिमा निर्माण गरिनेछ। जसको मुख्य भवनमा दुईवटा बेसमेन्ट, ग्राउन्ड फ्लोर र ७ तला स्वास्थ्य सेवाका लागि हुने गरी भवन निर्माण गरिनेछ। र्‍याम्प ब्लक र मर्क्युरी ब्लकको पनि निर्माण हुने बताइएको छ।

यसमा प्रतिघन्टा १० हजार लिटर क्षमताको वाटर ट्रिटमेन्ट प्लान्ट पनि रहनेछ। यसका लागि निर्माण कम्पनीले डिजाइन, सप्लाई, डेलिभरी तथा इन्स्टलमेन्टका कामहरु गर्नुपर्नेछ। साथै यसमा पानीको फिल्टरदेखि सबै कुराहरु गुणस्तरयुक्त बनाउनुपर्ने छ।

यसमा पहुँचमार्गको लागि सडक पनि निर्माण गरिने पनि उनले बताए। उक्त सडक कालोपत्रे सहित फुटपाथ र ड्रेन पनि निर्माण गरिनेछ। ग्राउन्ड फ्लोरको क्षेत्रफल ३ हजार ५३० स्क्वायर मिटर रहने छ।

सबैभन्दा तल्लो बेसमेन्टमा पार्किङको व्यवस्था हुनेछ भने भवनको वरिपरि हरियालीयुक्त बगैंचा निर्माण हुनेछ। मुख्य भवनबाहेक अरु साना भवनहरु पनि यस योजनाअन्तर्गत निर्माण हुनेछन्। साथै, ढल निकासका लागि छुटै ड्रेन बनाइनेछ। भवनभित्र चिल्ड्रेन वार्ड, ओपीडी वार्ड, संक्रमण रोग वार्ड, प्रसूति गृह लगायतका वार्डहरु हुने बताइएको छ।

यस्तो छ गुरुयोजनाको नक्शाः